स्वास्थ्य

घातक बन्दैछ एन्टिबायोटिकको जथाभावी प्रयोग, जिम्मेवार को?

अनिल श्रेष्ठ

चिकित्सकको सिफारिसविना नै एन्टिबायोटिक औषाधि सेवन गर्नेको संख्या बढ्दै गएको छ। चिकित्सकले सिफारिस नगरी एन्टिबायोटिक प्रयोग गर्न नपाइने कानुनी व्यवस्था छ। तर, नेपालमा एन्टिबायोटिकको जथाभावी रुपमा बिक्री र प्रयोग हुँदै आएको विज्ञहरु बताउँछन्। विज्ञहरुका अनुसार एन्टिबायोटिकको गलत प्रयोगले जनस्वास्थ्यमा असर पारिरहेको छ।

विश्व स्वास्थ्य संगठनका अनुसार जिवाणु प्रतिरोधी संक्रमणको कारण विश्वभर हरेक वर्ष करिब सात लाख मानिसको मृत्यु हुने गरेको छ। यही अवस्था रहिरहेमा सन् २०५० सम्ममा वर्षेनी एक करोड मानिसको मृत्यु हुने र करिब ६६ अर्ब पाउण्ड आर्थिक क्षति हुने चेतावनी संगठनको छ।

यो जोखिममबाट बच्नका लागि सन् २०१५ मा विश्व स्वास्थ्य संगठनले प्रतिजैविक प्रतिरोधी न्यूनीकरण गर्न विश्वव्यापी कार्ययोजना अपनाएको छ। यो योजनामा सन् २०१६ मा संयुक्त राष्ट्रसंघले प्रतिबद्धता जनाएको छ।

के हो एन्टिबायोटिक?
ग्रिक भाषामा एन्टी भनेको विपरीत र बायोस् भनेको जीवन हो। अर्को शब्दमा भन्ने हो भने एन्टिबायोटिक भनेको जीवनासक वस्तु हो र यसले जिवाणुलाई नास गरेर मानिसलाई रोगबाट छुटकारा दिलाउँछ।

जिवाणु नास गर्ने एन्टिबायोटिकलाई ब्याक्टेरियो साइडल र फैलिन नदिनेलाई ब्याक्टेरियो स्टाटिक भनिन्छ। सन् १९२८ मा एलेक्जेन्डर फ्लेमिङले फंगसबाट पेनिसिलिन नामक पहिलो एन्टिबायोटिक निकालेका हुन्।

मानव शरीरमा एन्टिबायोटिक पुग्ने माध्यम
मानव शरीरमा दुई तरिकाले एन्टिबायोटिक प्रवेश गरिरहेको छ।
१. प्रत्यक्ष: एन्टिबायोटिक सेवनबाट।
२. अप्रत्यक्ष: बालीनाली वा पशुपक्षीको उपचार तथा वृद्धिका लागि दिइने एन्टिबायोटिक जुन खाना, पशुपक्षीसँगको सम्पर्क वा वातावरण (हावा, पानी, माटो) बाट।

के हो एन्टिबायोटिक रेसिस्टेन्स?
पछिल्लो समय ब्याक्टेरियाविरुद्ध लड्ने एन्टिबायोटिकको क्षमतामा ह्रास आइरहेको छ। यस्तो अवस्थालाई मेडिकल भाषामा एन्टिबायोटिक रेसिस्टेन्स भनिन्छ।

जथाभावी प्रयोगका कारण यस्तो अवस्था आएको हो। एन्टिबायोटिक रेसिस्टेन्स विश्वभरि चुनौतीको विषय बनेको छ। नेपालजस्तो विकासोन्मुख देशमा चुनौती अझै भयावह छ।

एन्टिबायोटिक रेसिस्टेन्सका कारण
विश्व स्वास्थ्य सङ्गठनका अनुसार एन्टिबायोटिक रेसिस्टेन्सका कारणहरु निम्न छन्:
– चिकित्सक तथा स्वास्थ्यकर्मीले आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रिस्क्राइव गर्नु।
– बिरामीले उपचार बीचैमा छाड्नु।
– पशुपक्षीमा आवश्यकताभन्दा बढी एन्टिबायोटिक प्रयोग गर्नु।
– अस्पताल तथा स्वास्थ्य केन्द्रमा सङ्क्रमण नियन्त्रण प्रणाली कमजोर हुनु।
– सरसफाइ तथा स्वच्छताको अभाव हुनु।
– नया एन्टिबायोटिक उत्पादन नहुनु।

एन्टिबायोटिक रेसिस्टेन्सको लागि जिम्मेवार को?
साधारणतया एन्टिबायोटिक रेसिस्टेन्स हुनुमा स्वास्थ्यकर्मीलाई आरोप लगाइन्छ। तर यसमा स्वास्थ्यकर्मी मात्र नभई उपभोक्ता, कृषक तथा पशुपालक, नीति-निर्माता सबै जिम्मेवार छन्।

एन्टिबायोटिक रेसिस्टेन्स रोकथामका उपाय
एन्टिबायोटिकको जथाभावी प्रयोग तथा कमजोर सङ्क्रमण रोकथामको कारण एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको विश्व स्वास्थ्य सङ्गठनको ठम्याइ छ। यसलाई रोक्नका लागि समाजका सबै क्षेत्रको जिम्मेवारी महत्वपूर्ण रहेको छ।

उपभोक्ताको जिम्मेवारी
– आधिकारिक स्वास्थ्यकर्मीको प्रेस्क्रिप्सनमा मात्र एन्टिबायोटिकको प्रयोग गर्ने।
– स्वास्थ्यकर्मीसाग अनावश्यक एन्टिबायोटिक माग नगर्ने।
– स्वास्थ्यकर्मीको सुझाव अनुसारमात्र एन्टिबायोटिक प्रयोग गर्ने।
– आफूसँग बचेको एन्टिबायोटिक अरुसँग सेयर नगर्ने।
– नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, अनावश्यक रुपमा बिरामीको सम्पर्कमा नजाने, सुरक्षित यौन सम्पर्क गर्ने र खोप नियमित लगाउने।

नीति-निर्माताको जिम्मेवारी
– एन्टिबायोटिक प्रतिरोधी गर्न सक्ने राष्ट्रिय कार्ययोजना छ भन्ने निश्चित गर्ने।
– निगरानी तथा इन्फेक्सन निगरानीलाई सशक्त बनाउने।
– सङ्क्रमण रोकथाम नीति तथा कार्यक्रमलाई सशक्त बनाउने।
– औषधिको उचित प्रयोगलाई प्रवर्धन तथा अनुगमन गर्ने।
– एन्टिबायोटिक रेसिस्टेन्सको प्रभावबारे सूचित गर्ने।

स्वास्थ्यकर्मीको जिम्मेवारी
– सावधानीपूर्वक हात, उपकरण तथा वातावरण सफा राख्ने।
– आवश्यक बिरामीलाई मात्र गाइडलाइन अनुसार एन्टिबायोटिक प्रिस्क्राइव तथा वितरण गर्ने।
– बिरामीलाई एन्टिबायोटिक दिनुपर्छ भन्ने लागेमा परीक्षण गरेर कुन एन्टिबायोटिक दिने हो निश्चित गर्ने।
– बिरामीलाई एन्टिबायोटिक सही तरिकाले प्रयोग गर्न सिकाउने तथा एन्टिबायोटिक रेसिस्टेन्सको बारेमा बताउने।
– जिवाणु प्रतिरोधी संक्रमणको बारेमा निगरानी टिमलाई जानकारी गराउने।
– बिरामीलाई सङ्क्रमण रोकथामको लागि बताउने (नियमित हात धुने, स्वस्थ खानेकुरा खाने, सुरक्षित यौन सम्पर्क गर्ने, खोप नियमित लगाउने र खोक्दा नाक-मुख छोप्ने)

हेल्थकेयर इन्डस्ट्रीको जिम्मेवारी
– रिसर्च तथा नया एन्टिबायोटिक, खोप तथा निदान उपकरण विकास गर्ने।

कृषि क्षेत्रको जिम्मेवारी
– बालिनाली तथा पशुपक्षीलाई हानिकारक रोगबाट बचाउन मात्र भेटेनरी चिकित्सकको निगरानीमा एन्टिबायोटिक प्रयोग गर्ने।
– स्वस्थ पशुपक्षीलाई विकासको लागि एन्टिबायोटिक नदिने।
– पशुपक्षीलाई एन्टिबायोटिकको आवश्यकता कम गर्न नियमित खोप लगाउने।
– स्वच्छता, जैविक तथा सुरक्षामूलक तरिकाले पशुपालन गर्ने।

एन्टिबायोटिकको जथाभावी प्रयोग स्वास्थ्यका लागि कसरी घातक बन्छ?
जथाभावी एन्टिबायोटिकको प्रयोगले दिन प्रतिदिन एन्टिबायोटिक रेसिस्टेन्स बढिरहेको छ। यसरी नै एन्टिबायोटिक रेसिस्टेन्स बढ्दै जाने हो भने हामीसँग छिट्टै सङ्क्रमणमा चलाउनको लागि एन्टिबायोटिक हुँदैन।

त्यसपछि सामान्य किसिमका रोगहरुमा पनि एन्टिबायोटिकले काम गर्दैन र उपचार गर्न निकै गाह्रो हुन्छ र एन्टिबायोटिक प्रभावहीन हुन्छ जसले गर्दा सामान्य सङ्क्रमणको लागि पनी बिरामी धेरै लामो समय अस्पताल बस्नुपर्ने र ठूलो रकम खर्चिनुपर्ने हुन्छ। त्यति गर्दा पनि ठिक बनाउन निकै कठिनाइ हुन्छ र अकालमा बिरामीले ज्यानसमेत गुमाउनुपर्ने अवस्था आउन सक्छ।

एन्टिबायोटिकको अनावश्यक तथा जथाभावी प्रयोग बढ्नुको कारण के हो?
एन्टिबायोटिक औषधि विज्ञानको वरदान हो। एन्टिबायोटिक अनावश्यक तथा जथाभावी प्रयोग गर्दा यसको प्रभावकारिता कम हुँदै गएको छ। पछिल्लो समय विश्वमै यसको जथाभावी प्रयोग बढिरहेको छ भने नेपालमा त झन् अवस्था भयावह छ।
– एन्टिबायोटिकको सहजै उपलब्धता।
– स्वास्थ्यकर्मीले आर्थिक प्रलोभनमा परेर आवश्यकता भन्दा बढी औषधि सिफारिस गर्नु।
– एन्टिबायोटिक उपचार निर्देशिका नहुनु।
– एन्टिबायोटिकको प्रयोगबारे सरकारी निकायबाट अध्ययन अनुसन्धान नहुनु।
– नेपालमा एन्टिबायोटिकले निम्त्याएको समस्या कुन रुपमा बढिरहेको छ भन्ने तथ्याङक नहुनु।
– नियमनकारी निकायहरु निष्क्रिय हुनु।

एन्टिबायोटिकको दुरुपयोग रोक्न के गर्नुपर्छ?
पछिल्लो समय विश्व तथा नेपालमा यसको दुरुपयोग बढिरहेको छ। यसको दुरुपयोग रोक्न निम्न कुराहरुमा ध्यान दिनुपर्छ।
– स्वास्थ्यकर्मीले बिरामीलाई एन्टिबायोटिक दिनुपर्ने हो-होइन परीक्षण गर्नुपर्छ। परीक्षणपश्चात् आवश्यक भए मात्र चलाउनुपर्छ।
– स्वास्थ्यकर्मीले बिरामीलाई अनावश्यक एन्टिबायोटिक चलाउँदा हुने नकारात्मक असरको बारेमा ध्यान दिनुपर्छ।
– बिरामीले एन्टिबायोटिक खाँदैमा रोग निको भइहाल्छ भन्ने मानसिकता हटाउनुपर्छ।
– चिकित्सक तथा आधिकारिक स्वास्थ्यकर्मीको सिफारिसबिनै एन्टिबायोटिक चलाउने चलन हटाउनुपर्छ।
– रोग अनुसारको एन्टिबायोटिक उपचार निर्देशिका बनाउनुपर्छ।
– भेटेनरी क्षेत्रमा चेतना फैलाउनुपर्छ र अनावश्यक एन्टिबायोटिक प्रयोगलाई निरुत्साहित गर्नुपर्छ।
– औषधि व्यवस्था विभागले औषधि पसल र औषधि उद्योगहरुमा निगरानी बढाउनुपर्छ साथै उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्नुपर्छ।

(हेल्थ असिस्टेन्ट, सशस्त्र प्रहरी बल, नेपाल)swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button