
बाहुनडाँगी / शुभलक्ष्मी कृषक समूहले अर्गानिक आलु उत्पादन गर्ने उद्देश्यले व्यावसायिक खेती सुरु गरेको छ ।
मेचीनगर–१ स्थित ओझा गाउँमा १ बिघा माटो लिजमा लिएर लालगुलाब जातको आलु रोप्न सुरु गरिएको समूहका अध्यक्ष रामप्रसाद ओझाले बताए ।
उनका अनुसार समूहले स्थानीय नरेन्द्र भट्टराईको जग्गा वार्षिक २५ हजार रुपैयाँ बुझाउने शर्तमा ५ वर्षका लागि लिजमा लिएर खेती गर्न थालेको हो ।
‘गएको कात्तिकमा समूह स्थापना गर्यौं, मेचीनगर कृषि विकास शाखामा दर्ता गरिसक्यौंं’ समूहकी कोषाध्यक्ष पार्वता न्यौपानेले भनिन्–‘यो हाम्रो पहिलो प्रयास हो ।’
‘संस्था दर्ता प्रक्रियाका लागि समूहमा आबद्ध २१ जनाले प्रतिव्यक्ति ५ सय रुपैयाँ संकलन गर्र्यौं’ समूहका सचिव राजन न्यौपाने भन्छन्–‘खेती सुरु गर्न २१ जनाले नै प्रव्यिक्ति ५ हजार रुपैयाँ संकलन गर्यौं ।’
खेती गर्न बिर्तामोडबाट डेढ कुइन्टल आलुको बीउ खरिद गरी ल्याइएको बताउँदै समूहका उपाध्यक्ष हरिबहादुर तामाङले आउँदो वर्ष एक बिघा जमीन थप गर्ने योजना रहेको सुनाए ।
पूर्णतया अर्गानिक आलु उत्पादन गर्ने सोच राखेर खेती सुरु गरेको समूहले बालीमा मलका रुपमा बाख्राको जुत्तो, कुखुराको सुली, गाईभैंसीको गोबर, कम्पोस्ट मल प्रयोग गर्ने बताएको छ ।
‘प्राङ्गारिक मलमा जोड दिएका छौं, रासायनिक मल हाल्दैनौं’ समूहकी कोषाध्यक्ष न्यौपाने भन्छिन्–‘औषधिको रुपमा गहुँत र निमपत्ति प्रयोग गछौं ।’
आलु खेती गर्न समूहलाई साना किसान कृषि सहकारी संस्था बाहुनडाँगीले अनुदान बापत ३ वटा स्प्रे ट्यांकी र १० बोरा चुना उपलब्ध गराएको छ । त्यसअघि बिर्तामोडस्थित कृषि एग्रिकल्चरले समूहले आलु खेती थालिएको माटोको नमूना परीक्षण समेत गरेको थियो ।
खेतीका लागि खनजोत, गोठे मल, जुत्तो, सुली, श्रमदान, बीउलगायत विभिन्न शीर्षकमा हालसम्म ५० हजार रुपैयाँ बढी रकम खर्च भएको समूहका अध्यक्ष ओझा बताउँछन् ।
‘यो खेतमा पहिले धान, मकै मात्र हुन्थ्यो, आलु खेती गर्न पनि यो माटो उपयुक्त छ’ अध्यक्ष ओझा भन्छन्–‘अब आलुसँगै प्याज, बन्दा कोबी, काँक्रा, सिँबी, भिन्डी, करेला पनि रोप्ने योजना छ ।’
११ सदस्यीय समूहमा ५ जना महिला र ६ जना पुरुष रहेका जानकारी दिँदै उनले समूहका विपन्न वर्गका सदस्यलाई स्वरोजगार बनाउन पनि खेती गर्ने योजना बनाइएको बताए ।
सिद्धिखोला जल उपभोक्ता समितिका अध्यक्ष नीलकण्ठ तिवारीले एक कार्यक्रमकाबीच आलु खेतीको विधिवत् उद्घाटन गरेका थिए ।
सो कार्यक्रममा अगुवा कृषक समेत रहेका प्रमुख अतिथि तिवारी, मेचीनगर वडा नम्बर १ का अध्यक्ष पासाङ तामाङ, मेचीनगर मूल कृषक समूहका अध्यक्ष पूर्णबहादुर खड्कालगायतले समूहलाई शुभकामना दिए ।janasamsadonline



