कृषि र किसान

व्यावसायिक तरकारी खेतीबाट आत्मनिर्भर बन्दै बर्दियाका थारु महिला

बाँके। रोजगारी नभएको भन्दै पछिल्लो समय थुप्रै युवा विदेश पलायन भइरहेका छन् तर बर्दियाका थारु समुदायका महिलाले घरमै रोजगारीको सिर्जना गरेका छन् । बर्दियाको बढैयाताल गाउँपालिका–६ भदैयाका थारु महिला घरमै व्यावसायिकरूपमा तरकारी उत्पादन गरी आत्मनिर्भरको बाटोमा छन् । तरकारी बेचेरै परिवारको खर्च धान्ने थारु महिलाले मासिक रू. ३५ हजारसम्म कमाउने गरेका छन् ।

उनीहरू नेपालगञ्जको धम्बोझीमा ल्याएर आफूले उत्पादन गरेको तरकारी बेच्ने गर्छन् । एकदिनको अन्तरमा उनीहरु बर्दियाबाट नेपालगञ्ज तरकारी बेच्न आउँछन् । धम्बोझी चोकमा विक्री नभएको तरकारी नेपालगञ्जका घरघरमा पुर्‍याएर बेच्छन् । चाररपाँच वर्षदेखि व्यावसायिकरूपमा तरकारी खेती गर्न थालेका थारु महिला मौसमअनुसारको तरकारी नेपालगञ्ज, खजुरा, कोहलपुरलगायतका बजारमा पुगेर बेच्ने गर्छन् ।

एक दशकसम्म कमैया बसेकी भदैयाकी मनरानी थारु कमैया मुक्त घोषित भएपछि सरकार दिएको जग्गामा व्यावसायिकरूपले विगत पाँच वर्षदेखि तरकारी खेती गरिहेकी छन् । आठ कठ्ठा जग्गामा तरकारी खेती गरेर नै उनले पाँच जनाको परिवार पालिरहेकी छन् । मासिक रू. ३५ हजारसम्म कमाउने गरेको बताउँदै उनले भनिन्, ‘पहिले सामान्य खर्च टार्न पनि ऋण लिनुपर्थ्यो । अहिले परिस्थिति फेरिएको छ । छोराछोरीलाई पढाउने, घरखर्च चलाउने काम आफ्नै परिश्रमबाट पूरा भएको छ ।’ उनले तरकारी बेचेरै गाउँमै चार कठ्ठा जग्गा पनि किनिसकेको बताए । आजभोलि उनको बारीमा धनियाँ, काउली, बन्दा, आलुलगायतका सागपात फलेका छन् ।

उनी आफ्नो बारीमा फलेका तरकारी र भएको कमाइबाट पूरा सन्तुष्ट रहेको बताउछिन् । गत वर्ष फागुनमा मात्र ६० क्विन्टल आलु उत्पादन गरेकी उनले जानकारी दिइन् । ठूलो आलु विक्रीका लागि नेपालगञ्ज, खजुरा र कोहलपुर पठाउने गरेको र सानो आलु घरघरमा पुगेर विक्री गर्ने गरेको उनको भनाइ छ । आफ्ना उत्पादन विक्री गर्न गाउँबाट समूह बनाएर निस्किने गरेको उनले बताइन् ।

थारु समुदायको लोकप्रिय ‘थारु आलु’ अहिले पछिल्लो समय कम पाइन थालेको छ । थारु आलु कम र सानो फल्ने भएकाले लोप हुँदै गएको उनको भनाइ छ । ‘कमैया बस्दा धेरै दुःख भोग्नुपर्‍यो, आजभोलि आफ्नै बारीमा काम गर्न थालेपछि धेरै खुशी छु’, उनले भनिन् । तरकारी बेचेर एक जनाले दैनिक रू। एक हजार ५०० सम्म कमाउने गरेका छन् ।

स्थानीयले उत्पादन गरेको तरकारी जैविक हुने भएकाले सबैले मन पराउने गरेको थारु महिला बताउँछन् । विषादीरहित तरकारी उत्पादन गर्ने गरेकाले आफ्नो तरकारी सहजै विक्री हुने गरेको उनीहरुको भनाइ छ । भदैयाकै रामपति थारुले पाँच कठ्ठामा तरकारी खेती गरेकी छन् । गत वर्ष मात्रै उनले ३० क्विन्टल आलु उत्पादन गरेको बताइन् । गाउँमा भन्दा घरघरमा पुगेर तरकारी विक्री गर्दा दोब्बर नाफा हुने गरेको रामपतिले बताइन् ।

उनले पनि तरकारी खेती गरेरै चार जनाको परिवार पालेकी छ । काम गर्न थालेपछि आर्थिक संकट टर्दै गएको र जीवन चलाउन सहज भएको उनले बताइन् । तरकारी खेती गर्न थालेपछि घरखर्च सहजरूपमा चल्नुका साथै छोराछोरीलाई पढाउन सहज भएको उनको भनाइ छ । बढैयाताल गाउँपालिका–६ का करीब ३० जना महिला समूहमा आबद्ध भएर तरकारी खेती गरिरहेका छन् ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button