स्वास्थ्य

विकृत मनस्थिति भएका व्यक्तिले २० करोड घुस मागेको आरोप लगाए– उपाध्यक्ष गिरी

काठमाडौं– झापाको बीएण्डसी मेडिकल कलेजका सञ्चालक दूर्गा प्रसाईंले आफूसँग २० करोड घुस माग गरेको भन्दै लगाएको आरोपप्रति चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष श्रीकृष्ण गिरीले आपत्ति जनाएका छन् ।

गिरीले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रसाईंले आफूमाथि मिथ्या, कपोलकल्पित, भ्रामक र निन्दनीय आरोप लगाएको बताए ।

प्रसाईंले बुधबार दिउँसो पत्रकार सम्मेलन गर्दै आफ्नो मेडिकल कलेजलाई सम्बन्ध दिने प्रयोजनका लागि चिकित्सा शिक्षा अयोगका उपाध्यक्ष गिरीले २० करोड घुस मागेको आरोप लगाएका थिए ।

मेडिकल कलेजलाई सम्बन्धन दिनका लागि आयोगमा निवेदन दिएको र त्यसपछि उपाध्यक्ष गिरीले मंसिर १५ गते द्वारिकाज होटलमा भेट्न बोलाएर २० करोड घुस मागेको प्रसाईंको आरोप थियो ।

आफूले २० करोड रुपैयाँ घुस दिन नसक्ने जनाएपछि गिरीले आफ्नो सम्धीका नाममा २० प्रतिशत शेयर पास गर्नु भन्ने प्रस्ताव राखेको पनि प्रसाईंले आरोप लगाएका थिए ।

प्रसाईंले पत्रकार सम्मेलन गरेर घुस माग गरेको आरोप लगाएपछि गिरीले पनि बुधबार नै पत्रकार सम्मेलन आयोजना गरेर आफूमाथि आरोप प्रमाणित गर्न चुनौती दिए ।

‘चिकित्सा शिक्षा क्षेत्रमा भएका विकृति सुधारको आँट गरेर आयोगमा आएको हुँ,’ गिरीले भने, ‘विकृत मनस्थिति भएका व्यक्तिले चिकित्सा शिक्षा सुधारको अभियानमा अवरोध सिर्जना गर्न खोजेर नानाथरी आरोप लगाइरहेका छन् । मैले यो पदमा आउँदासम्म पनि कसैलाई १ रुपैयाँ खुवाएको छैन ।’खबरहब

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button