काठमाडौं । नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालालगायतका नेता लामो निर्वासन अन्त्य गरी स्वदेश फर्केको दिन पुस १६ गतेको दिनलाई हरेक वर्ष ‘राष्ट्रिय एकता तथा मेलमिलाप दिवस’का रुपमा मनाउँदै आएको छ ।
यसै सन्दर्भमा कांग्रेसले बुधबार (आज) ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रम गरी ४४औँ मेलमिलाप दिवस मनाउन लागेको पार्टी कार्यालयले जानकारी दिएकोछ ।
मुलुकको सार्वभौमसत्ता रक्षा गर्न जनताकै बीचमा रहनुपर्दछ भन्ने सोचका साथ नेपालका प्रथम जननिर्वा्चित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला, गणेशमान सिंह, शैलजा आचार्य र नेता खुमबहादुर खड्कालगायत मेलमिलापको नीति लिएर विसं २०३३ पुस १६ गते स्वदेश फर्किेनु भएको थियो ।
दक्षिण एशियामा देखिएको तत्कालीन राजनीतिक सङ्क्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्कनुभएका कांग्रेस नेता बिपीले मुलुकको सार्वभौम सत्ता रक्षाका लागि जनशक्ति ९राजनीतिक दल० र राजशक्ति ९राजा० मिल्नुपर्ने धारणा राख्नु भएको थियो ।
तत्कालीन अवस्थामा नेपालको सार्वभौमसत्ता नै गुम्ने खतरा देखेपछि स्वदेश फर्कनुभएका नेता बिपी कोइराला, गणेशमान सिंहलगायतलाई विमानबाट त्रिभुवन विमानस्थलमा ओर्लिनेबित्तिकै सुन्दरीजलमा लगी फेरि बन्दी बनाइएको थियो ।
तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते नेपाल तरुण दलको कार्यक्रममा सम्बोधन गर्ने क्रममा तत्कालिन प्रधानमन्त्री बिपी कोइरालालगायत कांग्रेसका नेतालाई पक्राउ गरी जेल चलान गर्नुका साथै प्रजातन्त्र अपहरण गरी एकदलीय पञ्चायती व्यवस्थाको सूत्रपात गर्नुभएको थियो ।
शाही ‘कु’पछि कांग्रेस नेतालाई करीब तीन महिना सिंहदरबारमा बन्दी बनाइ सो वर्षको फागुन २६ गते सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको निवास स्थानमा पर्खालले घेरी स्थानान्तरण गरिएको थियो ।
नेपालमा केही समय जेल जीवन बिताइसकेपछि २०२५ सालमा भारत प्रवासमा जानुभएका नेताहरू राष्ट्रियतामाथि खतरा देखिएको भन्दै आठ वर्षे प्रवास जीवन त्यागेर राष्ट्रिय एकता तथा मेलमिलाप नीति लिएर २०३३ पुस १६ गते स्वदेश फर्किनु भएको थियो ।



