कृषि र किसान

मौरीलाई चरन क्षेत्र अभाव

म्याग्दी । पैयूँका रुख नासिने र गाउँघरतिर तोरीखेती गर्ने चलन हराउँदै गएपछि मौरीलाई चरन क्षेत्रको अभाव भएको म्याग्दीका मौरीपालक कृषकले बताएका छन्।

पुष्परसको अभावले गर्दा मह उत्पादनमा कमी आएको उनीहरुको भनाइ छ।

जिल्लाका ज्यामरुककोट, रत्नेचौर, अर्मन, बाबियाचौरलगायतका गाउँमा व्यावसायिक रुपमा मौरीपालन गरेका कृषकले विगतका वर्षको तुलनामा यस वर्ष पुष्परसमा कमी आएको र मह उत्पादन कमी भएको बताएका हुन्।

बेनी नगरपालिका–२ का मौरीपालक कृषक जीतबहादुर थापाले तोरी, वुकी, पैयूँ, दुदिलोलगायतका फूल तथा वनस्पतिमा यस वर्ष रसको मात्रा घटेको बताए।

थापाका अनुसार विगतका वर्षहरुमा यो मौसममा मौरीले अरु समयको तुलनामा बढी मह उत्पादन गर्ने गरेको बताउँदै यो वर्ष विगतको तुलनामा आधा मात्र मह उत्पादन भएको छ।

मौरी चरेर आइसकेपछि पनि पोटिला नदेखिनु र मह उत्पादनका लागि उपयुक्त मानिएको माघ, फागुन महिनामा कम मह उत्पादन हुनुको कारण पुष्परसमा कमी आउनु नै होु, थापाले भने।

कृषि ज्ञान केन्द्र म्याग्दीले गत साल अत्यधिक वर्षा र त्यसपछि सुक्खा हावा चलेका कारणले पनि पुष्परसमा स्वभाविक रुपले कमी आएकाले यस्तो समस्या उत्पन्न भएको बताएको छ। मौरीको गोलाको सङ्ख्या अत्यधिक रुपमा बढिरहेको छ।

कृषकले भने चरन क्षेत्रमा ध्यान नदिएको र बढ्दो रासायनिक मलको प्रयोगका कारण परागसेचन प्रक्रियामा प्रभाव परेकाले फलफूलजन्य वनस्पतिमा रसको मात्रा कमी आउँदा मह उत्पादन कम भएको कृषि प्राविधिकले बताए ।

कृषि ज्ञान केन्द्र म्याग्दीले मौरीपालक कृषकले मौरीको गोलासँगै चरन क्षेत्रको विस्तारमा ध्यान दिन कृषकलाई सल्लाह दिँदै घार वरिपरि बाँझो जग्गा नराख्न र विशेष गरी पुष्पजन्य बोटबिरुवा लगाउन अनुरोध गरेको छ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button