मूल खबर

दम्पतीको निर्मम हत्याः जसले घर बनायो, उसैले हत्या गर्यो

मोतीराम तिमल्सिना, काभ्रे ।
जसले भुकम्प पछिको पुनर्निर्माणको घर निर्माण गरिदियो उसैले त्यहि घरका दम्पतीको हत्या गर्यो । पुराना पैसा र सुन रहेको सूचनाका आधारमा घर निर्माणको तीन महिनापछि मध्यरातमा बास मागेर हत्या गरी फरार भएको १ महिना २७ दिन पछि प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको नमोबुद्ध नगरपालिका वडा नम्वर ८ तल्लो हटिया घर भई सामान्य किराना, चिया र घरेलु मदिरा समेत विक्री गर्दै आएका ५५ बर्सिय श्यामकृष्ण श्रेष्ठ र उनकी पत्नी ५० बर्सिया रुकुमाया श्रेष्ठको २०७६ कार्तिक १९ गते मध्यरतामा भएको थियो ।

हत्यामा संलग्न उदयपुर जिल्ला चौदण्डीगडी नगरपालिका वडा नम्वर १० घर भई काठमाडौ जिल्ला काठमाडौ महानगरपालिका वडा नम्वर ७ सरस्वती नगर बस्दै आएका २३ बर्षिय सुमन राई र सोहि ठेगाना घर भई ललितपुर महानगरपालिका २५ भैसेपाटीमा बस्दै आएका २० बर्षिय किरणकुमार मगरलाई पौष १५ गते मंगलबार राति प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी अनुसन्धान ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको प्रहरी टोलीले पक्राउ गरेको हो । सिआईबीका डिएस्पी हरिबहादुर बस्नेत र जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएस्पी दिपक गिरीको नेतृत्वमा १२ जनाको अनुसन्धान टोली गठन भएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले बुधबार पत्रकार सम्मेलन गरी अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । अभियुक्तहरुको साथबाट प्रहरीले हत्या हुँदा रगत लागेका तन्ना सहितका कपडाहरु, सिक्काहरु, अन्य प्रमाणमा संलग्न सामाग्रीहरु बरामद भएका छन् । प्रहरी प्रमुख एसपी रविकुमार पौड्यालले जिल्लामा हाजिर भए लगत्तै उक्त घटनाका बारेमा अनुसन्धान गर्ने बताउनु भएको थियो । जिल्लामा रहेका अन्य घटनाका फाईलहरुको अनुसन्धान गर्ने बताउनु भयो ।

यसरी भयो घटना

भुकम्प पछि पुनर्निर्माणका लागि गाउँ आएका मजदुरहरुले जिल्लाका हरेक क्षेत्रमा कुनै न कुनै घटना घटाएर भाग्ने गरेका छन् । दाप्चा क्षेत्रमा काम गरिरहेका उदयपुरका समुन राई र किरणकुमार मगर पनि त्यहि मजदुरी गरिरहेका थिए । तीन महिनासम्म हत्या गरिएको दम्पती श्यामकृष्ण श्रेष्ठ र रुकुमाया श्रेष्ठको घर निर्माण गरिरहेका थिए । उनिहरुलाई घरको बारेमा पुर्ण विवरण थियो ।

झ्यालमा छेस्किन लगाउने वा खोल्ने बारेमा पनि ज्ञान थियो । उक्त घरमा पुराना पैसा भएको सूचना थियो । तर कति संख्यामा छ थाहा थिएन । घर निर्माण सकिए लगत्तै उनिहरु राजधानी गए । दशैको बीचमा पुनः सुमन र किरण दाप्चा पुगे । घरमा पसल पनि भएकाले उनिहरुले रुकुमाया श्रेष्ठसँग केहि रकम मागे । घर निर्माण गरेको रकम ठेकेदारले सबै लगिसकेकाले दिन बाँकी थिएन । उनिहरुले आफुहरु घर जान समेत खर्च नभएकाले केहि रकम दिन अनुरोध गरेका थिए । तर रुकुमायाले दिनु भएको थिएन ।

कार्तिक १८ गते राति सुमन र किरण काठमाडौबाट बनेपा आए । बनेपाबाट भकुण्डेको बस चढे । भकुण्डेबाट हिडेर दाप्चा तल्लो हटिया पुगे । उनिहरु श्यामकृष्णको घरमा पुग्दा रात परिसकेको थियो । रातको ९ बजे श्यामकृष्णको घरको झ्यालबाट लाईट देखाएर पसल लुट्ने योजना बनाए । केहि घण्टा अघि पसल बन्द गरी माथिल्लो तल्लामा पुगेका श्रेष्ठ दम्पती पसल भित्र मान्छे पस्न लागेको चाल पाएर तल झरे । उनिहरुले हामी टाढाबाट आएको, पहिला पनि यहि घर बनाएको चिनजान पनि भएकाले त्यो रात त्यहि बस्न दिन अनुरोध गरे ।

बास मागेर घर भित्र पसेसँगै उनिहरुले चाउचाउ र लोकल रक्सि सेवन गरे । उनिहरु त्यहि सुतेपछि श्यामकृष्ण माथी गए तर निदाएनन् । मध्यरातमा उनिहरुले श्रेष्ठ दम्पती निदाएको ठानी पसलको धनमाल चोर्न थालेपछि श्यामकृष्ण तल आए । तल आए लगत्तै सुमन र किरणले उनलाई घाँटी समाएर अठ्याउन खोजे । श्यामकृष्णले पनि एकजनालाई घाँटी समाए । लगत्तै अर्काेले नजिकै रहेको खुर्पाले घाँटी छप्काए । माथीबाट श्रीमती रुकुमाया तल आउँदा विभत्स दृश्य देखिन् । कराउन लाग्दै थिईन उनलाई विएरको सिसी र ब्लेडले छियाछिया पारी निर्मम तरिकाले हत्या गरे ।

उनले कानमा लगाएको मुन्द्रा लुटे । पसलमा भएको केहि नगद लुटे । हत्या लगत्तै उनिहरु दुबै जना माथिल्लो तल्ला पुगेर सन्दुकमा राखेको केहि थान पैसा लुटे । तन्ना निकालेर रगत लागेको कपडा पोको पारे । झ्यालबाटै निस्किएर भागे । त्यहाँबाट निस्किएर उनिहरु प्रेमलाल श्रेष्ठको खाली घरको भुई तल्लामा आगो बालेर रात विताए । त्यहाँ उनिहरुले लुटेर ल्याएको सामानहरु हेर्दा पुराना पैसा फेला पारेनन् । १ सय १२ थानमा २ थान मात्रै पुराना पैसा फेला पारेपछि उक्त पोको त्यहि घरमा लुकाएर राखे । रगत लागेको कपडा सहितको तन्नाको पोको त्यहि घर नजिकै जंगलमा फ्याँके । उनिहरुले बोकेर आएको ब्याग पनि अन्यत्र फाले । र गाउँगाउँ निस्किए ।

राति ८ बजेसम्म स्थानीयसँग कुरा गरी सुतेको श्रेष्ठ दम्पती विहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । दम्पतीको घरमा गाँजाको थुप्रो र घरेलु उत्पादनबाट तयार गरिएको रक्सि समेत प्रहरीले बरामद गरेको थियो । हरेक दिन गाँजा र रक्सि खाने ब्यक्तिहरु दम्पतीको पसलमा पुग्ने गरेका थिए । घटनाको स्थलगत मुचुल्काका आधारमा प्रहरीले तयार गरेको प्रतिवेदनमा गाँजा, रक्सि सेवन पछि दम्पतीको हत्या भएको हुन सक्ने आंशका गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका तत्कालिन प्रहरी प्रमुख एसपी जयराज सापकोटाको टोलीघटनास्थल पुगी प्रहरी केन्द्रिय कार्यालयबाट तालिमप्राप्त कुकुर समेत मगाएर अनुसन्धान गरेको थियो । १ महिना २७ दिनसम्म घटनामा संलग्नको पहिचान हुन सकेको थिएन । तर प्रहरीले केहिलाई आंशकाका भरमा नियन्त्रणमा लिई अनुसन्धान गरेको थियो ।
घटना भएकै दिन स्थानीयले सुमनलाई फोन गरेका थिए । सुमनले आत्तिएर काम भए दाप्चा आउने नत्र किन आउनु भन्दै फोन राखेका थिए । त्यहि फोनका आधारमा प्रहरीले गरेको अनुसन्धानले हत्यामा संलग्न अभियुक्तसम्म प्रहरी पुग्न सकेको श्रोतले बतायो । अनुसन्धानकै क्रममा एसपी जयराज सापकोटाको सरुवा भए सँगै अनुसन्धान प्रभावित भएको थियो ।

एसपी रविकुमार पौड्याल जिल्ला आए लगत्तै उक्त घटनाका बारेमा भएको अनुसन्धान निश्कर्षमा पुगेको हो । प्रहरीले बुधबार नै पक्राउ परेका सुमन र किरणलाई कर्तब्य ज्यान तथा डाँका चोरीमा मुद्दा दर्ता गरी अदालतबाट ७ दिनको म्याद लिएको छ । उनिहरु हत्या पछि काठमाडौमा मजदुरी गर्दै आएका थिए ।

श्रेष्ठ दम्पतीका एक छोरा र एक छोरी छन् । श्रेष्ठ दम्पती मात्रै गाउँमा बस्दै आएका थिए । छोरा र बुहारी तिहारका लागि घरमा आएको केहि दिन अघि मात्रै काठमाडौ फर्किएका थिए । उक्त क्षेत्रमा नीजि आवास, विद्यालयको पुर्ननिर्माण र सडक निर्माण कार्य भईरहेको छ । उक्त कार्यका लागि ठेकेदारहरुले विभिन्न क्षेत्रबाट काम गर्ने कामदारहरु ल्याएका छन् ।

‘घटनास्थलमा श्रेष्ठ दम्पतीको निर्ममतापुर्वक हत्या गरिएको भेटिएको थियो । ‘घरको भित्ताभरी रगतको छिटा, श्रीमानको घाँटी रेटिएको र श्रीमतीको टाउकोमा प्रहार गरी हातका औला समेत काटिएको रहेछ ’–डिएस्पी दिपक गिरीले भन्नु भयो । घटनास्थल वरपर सुर्तिको धुलो, विएरका सिसीका फुटको टुक्राहरु लगायतका सामाग्री फेला परेका थिए । हत्या पश्चात सिरकले छोपेर हत्याराहरु फरार भएका थिए । रक्सि पिएर राखिएका दुईवटा गिलास र अन्य सामानहरु पनि प्रहरीले बरामद गरेको थियो । श्रीमती रुकुमाया स्थानीय निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट महिला वडा सदस्यमा उठेर पराजित भएकी थिईन् ।newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button