
गोविन ल्वागुन
झापा / एक सातादेखि बढेको शीतलहरका कारण झापासहित तराईको जनजीवन प्रभावित बनेको छ ।
केही दिनदेखि लागेको बाक्लो हुस्सु अनि कुहिरो नहटेको र चिसो हावा चलिरहेका कारण जनजीवन प्रभावित भएको हो । चिसोबाट घर बाहिर काम गर्ने मजदुरहरु बढी समस्यामा परेका छन् । पर्याप्त रुपमा न्यानो कपडाको क्रयशक्ति नभएका कारण उनीहरु समस्यामा परेका हुन् । दमक ३ का अर्जुन मुखिया बिहान सबेरै दैनिक मजदुरीका लागि बजारमा घर निर्माण गर्ने काममा निस्किने गरेको बताउँछन् । वर्षौदेखि दमकका विभिन्न स्थानमा घर निर्माणको काम गर्दै आएका उनले दमकमा धेरै घर बनाएको सुनाए । तर, यो पुस÷माघको जाडो ढाक्न पर्याप्त न्यानो कपडाको जोहो गर्न नसकिएको उनी बताउँछन् । आफ्ना बाल बच्चा पढाउन र घर खर्च चलाउन जाडो, घाम र पानीको पर्वाह नगरी काम गर्नुको विकल्प नभएको मुखिया बताउँछन् ।
मुखिया त एक प्रतिनिधि पात्र मात्रै हुन् । यो पुसको कठ्याँग्रिदो चिसोमा मजदुरी गरेर घरको चुलामा आगो बाल्ने नागरिकको संख्या ठूलो छ । देशले राजनीतिक रुपमा फड्को मारे पनि मजदुरका समस्या भने ज्यूँका त्यूँ रहेका मजदुरहरु गुनासो गर्छन् । झापासहित तराईका अधिकाँश जिल्लामा शितलहरको असर बढी पर्दै आएको छ । जाडोका कारण सर्वसाधारण घरबाट निस्कन नसक्ने अवस्था आए पनि दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने श्रमिकहरु भने चिसोको सामना गर्दै दैनिकी काममा व्यस्त छन् ।
सफारी चालक मिलन तामाङको पनि ब्यथा कम छैन । उनीहरु जस्ता अधिकाँश मजदुरहरुको समस्या दर्दनाक छ । चिसोमा सबैभन्दा धेरै बालबालिका, ज्येष्ठ नागरिक, घर तथा भवन निर्माण कार्यमा संलग्न श्रमिक, ठेलागाडा चालक अटो चालक, सिटी सफारी चालक, रिक्सा चालक, मोचीलगायत प्रभावित छन् । जाडोका कारण आर्थिक रुपमा विपन्न वर्गहरु निकै समस्यामा पर्ने गरेका छन् । जाडो छल्नका लागि सक्नेहरुले हिटरलगायतका उपकरणको प्रयोग गर्ने, न्यानो कपडा लगाउँदै खानपानमा ध्यान दिने गर्दछन् । तर, विपन्न तथा श्रमिकहरु भने सधैं चिसोका कारण समस्यामा पर्दै आएका छन् ।janasamsad



