जेएनयु घटनाको गोजमुमोद्वारा तीव्र भर्त्सना
दार्जिलिङ : जवाहरलाल नेहरू विश्वविद्यालय (जेएनयु) दिल्लीमा हिजो शिक्षक अनि विद्यार्थीहरूमाथि भएको हिंसात्मक घटनाको गोजमुमो अध्यक्ष विनय तामाङले घोर प्रतिवाद जनाएका छन्। तिनले आज एउटा प्रेस विज्ञप्ति जारी गरेर जेएनयु जस्तो विशिष्ट शैक्षिक संस्थानमा यस प्रकारको राजनैतिक स्वार्थ प्रेरित एवम् अगणतान्त्रिक क्रियाकलापहरू हुनु अति नै दुर्भाग्यजनक हो भनी बताएका छन्। यसको साथै तिनले उक्त घटनामा संलग्न आरोपीहरूलाई चाँडै पक्राउ गरेर कठोर कार्वाही गर्नुपर्ने माग पनि गरेका छन्। जेएनयु-मा हाल अध्यनरत सम्पूर्ण गोर्खा विद्यार्थीहरूका अभिभावकहरूले असुरक्षित अनुभव गरिरहेकोले तिनीहरूको सुरक्षा व्यवस्था गरिदिने तिनले अपील गरेका छन्।

बाँसको पुलको भरमा यातायात गर्न बाध्य गाउँलेहरू
राजगञ्ज : राजगञ्जको मान्तादारी ग्राम पञ्चायत अन्तर्गत पर्ने सिमुलगुढी इलाकामा स्थानीय मानिसहरूले दीर्घदिनदेखि नीम नदीमा पुल निर्माण गरिदिने माग गर्दै आइरहेका छन्। स्थानीय मानिसहरूले नदीमा बाँसको पुल बनाएर नदी वारिपारि गर्ने गर्दछन्। तर वर्षाको समयमा नदीमा पानी स्रोत अधिक हुनाले उक्त बाँसको पुल नदीमा भासिने गरेकोले निक्कै समस्या हुने गाउँलेहरूको भनाइ रहेको छ। सिमुलगुढी इलाकाका मानिसहरूलगायत नदी पारिको भोटपाड़ा, चाकियाभिटा, छाट मोलानीगछ र पाखीभाङ्गा गाउँका धेरैजसो मानिसहरू उक्त पुल भएर सिलगढीलगायत अन्य ठाउँमा काम गर्न जाने गर्छन्। यहाँ पक्का पुल नभएको कारण मानिसहरूलाई निक्कै असुविधा भइरहेकोले गर्दा तिनीहरूले पुल निर्माण गरिदिने माग गर्दै आइरहेका छन्। चुनाउको समयमा नेताहरूले पुल निर्माण गरिदिने आश्वासन दिए तापनि हालसम्म पुल निर्माण नगरिदिएको स्थानीय मानिसहरूले गुनासो पोखेका छन्। स्थानीय सांसद, परिषद्, विधायक एवम् ग्राम पञ्चायतलाई यसबारे अवगत गराए तापनि हालसम्म कुनै पहल नगरेको गाउँलेहरू बताउँछन्।

कर्ण प्रधान गोरामुमो सौरेनी पानीघट्टा समष्टी अध्यक्ष चयन
सिलगढ़ी: तराईको च्याँगा बस्तीमा सम्पन्न गोरामुमो सौरेनी-पानीघट्टा समष्टीको सभामा सर्वसम्मतिद्वारा तराई गोरामुमो पार्टीका बरिष्ठ नेता कर्ण प्रधानलाई पार्टीको समष्टी अध्यक्ष चयन गरेको छ। स्मरण रहोस् गत 30 नोभेम्बर 2019 को दिन नवराज छेत्रीलाई गोरामुमो पार्टी र पदबाट निष्कासित गरेपछि उक्त रिक्त पदमा कर्ण प्रधानलाई नियुक्त गरिएको गोरामुमो पार्टी सूत्रले जनाएको छ। उक्त सांगठनिक सभामा गोरामुमो केन्द्रीय नेता सचित गहतराज, जेबी लिम्बु, थेबा तामाङ, मिरिक शाखाका सदस्यहरु प्रदिप छेत्री, कर्ण प्रधान, जीवन ताँती, ज्ञानबहादुर दाहाल,दिपेन लोहार लगायत समष्टी सदस्यहरु र तराईको बाह्रैवटा शाखाका प्रतिनिधीहरु उपस्थित थिए।siliguritimes/india



