कला

भाग्यमानी सौगात !

फिल्मीखबर, काठमाडौं
अभिनेता सौगात मल्ल अहिलेका डिमान्डेड अभिनेतामध्ये एक हुन् । लगातार फिल्म असफल भइरहे पनि उनलाई फिल्ममा लिन निर्माताबीच केही वर्ष अगाडिसम्म जस्तो हानाथाप हुन्थ्यो त्यो अहिले पनि कायमै छ । संख्यात्मक अभिनयमा जोड दिँदा छोटो समयमै लोभलाग्दो क्रेज गुमाएका सालिन स्वभावका यी हिरो पछिल्लो पटक फिल्म ‘माछा माछा’ मा देखिएका थिए ।

तर, यो फिल्म चलेन । योभन्दा अगाडि गएको कात्तिकमा उनी अभिनीत फिल्म ‘पोइ पर्‍यो काले’ प्रदर्शनमा आएको थियो । तिहारको विदामा प्रदर्शनमा आएका कारण यसले ठूलो घाटा त बेहोरेन तर निर्मातालाई नाफा पनि दिलाएन । एकैखाले भूमिकामा रुमलिरहेका सौगातको आजभोली अभिनयको पनि चर्चा हुन छाडेको छ । उनले अभिनयमा विविधता पस्कन सकेका छैनन् ।

फिल्म नचले पनि सौगातलाई भने कुनै सुर्ता छैन । किनकि, फिल्मको असफलताले उनको डिमान्डमा रत्ति ह्रास आएको छैन । ‘माछा माछा’ रिलिज अगाडि फिल्म ‘लप्पन छप्पन २’ को छायांकन सकेका उनी चाँडै ‘निभर्य’ निर्देशक मधुसुदन भट्टराईको फिल्म ‘सँगसँगै’ गर्दैछन् । यसमा उनको जोडी अभिनेत्री सृष्टि श्रेष्ठसँग बाँधिएको छ । सौगात र सृष्टि गएको २ वर्षदेखि प्रेममा छन् ।

‘सँगसँगै’ पछि उनी गोपीकृष्ण मुभिजले निर्माण गर्न लागेको फिल्म ‘माइकल अधिकारी’ मा व्यस्त हुनेछन् । सेरोगेसीको मुद्धामा निर्माण हुन लागेको यो फिल्ममा पनि उनले प्रेमिका सृष्टिसँगै रोमान्स गर्दैछन् । उनीहरु प्रेम सम्बन्धमा रहेदेखि एकअर्कासँग फिल्ममा काम गर्दै आएका छन् । अहिले सौगातले आफूलाई अफर हुने फिल्ममा सृष्टिलाई सिफारिस गर्ने गरेको चर्चा छ ।

सौगातको खातामा २ वर्षयता कुनै हिट फिल्म छैन । उनको पछिल्लो हिट फिल्म ‘जय भोले’ हो । तर, यो फिल्म राम्रो चले पनि क्रेडिट भने अर्का अभिनेता खगेन्द्र लामिछानेको पोल्टामा गयो । त्यसयता उनले जति फिल्ममा काम गरे सबैले निर्माता डुबाए । तर, फिल्म असफलताको श्रृंखलामा पूर्णविराम नलागे पनि सौगातको डिमान्ड भने घटेको छैन । यसअर्थमा भाग्यमानी हुन् सौगात !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button