मूल खबर

लिङ्चोममा लिम्बुहरूको नयाँ वर्ष अर्थात् कोफेक्वा तङ्नाम पालन

लिङ्चोममा लिम्बुहरूको नयाँ वर्ष अर्थात् कोफेक्वा तङ्नाम पालन

गान्तोक : लिम्बु सम्प्रदायका मानिसहरूले माघे सङ्क्रान्तिलाई नयाँ वर्ष अर्थात् कोफेक्वा तङ्नामको रूपमा मनाउने चलन रहिआएको छ। पश्चिम जिल्लाको याङ्थाङ समष्टि अन्तर्गत लिङ्चोम उच्चतर माध्यमिक विद्यालयको खेल मैदानमा यस कार्यक्रमलाई राज्य स्तरीय रूपमा पालन गर्ने उद्देश्य लिएर दुई दिवसीय कार्यक्रमको आयोजना गरियो। सिक्किम राज्यका मुख्यमन्त्री पीएस गोलेले उक्त कार्यक्रमको विधिवत् उद्घाटन गरे। विगत चार वर्ष अघिदेखि लिङचोममा यस कार्यक्रमको आयोजना गर्दै आइरहेको बताइएको छ।

दुई दिवसीय कोक्फेक्वा तङ्नामको अवसरमा मुख्यमन्त्री गोलेले माङ्हिमा पुजा अर्चना गरेपछि यहाँ लगाइएको विभिन्न स्टलको अवलोकन गरे। लिम्बू साहित्य, संस्कृति, पहिचान र रीतिरिवाज, रहन-सहन, खानपीन आदिलाई जोगाइ राख्ने उद्देश्य लिएर उक्त कार्यक्रमको आयोजना गरिएको आयोजक समितिका कार्यन्वयक अध्यक्ष एसपी लिम्बुले बताए। यस अवसरमा मुख्यमन्त्री गोलेलगायत लोकसभा सांसद इन्द्र हाङ सुब्बा, मन्त्री लोकनाथ नेपाल, मन्त्री भीमहाङ सुब्बा, मन्त्री एमएन शेर्पा, प्रभारी पुर्णहाङ सुब्बा एवम् लिम्बु समुदायका मानिसहरूको धेरै संख्यामा उपस्थिति रहेको थियो।

भाजयुमो-ले गर्‍यो तृणमूल कांग्रेसविरुद्ध साइबर क्राइम थानामा अभियोग दर्ता

सिलगढी : तृणमूल युवा कांग्रेसविरुद्ध भाजपाको प्रदेश अध्यक्ष दिलीप घोषको तस्वीर सोशल मीडियामा अपलोड गरेर भुल प्रचार गरेको आरोप लगाउँदै भाजयुमोको तर्फबाट साइबर क्राइम थानामा एउटा अभियोग दर्ता गरेको छ। गत 12 जनवरीको दिन स्वामी विवेकानन्दको जन्मदिनको उपलक्ष्यमा दार्जिलिङ जिल्ला तृणमूल युवा कांग्रेसको तर्फबाट एउटा बाइक र्‍यालीको आयोजना गरिएको थियो। तृणमूल कांग्रेस कार्यकर्ताहरू एवम् समर्थकहरूले तृणमूल युवा कांग्रेसका राज्य अध्यक्ष अभिषेक ब्यानर्जीको तस्वीर लगाएर बाइक र्‍याली निकालेको थियो। उक्त तस्वीर सोशल मीडियामा भाइरल भएपछि तृणमूल कांग्रेस कार्यकर्ताहरूले अभिषेक ब्यानर्जीको तस्वीरको बद्ली भाजपाका प्रदेश अध्यक्ष दिलीप घोषको तस्वीर लगाएर सोशल मीडियामा अपलोड गरेको आरोप रहेको छ। तृणमूल कांग्रेसद्वारा गरिएको उक्त भुल प्रचारको विरोधमा भारतीय जनता युवा मोर्चाको तर्फबाट आज तृणमूल युवा कांग्रेसविरुद्ध साइबर क्राइम थानामा अभियोग दर्ता गरेको छ।

तृणमूल कांग्रेसको एउटा फेसबुक पेजमा भाजपाका प्रदेश अध्यक्ष तथा सांसद दिलीप घोषको तस्वीर अपलोड गरेर भुल प्रचार गरिरहेको भाजयुमोका अध्यक्ष कञ्चन देवनाथले आरोप लगाएका छन्। भाजयुमोले यस मामिलाको जाँच गरिनुपर्ने माग गरेको छ। अर्कोतिर, दार्जिलिङ जिल्ला तृणमूल कांग्रेस अध्यक्ष रञ्जन सरकारले बाइक र्‍यालीमा अभिषेक ब्यानर्जीको तस्वीर प्रयोग गरेको आरोपलाई झुटो बताउँदै त्यस दिन एकजना टोटो चालकले धेर उत्साहित भएर उक्त काम गरेको दावी गरे। उक्त टोटो चालक तथा तृणमूल कांग्रेसका युवा कार्यकर्ताहरूलाई यस प्रकारको भुल नदोहोर्‍याउने निर्देश दिएको तिनले बताए। दिलीप घोषको तस्वीर सोशल मीडियामा अपलोड गरेको सम्बन्धमा रञ्जन सरकारले आफूहरूसँग न यति समय छ न त यस्तो मानसिकता नै भनी बताए।

भ्रष्टाचारको आरोप लगाउँदै व्यवसायीहरूद्वारा बजार बन्द

सिलगढी : मेडिकल कलेज संलग्न पुरातन सूर्यसेन मार्केटका व्यवसायीहरूले पूर्व सचिव खगेन दासविरुद्ध भ्रष्टाचारको आरोप लगाएर मार्केट कम्प्लेक्स बन्द गरेर विरोध प्रदर्शनी गरे। प्राप्त जानकारीअनुसार पुरातन सूर्यसेन मार्केट लगभग पाँच वर्ष अघि बनाइएको साथै यहाँ लगभग 69 वटा स्टलहरू रहेको छ। गत पाँच वर्षदेखि मार्केट कम्प्लेक्सको सबै हिसाबमा गडबडी रहेको व्यवसायीहरूको आरोप रहेको छ। पूर्व सचिवले यस सम्बन्धमा केही भन्न नचाहेको साथै तिनले कार्यालयको चाबी पनि नदिएकोले गर्दा नै व्यवसायीहरूले आज मार्केट कम्प्लेक्स बन्द राखेर विरोध प्रदर्शनी गरेको बताइएको छ। यसको साथै पूर्व सचिव खगेन दासविरुद्ध अभियोग दर्ता गरिएको छ।siliguritimes/india

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button