सृजनाको चौतारी

काँकरभिट्टाको कथा बोकेको छ दश गजाले


जी एन शर्मा
थाहा छैन ती मान्छेहरुले हेरेकी हेरेनन् नाटक दश गजा तर हेराउन पर्ने थियो उनीहरुलाई पनि जसको कथाले भरिएको थियो नाटक । नाटक हेरेपछि कुरो नचपाई भन्दा वर्तमानमा काँकरभिट्टाको यथार्थ सामाजिक चित्रणको एउटा पाटोलाई दश गजाले प्रकट गरेको पाईयो ।काँकरभिट्टाको वर्तमानको समाजको एक पक्षलाई सजिलै गरि बुझ्न सकिन्थ्यो दश गजामा ।
मुख्य गरि सुपारी, मकै ,छोकडा लगायतका वस्तुको वारिपारीको ओसार पोसार र त्यसमा संलग्नहरुको कथालाई टिपेको कथामा भारु नेरुको कथा पनि थोरै भएपनि जोडिन्छ । तर, यहाँका गरीबहरुको दैनिकी र भोको पेटको बाध्यता अनि परिवार भित्रको अन्तरकथालाई पनि नाटकले सपाट मिलाएर पस्केको छ । नाटकका लेखक भाई पर्वत पोर्तेलको निमन्त्रणामा जब नाटक हेर्ने गएँ । र, नाटक शुरु भयो त्यहाँ नाटक जस्तो नभएर शहरमा बसेका गरीबहरुको जिवन्त दैनिकी जस्तो लाग्यो । नाटक दश गजाले आफ्नो कथामा काँकरभिट्टाको वर्तमान परिवेश र त्यहाँ भित्र बाँचेका मान्छेहरुका बेदना र पीडालाई पोखेको भए पनि समाजमा रहेका बिसंगती उपर समेत गतिलो प्रहार गरेको पाईन्छ । मूल तस्कर र कमिसनमा बिकेको प्रशासन अनि भन्सार प्रतिको ब्यङ्ग्यलाई लरतरो मान्न सकिदैन ।

स्करीका मूल ठेकदार, छुट दिने प्रहरी प्रशासन र भन्सार स्वयम्मा पवित्र बन्ने र त्यसको स्वाङ्ग पार्ने तर पेटका लागि भारी बोकेर बाँचेका मजदुरहरुलाई तस्करी गर्ने वा वारिपारी गर्ने भनेर कथित सभ्य समाजको नजरले बक्रदृष्टि लाउने ठालु परिपाटीलाई नाटकले लाजमर्ने गरि झटारो कसेको छ ।
नेपाल भारत सिमानामा हुने सामाजिक यथार्थताको सजिव चित्रण गर्न नाटक सफल भएको मान्नु पर्छ ।कथा काँकरभिट्टाको सामाजिक परवेशको जस्तो भए पनि नाटकको सम्पूर्ण कथ्य विषयलाई नियाल्ने हो भने यो एकप्रकारको श्रब्यदृश्य यहाँको समाचार पनि हो भन्न सकिन्छ । नाटकका माध्यामबाट प्रस्ट पार्न खोजीएको एउटा फिचर स्टोरी पनि दश गजा हो भन्ने मलाई लाग्छ । नाटकका लेखक पत्रकार भएपनि होला उनले जिवन्त विषयलाई नाटकको कथा वस्तु बनाएका होलान् । दश गजाले नाटक हेर्ने दर्शकलाई मनोरञ्जन होइन एउटा सूचना सहितको सन्देश दिएको छ भने सरकारलाई यहाँको वास्तविकता देखाईदिएको छ । यसका अलवा शहरमा भोको पेटको खातिर भासिएका मान्छेहरुको दैनिकी र अहिले सबैतिर फैलिएको किस्ताको प्रसङ्गलाई समेत लेखक र कलाकारले रोचक तर दुखान्त शैलीमा जस्ताको तस्तै पस्कन सफल भएकाछन् । मुख्य गरेर नाटक दश गजामा आजका दिनमा पनि गरीब नेपालीको जिवनमा कुनै तन्त्रको हावाले छोएको छैन र तस्करी , तस्कर र सरोकारवाला निकाय बीचको आत्मिय नाता अझ कसिलो बनेको सन्देश दिएको छ । मैले प्रारभ्मानै भनेको थिएँ कि जस जसले यो नाटक हेर्नु अनिवार्य थियो उनीहरुले थाहा नपाएका भएपनि थाहा दिएर बोलाउनु पथ्र्यो । काँकरभिट्टाकै परिवेशमा कुरा गर्ने हो भने यहाँ सब ठिकठाक छ भन्ने प्रहरी प्रशासन र भन्सारका कर्मचारीहरुलाई बिशेष निमन्त्रणा गरेको भए अझ नाटकको सार्थकता दर्शकदिर्घाका हिसाबले बढ्न सक्थ्यो । अनि सरकारका उपल्लो तहका मान्छेहरुलाई बोलाएर नाटक देखाउन सकेको भए समृद्ध नेपाली र सुखी नेपालीका विषयमा थप केही शिर्षक हुन्थ्यो कि ? समग्रमा नाटकलाई राम्रो मान्न सकिन्ँछ किनकी यसले कुनै कल्पनाको तरेलीमा उडेको सपनाको कुरा नगरेर नेपाली जनले भोगेको जिवनको कथालाई जस्ताको तस्तै देखाएको छ । सबै कलाकारहरुलाई धन्यबाद भन्नै पर्छ जसले आफुले जानेको सृजनालाई उजिल्याउन कसर बाँकी राखेका थिएनन .

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button