स्वास्थ्य

चस्मा लगाउन नचाहनेका लागि लेजर शल्यक्रिया

सामान्यतयाः आँखाले कुनै पनि वस्तुलाई राम्ररी देख्न वा छुट्याउन नसक्ने समस्यालाई दृष्टिदोष भनिन्छ। आँखाले देख्ने वस्तुको आकृति आँखाभित्र हुने रेटिनामा बन्ने हुन्छ। यसका लागि बाहिरबाट आउने लाइट रेटिनामा फोकस हुनुपर्छ अनि मात्र प्रष्ट देख्न सकिन्छ। तर दृष्टिदोषमा भने फोकस गर्ने प्रणालीमा केही तलमाथि हुनसक्छ। यसो हुँदा रेटिनमा चाहिनेभन्दा छिटो फोकस भएर वा ढिलो फोकस भएर कुनै पनि वस्तु प्रष्टसँग देख्न सकिँदैन।

यस्तो अवस्थामा दृष्टिलाई सही गराउन चस्मा लगाउने वा लेजर शल्यक्रिया गर्न सकिन्छ। चस्मा, लेन्स र लेजर शल्यक्रियाले रेटिनामा हुने फोकसलाई ठिक ठाउँमा ल्याउने काम गर्छ।

चस्मा र लेन्स लगाएपछि फुकाल्ने र लगाउने गर्नुपर्छ। यसो गरिरहनु पर्दा धेरैलाई झन्झट लाग्न सक्छ। तर लेजर शल्यक्रिया गरेपछि चस्मा लगाइरहनुपर्ने वा लेन्स लगाउनुपर्ने अवस्थाको अन्त्य हुन्छ।

दृष्टिदोष भएकाका लागि लेजर शल्यक्रिया अति नै उत्तम उपचार पनि हो। चस्मा लगाउन नचाहनेका लागि यो निकै राम्रो विकल्प हुनसक्छ।

दुवै आँखामा पावर फरकफरक हुने समस्यामा हसनेलाई यो शल्यक्रिया लाभदायी हुन्छ। जस्तैः एउटा आँखामा अत्यधिक पावर र अर्कोमा कम पावर छ भने लेजर शल्यक्रिया निकै लाभदायी हुन्छ।

आँखाको पावर रेन्जमा माइनस पोइन्ट ५ देखि माइनस १४ सम्म लेजर सर्जरी गर्न सकिन्छ। धेरै पातलो र मोटो चस्मा लगाउनेहरुलाई शल्यक्रिया गरेर पावर तलमाथि पार्न सकिन्छ।

लेजर शल्यक्रिया कसरी गरिन्छ ?
लेजर भनेको धेरैनै खतरनाक रे लाइट हो र यो रेले आँखामा हान्दा अलिकता तलमाथि भयो भने आँखा नै अन्धो हुन्छ भन्ने गलत बुझाइ छ। वास्तवमा त्यस्तो होइन।

लेजर भनेको फेम्टोसेकेन्ड लेजर हुन्छ। लेजरमा माइक्रोन लेबलको प्रेसिसन हुन्छ। जहाँ तोकेर हानेको हो त्यही मात्र लाग्छ। आँखाको कर्नियामा ताकेपछि त्यसले कर्नियामा बबल निस्कन्छ र कर्नियाको आकार परिर्वन गरिदिन्छ लेजरले सानो घाँउ बन्छ। त्यति मात्र हो लेजरले गर्ने शल्यक्रिया।

लेजर शल्यक्रिया सबैभन्दा सुरक्षित शल्यक्रिया हो भनेर विश्वभर नै प्रमाणित भइसकेको छ। यो शल्यक्रिया गर्दा मानिसलाई पूरै बेहोस बनाउनु पर्दैन। यो पद्धतिमा आँखामा सुख्खापन कम हुने र घाउ पनि सानो र छिटो पुरिने हुन्छ।

कस्तो आँखामा लेजर शल्यक्रिया गर्न मिल्दैन ?
सबै मानिसको आँखामा लेजर शल्यक्रिया गर्न मिल्दैन। अस्पतालमा लेजर शल्यक्रिया गर्न भनेर आएका अधिकांश बिरामी जाँच गरेर हेर्दा लेजर शल्यक्रिया गर्न नमिल्ने भएर फर्किने गर्छन्। यदि आँखामा बाक्लो मोतिविन्दु, जलविन्दु, रेटिनाको रोग, कर्नियाको कडा रोगहरु छ भने यस्तो अवस्थामा शल्यक्रिया गर्न मिल्दैन।

दृष्टिदोष भएका सबै आँखामा पनि लेजर शल्यक्रिया गर्न मिल्दैन। यदि जाँच (स्क्यान) गर्दा कर्निया ज्यादै पातलो, बढी चुच्चो, कर्निया लत्रिएको छ भने शल्यक्रिया गर्न मिल्दैन ।

मधुमेह, बाथरोग, हर्मोनल रोग भएका मान्छेमा आँखा सुख्खा हुने गर्छ। यस्तो अवस्थामा शल्यक्रिया गर्दा आँखा अझ बढी सुख्खा हुने गर्छ। कसैले कडा खालको औषधि खाएको छ, मुखमा डन्डिफोर हुने मान्छेले रेगुरल औषधि खानुपर्ने छ भने औषधिले नै आँखा सुख्खा बनाएको हुन्छ। त्यस्तो मान्छेलाई शल्यक्रिया गरिदियो भने उनीहरुको आँखा झन् सुख्खा हुने गर्छ। त्यसैले यस्तो अवस्थामा पनि शल्यक्रिया गर्न मिल्दैन। अर्को भनेको आँखाको पावर बढेको बढ्यै छ भने शल्यक्रिया गर्न मिल्दैन। यस्तो अवस्थामा पावर बढ्न रोकिएपछि शल्यक्रिया गर्न मिल्छ।

कुन उमेरमा लेजर शल्यक्रिया गर्दा उपयुक्त हुन्छ ?
१८ वर्ष मुनिका बच्चामा यदि दृष्टिदोष छ र उनीहरुको जाँच गर्दा सबै कुरा ठिक छ भने पनि शल्यक्रिया गर्न मिल्दैन। १८ वर्ष मुनिका बालबालिकामा शल्यक्रिया गर्दा विभिन्न रोग लाग्ने सम्भावना हुन्छ।

शल्यक्रियापछि समस्या दोहोरिन्छ ?
शल्यक्रिया गरिसकेपछि समस्या दोहोरिने सम्भावना ज्यादै न्यून हुन्छ। थोरै पावर भएकामा शल्यक्रिया गरेर पावर नर्मल बनाइएको छ भने शल्यक्रिया गरेको ५ वर्षपछि जाँच गर्दा पावर कम भएका १ हजारमा एक जनामा मात्र हुने गर्छ। धेरै पावर भएका मान्छेको शल्यक्रिया गरिएको छ र ५ वर्षपछि जाँच गर्दा त्यही समस्या १०० जनामा एक जनामा हुन्छ।

तिलगंगामा आँखाको लेजर शल्यक्रिया सुरु भएको ८ वर्ष भयो। अहिलेसम्म १० हजारले यो सेवा लिइसकेका छन्।

ध्यान दिनुपर्ने कुरा
शल्यक्रिया गरेको एक हप्ता निकै चनाखो हुनुपर्छ। धुलो धुँवामा हिँड्नु हुँदैन। एक हप्ता आराम गरेपछि विस्तारै आफ्नो काम गर्न सकिन्छ। सुख्खा भएकालाई औषधि हुन्छ, त्यो औषधि आँखामा हाल्नुपर्छ। शल्यक्रिया गरेको दिनमा छिनछिनमा औषधि आँखामा हाल्नुपर्छ। भोलिपल्टबाट कम गर्दै लैजानुपर्छ। शल्यक्रिया गरेको ६ महिनासम्म औषधि हाल्नुपर्छ।swsthyakhabarpatrka

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button