स्वास्थ्य

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपण आज

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको आज बिहान ९ बजेबाट मिर्गौला प्रत्यारोपण शल्यक्रिया सुरु हुने भएको छ। प्रत्यारोपणका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ।

मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो।

प्रत्यारोपणको नेतृत्व अस्पतालका वरिष्ठ प्रत्यारोपण सर्जन प्राडा प्रेम ज्ञवालीले गर्ने बताइएको छ।

अस्पतालका कार्यकारी निर्देशक डा प्रेमकृष्ण खड्गाले सामान्यतया मिर्गौला प्रत्यारोपणपछि बिरामीलाई ५/६ दिनमा घर फर्काउन मिल्ने बताए।

प्रधानमन्त्री ओलीले मंगलबार डाक्टरहरुसँग प्रत्यारोपणपछि एक हप्तामा मन्त्रिपरिषदको बैठक बोलाउने बताएका छन्।

प्रत्यारोपणका लागि प्रधानमन्त्री ओली पूर्ण रुपमा तयार रहेको चिकित्सकहरु बताउँछन्। ‘प्रधानमन्त्रीमा उच्च आत्मबल रहेको छ, जुन निकै सकारात्मक कुरा हो,’ डा ज्ञवालीले भने।

प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआइपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ। अस्पतालमा भिभिआइपीका लागि ६०१ र ६०२ गरी दुई वटा क्याबिन बनाइएको छ।

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिने छन्।

प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौलादान गर्दै छिन्।

नेपाल चिकित्सक संघले प्रधानमन्त्री ओलीको प्रत्यरोपणका लागि नेपाली डाक्टरमाथि विश्वास गरेकोमा खुसी व्यक्त गर्दै प्रत्यारोपणको सफलता र शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

महासचिव डा बद्री रिजालद्धारा जारी विज्ञप्तीमा नेपाली चिकित्सकबाटै आफ्नो उपचार गराएर प्रधानमन्त्रीले नेपाली चिकित्सक प्रति विश्वास गरेको प्रति उच्च सम्मान छ भन्दै अन्य उच्च ओहोदामा बस्ने व्यक्तिले समेत यस कार्यको अनुसरण गर्न भनिएको छ।swsthyakhabarpatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button