खबर

‘मोबाइल सुविधा’ ले बढायो बालविवाह

मोतीराम तिमल्सिना, महाभारत, काभ्रे।

काभ्रे जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिकाको गोकुले माध्यमिक विद्यालयमा २०७६ वैशाखमा ६ सय ३३ विद्यार्थी भर्ना भए। अघिल्लो वर्ष भर्नाको संख्या त्यसकै हाराहारीमा थियो। तर, नियमित विद्यालय आउने विद्यार्थीको संख्या ४ सय नाघ्न सकेन।

कक्षा ६ अध्ययन गर्दागर्दै विवाह गर्ने क्रम बढेपछि विद्यार्थी स्वात्तै घटेको शिक्षक तथा अभिभावकहरूले जानकारी गराएका छन्। ‘विद्यार्थीले मोबाइल फोन प्रयोग गर्न थालेपछि प्रेमका सन्देश आदान–प्रदान हुने र अभिभावकलाई थाहै नदिई विवाह गर्ने क्रम बढेको छ।’ –प्रधानाध्यापक पदमप्रसाद तिमल्सिनाको निष्कर्ष छ।

२०७६ मंसिर ११ गते विद्यालयमा हाजिर भएकी गोकुले माध्यमिक विद्यालय महाभारत गाउँपालिका–१ घर भई कक्षा १० मा अध्ययन गरिरहेकी १५ वर्षीया चेलीमाया मोबाइल फोनमा कुरा गरेकै आधारमा विवाह गरेर रौतहट पुगिन्।

केही दिन विद्यालय नआएपछि शिक्षकले अभिभावकसँग सोधखोज गरेपछि मात्रै चेलीमाया मोबाइल फोनमा भइरहने सम्पर्क र फेसबुकमा हुने कुराकानीकै भरमा केटासँग भागेकी रहिछन्। उनले रोजेको केटा कुन उमेरको हो ? के व्यवसाय गर्छन् ?

विवाहपछि परिवार चलाउने योजना कस्तो छ ? कुनै जानकारी छैन। जानकारीबिना हराउने बालिकाको संख्या बढेका कारण अभिभावक र शिक्षक चिन्तित छन्।

‘अघिल्लो शैक्षिक वर्षमा विद्यालयमा अध्ययन गरिरहेका झन्डै १० जना बालिका विवाह गरेर गए’, प्रधानाध्यापक तिमल्सिनाले भन्नुभयो– ‘चालू शैक्षिक सत्रको ७ महिना अर्थात् कात्तिकसम्म ८ जना बालिका भागिसकेका छन्।’

उमेर नपुगी विवाह गर्न नहुने कानुनी प्रावधानका बारेमा सचेतना कक्षा नै सञ्चालन गरिएको तर पनि बालिकालाई रोक्न नसकिएको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो। विद्यालयमा भर्ना भएका ६ सय ६३ मध्ये १ सय ५० जति विद्यार्थी ७ महिनामै पलायन भइसकेका छन्।

पलायन भएका विद्यार्थीको अवस्था बुझ्न अभिभावकको घर–घरमा शिक्षक टोली पुग्ने क्रममा अभिभावकले मोबाइल फोनले सिर्जना गरेका विभिन्न समस्या सुनाउने गरेको प्रधानाध्यापक तिमल्सिनाले बताउनुभयो।

‘प्रदेश सरकार बालविवाह उन्मूलन गर्ने अभियान बोकेर हिँडेको छ, तर प्रभावकारी कार्यक्रम केही छैन’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो– ‘स्थानीय सरकार, विद्यालय र अभिभावकको चाहनाले मात्रै बालबालिका जोगाउन कठिन भयो।’

प्रदेश सरकारका सामाजिक विकासमन्त्री युवराज दुलालले सरकारले लिएको लक्ष्य पूरा गर्न अभियान शुरू गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

धुलिखेलमा मंगलबार आयोजित प्रदेशसभा सदस्यहरूको भेलालाई सामाजिक विकास मन्त्रालयका कार्यक्रमका बारेमा जानकारी गराउने क्रममा मन्त्री दुलालले बालविवाह अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो।

महाभारत क्षेत्रमा विद्यार्थीले मात्रै होइन २० वर्ष नपुगी विवाह गर्ने शिक्षक पनि छन्। २० वर्षको उमेरमा ८ महिनाको सन्तान बोकेर एक शिक्षिका विद्यालय जाने गरेकी छन्। जनकल्याण आधारभूत विद्यालय बनखु–७ मा कार्यरत शिक्षिका दिलमाया भर्खर २० वर्ष पुग्नुभयो।

२० वर्ष नपुग्दै विवाह गरेर बच्चा जन्माउनु सोही क्षेत्रमा समान्य विषय बन्ने गरेको छ। सानैमा विवाह गर्ने तथा अध्ययन छाड्नेहरूले उमेर बढाएर नागरिकता लिने र राहदानी बनाएर विदेश जाने गरेको इलाका प्रशासन कार्यालय बनखुका अधिकृत राममणि काफ्लेले बताउनुभयो।

‘केहि दिनअघि मात्रै आएर यहाँको परिस्थिति बुझ्दा कम उमेरलाई कागजी रूपमा बढाएर नागरिकता लिने र विदेश जाने गरेको पाएँ,’ उहाँले भन्नुभयो– ‘यसलाई रोक्न अभिभावक सचेत हुनुपर्यो भने जनप्रतिनिधि र सरोकारवाला निकायहरू सबैले जनचेतना बढाउनुपर्यो।

विद्यालय छाड्ने र रोजगारीका लागि जाने अधिकांशको उमेर पुगेको छैन। विदेश जान नमिले शहरी क्षेत्रमा श्रमका लागि आउने गरेको काफ्लेको अनुभव छ। नागरिकता लिन आउने व्यक्तिहरूको उमेर नै नपुग्ने तर कागज मिलेपछि रोक्न नसक्ने उहाँले बताउनुभयो।

कक्षा ७ देखि १० सम्म अध्ययन गर्ने बालिकाहरूले विवाह गर्ने क्रम रोकिएको छैन। बरु हरेक वर्ष मोबाइलको उपलब्धताले थपिएको छ। अघिल्लो शैक्षिक सत्रमा कक्षा ७ अध्ययन गरिरहेकी १३ वर्षीया आश्मा श्रेष्ठले अध्ययन छाडेर विवाह गरिन्।

सोही वर्ष कक्षा ८ मा अध्ययन गर्ने १४ वर्षकी सञ्चमाया योञ्जन, कक्षा १० मा अध्ययन गर्ने १४ की चमेलिमाया मोक्तानको विवाह भयो। उनीहरू लगायत झन्डै दर्जन बालिकाले त्यही उमेरको हाराहारीमा विवाह गरी १४ वर्षमै आमा बनेका छन्।

चालू शैक्षिक सत्रमा कक्षा ९ मा अध्ययन गर्ने १४ की सुकमाया योञ्जन, कक्षा १० मा अध्ययन गर्ने १५ की सम्झना योञ्जनलगायत ८ जनाले विवाह गरेका छन्।

शिक्षक दिलबहादुर जिम्बाका अनुसार कति बालिकाहरूले विवाह गरेकै कारण विद्यालय नआएका हुन् कि अरू कारणले भन्ने विस्तृत अध्ययन हुन भने बाँकी छ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button