कृषि र किसान

किसान र व्यापारी छुट्याउन नसक्दा धान खरिदमा समस्या

वीरगञ्ज। खाद्य तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले किसान र व्यापारीबीच फरक छुट्याउन नसक्दा धान खरिदमा समस्या भएको जनाएको छ ।सङ्घीय सरकारले किसानको मात्र धान खरिद गर्न कार्यालयलाई निर्देशन दिएको बताइएको छ । किसानको भेषमा व्यापारी धान बेच्न आउने गरेकाले समस्या देखिएको कार्यालयका प्रमुख नरनाथ अधिकारीले जानकारी दिनुभयो ।

किसानबाट धान खरिद गर्दा बजार भाउभन्दा करिब १० प्रतिशत बढी समर्थन मूल्यनिर्धाण गरिएको थियो । यसले गर्दा कार्यालयमा धान बेच्न किसानको भेषमा व्यापारी आउँदा जटिलता देखिएको हो ।
प्रतिक्विन्टल ३७३ रुपैयाँ १६ पैसा बढी मूल्यमा कार्यालयले धमाधम धान खरिद गरिरहेको छ । अहिले कार्यालयमा धान बेच्न आउने किसानको लर्को लागेको छ । किसानको भेषमा व्यापारीले बढी आर्थिक लाभ लिन खोज्दा वास्तविक किसान मार्कामा पर्न थालेका छन् ।

किसानले बेच्न ल्याउने धान सुकेको तथा व्यापारीको धान चिसो र मिसावट समेत हुने कार्यालयले जनाएको छ । “ किसान र व्यापारी छुट्याउन नसक्दा केही समस्या परेको छ । सतर्कता अपनाएर खरिद गछौै । ” उहाँले भन्नुभयो । कार्यालयले बढीमा १८ प्रतिशतसम्म चिसोपन भएको धान मात्र खरिद गर्ने गरेको छ ।

सरकारले सोना मन्सुलीको प्रतिक्विन्टल दुई हजार ६७३ रुपैयाँ १६ पैसा र जिरामसिनो धानको प्रतिक्विन्टल तीन हजार २० रुपैयाँमा खरिद मूल्य तोकेको छ । सोना मन्सुली १५ हजार तथा जीरा मसिनो धान पाँच हजार गरी २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य कार्यालयले राखेको छ । हालसम्म तीन करोड ३५ लाख ८१ हजार ११८ रुपैयाँ मूल्य बराबरको सोनामन्सुली धान १२ हजार ५६२ क्विन्टल ३३ केजी तथा ९७ हजार २४४ रुपैयाँ मूल्य बराबरको जीरामसिनो धान ३२ क्विन्टल २० केजी खरिद गरिसकेको वरिष्ठ सहायक मुनिलाल कुशवाहाले जानकारी दिनुभयो ।

धानका खरिद मूल्य बृद्धि भएपछि बारा तथा पर्साका किसान धान बेच्न कार्यालयमा आउने गरेको छन् । पर्सा हरिहरपुर विर्ताका किसान सञ्जयप्रसाद कुर्मी कार्यालयले ठाउँठाउँमा धान जोख्न ठाउँ ठाउँमा काटा राख्नुपर्ने माग गर्नुुहुन्छ ।
कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच वटा गोदाम रहेको छ । अहिले अघिल्लो वर्षको सोनामन्सुली, जिरा र जापानी चामल गरी एक हजार १०० क्विन्टल सोनामन्सुली चामल मौज्दात रहेको जनाइएको छ ।
कार्यालयले धान खरिद गरी उत्पादन गर्ने चामल आवश्यकताअनुसार गोरखा, काठमाडौँ, पोखरा, धनगढी, नेपालगञ्ज, सुर्खेत, भैरहवा, डिपोमा पठाउनुका साथै मकवानपुर, पर्सा र रौतहटमा रहेको कारागारमा पठाउने गरेको छ । पर्सा जिल्लाको ४५ हजार हेक्टर क्षेत्रफलमा किसानले धानखेती गरेको थिए ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button