
काठमाडौं (हाम्रो खेलकुद)– कोरोना भाइसको संक्रमणका कारण अर्को महिना दशरथ रंगशालामा हुने विश्व कप छनोटका खेल सर्न सक्ने सम्भावना बढेको छ । यद्दपी अहिले सम्म कुनै निर्णय भने भई नसकेको बताएको छ । नेपालले विश्व कप छनोट अन्तर्गत चाइनिज ताइपेसँग चैत १३ र अष्ट्रेलियासँग चैत १८ गते खेल्ने तय छ ।
तर, अष्ट्रेलिया फुटबल संघले कोरोना सक्रमणको कारण देखाउँदै अहिले विश्व कप छनोट खेललाई पछि सार्न एसियाली फुटबल महासंघ (एएफसी) मा निवेदन दिएको अखिल नेपाल फुटबल संघ (एन्फा) श्रोतले जनाएको छ । चाइनिज ताइपेले भने अहिले सम्म छनोट सार्ने विषयमा भने केहि नभनेको बताइएको छ ।
विश्वका विभिन्न मुलुकमा कोरोनाको संक्रम बढ्दै जान थालेपछि सावधानीका लागि कार्यक्रमहरु स्थगित हुँदै आएका छन् । नेपालमा पनि सभा समारोह गर्ने क्रममा रोक लगाइएको छ । विश्व कप छनोटका ८ मध्ये ५ खेल देश बाहिर खेलेको नेपालले बाँकी ३ खेल दशरथ रंगशालामा खेल्ने तयारीमा छ ।
त्यसका लागि नेपालले फागुन १८ गतेबाट राष्ट्रिय टोलीको तयारी पनि सुरु गरिसकेको छ । एन्फा भने विश्व फुटबल महासंघ (फिफा) र एएफसीको निर्णय कुरिरहेको बुझिएको छ । विश्व कप छनोटका ५ खेलमा नेपालले १ मात्र खेलमा चाइनिज ताइपेलाई पराजित गरेको थियो ।
बाँकी ४ खेल नेपालले गुमाएको थियो । समूहमा १२ अंकसहित अष्ट्रेलिया शीर्षस्थानमा, कुवेत १० अंकसहित दोस्रो, जोर्डन १० अंकसहित तेस्रो, नेपाल ३ अंकसहित चौथो र अंक विहिन चाइनिज ताइपे पुछारमा रहेको छ ।



