मूल खबर

भ्रमण वर्षमा पनि बराहक्षेत्र ओझेलमा

 संगम बिष्ट

चतरा / सरकार द्धारा घोषित नेपाल भ्रमण २०२० का कार्यक्रमहरु धमाधम शुरु गरिएको छ । २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेर तामझामका साथ अर्बौ रुपयाको बजेट खर्च गर्दै तिनै तहका सरकार बाट भैरहेका कार्यक्रम, प्रचार प्रसारमा प्रदेश १ मा स्थित संसारमै प्रसिद्ध धार्मिक पर्यटनको पहिलो गन्तव्य बराहक्षेत्र धाम लाई भने ओझेलमा पारिएकाृे सरोकारवालाहरुले बताएका छन् ।

तिनै तहको सरकारले घुम्न लायक स्थानहरुको प्रचार प्रशार र भौतिक पूर्वाधार निर्माणको कामलाई तिब्रता दिई रहेको छ भनिन्छ । तर प्रदेश १ स्थित पहिलो नम्बरको धार्मिक गन्तव्य रहेको वराहक्षेत्र धाममा अहिले सम्म नेपाल भ्रमण वर्ष अहिले सम्म आइनपुगेका उनिहरुले बताएका हुन्।

स्थानिय व्यवसायी नविन भण्डारीका अनुसार बराहक्षेत्र धामको नाम सबैति होलान तर यत्रो भ्रमण वर्षको तामझाम गर्दा बराहक्षेत्र प्रवेश गर्ने नाकाहरुमा सामान्य जानकारी दिने सूचना वोर्डहरु राखिएका छैनन् । यो मौकामा नेपाल आउने भारतीय पर्यटकहरु विरानगर, धरान सम्म आइपुग्दा बराहक्षेत्र नपुगी फर्कन्नन् । नयाँ आउने आगन्तुकहरुका लागि धरान, इटहरी, विराटनगर कतै पनि पायक पर्ने ठाउँमा पर्यटक सूचना केन्द्र सम्म खुलेको देखीन्न । उनले भने ‘अखबार, टेलिभीजन, सामाजिक सञ्जालमा तामझामा सुनिन्छ, हेरिन्छ तर जहाँ पर्यटक आउनु पर्ने त्यहाँ सुनसान छ ।’ वराहक्षेत्र धाम नेपालकै प्रख्यात तीर्थस्थल हो । यसै धामबाट वराहक्षेत्र नगरपालिका स्थानिय सरकार बनेको छ । तर सरकारले वराहक्षेत्र लाई बास्ता नगरेको वराहक्षेत्र संरक्षण मञ्चले जनाएको छ ।

संरक्षण मञ्च वराहक्षेत्रको बिकारश र प्रवर्धनका लागि गठन भएको सरोकारवाला स्वयंसेवी संस्था हो । समितिका सचिब राजु घिमिरेले भने ‘मञ्च लाई अहिले सम्म भ्रमण वर्षमा बराहक्षेत्रमा गरिनु पर्ने कार्यका बारे कुनै सोधपुछ सम्म भएको छैन् ।’ उनका अनुसार सरकारले वराहक्षेत्रलाइ भम्रण बर्षमा महत्व दिएर योजना नबनाए पनि मञ्चले आफ्नै साधन श्रोतबाट सामान्य कामहरु भने गरेको छ । मञ्चका अध्यक्ष भक्त श्रेष्ठका अनुसार भ्रमण वर्षका बेला यहाँ आउने धार्मिक पर्यटकहरुको सहजतका लागि वराहक्षेत्र पुग्ने सडकको स्तरबृद्धि जरुरी छ । उनले भने ‘तर गाउँ घरमा सडक पिच बनिरहेका छन् तर यताको सोधपुछ छैन् ।’

उनका अनुसार हाल नव निर्मित चतरा–वराहक्षेत्र कालोपत्रे सडक पहिरोका कारण ठाउँ ठाउमा बिग्रिएको छ । पर्यटक लाई सुबिधाका लागि सुबिधा जनक होटलको समस्या छ । यस्को विकल्पमा चतरा तथा बराहक्षेत्र स्थित धर्मशालाहरु लाई सशुल्क वासस्थानको रुप दिइन सकिन्छ । ती ठाउँहरुको स्तरवृद्धि, खानेपानी, विजुली, सरसफाई, आवश्यक सामागी सहित व्यवस्थित गरिएका छैनन् । फगत धर्मशाला जस्तो रहेका छन् । यस्ता कुराहरुमा तिने तहका सरकारले कुनै योजना, बजेट दिएको छैन् । व्यवसायी भण्डारीका अनुसार वराहक्षेत्रमा दर्शन मात्र नभई यहाँका प्राकृतिक स्थालको अवलोकनका लागि लाग्ने समय व्यतित गर्न भौतिक पुर्वाधारको बिकासमा सरकारी क्षेत्र बाटै चासो राखिनु पर्दछ ।

धार्मिक ग्रन्थ वराहपुराण र स्कन्दपुर, महाभारत महाकाव्यमा गरिएका वर्णन अनुसार वराहक्षेत्र धाम संसारको पहिलो तिर्थ हो । जब पृथ्बी रसातलमा डुब्न लाग्दा भगवान वराहले ढुब्न लागेको पृथ्बीलाइ रक्षा गरि सम्पुर्ण प्राणीहरुको जीवन रक्षा गरि पृथ्वीको संरक्षण गरेकाले आज प्रथ्वीको स्थायित्वमा छ । पृथ्वी रक्षा गर्न बिष्णुको तेस्रो अवतार भगवान वराह वराहक्षेत्रमा विराजमान हुन भएकाले वराहक्षेत्रलाई संसारको पहिलो धाम भन्ने गरिन्छ ।

बराहक्षेत्र संसारको सबैभन्दा पुरानो देवस्थल हो । वराहक्षेत्रमा वराह अवतार विष्णुको पूजा गरिन्छ । युवा पण्डित योगेश भण्डारी भन्छन ‘बराहक्षेत्रको प्रचार र प्रबन्ध गर्न सके सरकारले लक्ष्य राखेको संख्या धार्मिक पर्यटको रुपमा बराहक्षेत्र एक्लेले आकर्षित गर्न सक्छ ।’ सरकारले वराहक्षेत्रको धाम र यसको महिमा गाथा मात्रै संसारका हिन्दु माझ पुरा¥याउन सके वराहक्षेत्रमा मात्र हैन देश भरका शक्तिपिठहरुमा पर्यटनको आगमन बढ्ने बताए । उनले भने तर सरकारले वराहक्षेत्रको प्रचार गरेको देखिन्न वराहक्षेत्र ओझेल्मा पर्दा संसारको उत्पतीको तथ्य नै गुपचुप हुने हो कि भन्ने चिन्ता छ ।’

वराहक्षेत्र धरानदेखि २५ किलोमिटर उत्तर पश्चिममा छ । वराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप विक्रम सम्बत् १९९१ सालमा बनेको हो । १९९० सालको भूकम्पबाट मन्दिर भत्किए पछि १९९१ सालमा अन्तिम पटक जुद्ध शमशेरले पुनर्निर्माण गराएका हुन् । वराहक्षेत्रमा लक्ष्मी, पाञ्चायन, गुरुवराह, सूर्यवराह, कोकावराह र नागेश्वर लगायतका नौँ वटा मन्दिर र थुप्रै धर्मशाला छन् ।

मन्दिर परिसरमा १५ सय वर्ष पुराना मूर्तिहरू छन् । त्यसैले पनि वराहक्षेत्र प्राचीन र पौराणिक स्थल भएको पुष्टि गर्दछ । वराहक्षेत्र भएर बग्ने सप्तकोशी नदीमा जल पर्यटनको सम्भावना पनि उत्तिकै छ । वराहक्षेत्र वरपरका छाँगा, धारा, पर्वत, वन जंगल तथा त्यहाबाट देखिने रमणीय दृश्यहरूले समेत पर्यटकहरुले स्वर्गक आनन्दको अनुभूति लिन सक्छन् ।

वराहक्षेत्र जाने बाटोमा चतरा देखि माथिलो जंगल क्षेत्रमा पर्ने अमृत गाछी इतिहासका बिद्यार्थी अध्ययन गर्ने विषय हो । वनमा नव पाषाण कालीन ढुङ्गे वन्चरो राजेन्द्र बिक्रम पृथ्वी विक्रम राजाका पालाका पैसा, डोरी र ढुङ्गा कुदिएका आकृतिहरु भेटिएका छन । जंगलभरी इटा छापिएका ठाउँ ढुङ्गाका पर्खाल कीट र ढुङ्गाका ओखल भेटिएको हुदा कुनै समयको ठुलो बस्ती थियो भन्न सकिन्छ ।

वराहक्षेत्र धार्मिक, आध्याधिक तथा भौतिक तिनै कुराले महत्व बोकरको क्षेत्र छ । त्यस कारण पनि भ्रमण बर्षको अवशरमा सरकारले महत्व दिएर योजना ल्याउन स्थानिय देखि संघिय सरकारको ध्यान जान जरुरी देखिन्छ । सञ्चारपाटी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button