
कोरोनाबारे जागरूकता अभियान

नक्सलबारी: घोषपुखुर दुर्गा महिला वेलफेयर सोसाइटीको तर्फबाट दोल उत्सवको आयोजना गरियो। दोल उत्सवको शुभ अवसरमा कोरोना भाइरसलाई लिएर जागरूकता अभियान चलाइयो। सोसाइटीका सभापति रेखा सिंहले उत्सवको अवसरमा घोषपुखुर ग्राम पञ्चायतको मैलानी जोतमा धेरैवटा कार्यक्रमहरूको आयोजना गरेको साथै धेरै संख्यामा मानिसहरू सामेल भएको बताए। अर्कोतिर, गणेश देवनाथले सोसाइटीको तर्फबाट कोरोना भाइरसलाई लिएर आउँदो दिनहरूमा क्षेत्रको विभिन्न ठाउँहरूमा जागरूकता अभियानको आयोजना गर्ने बताए। यस अवसरमा उत्सवमा सोसाइटीका सभापति रेखा सिंह, सचिव गोरी दास, गणेश चन्द्र देवनाथ लगायत धेरै संख्यामा मानिसहरू उपस्थित थिए।
एनआरसी-बारे गोजमुमो प्रतिनिधि टोली असम भ्रमणमा

सिलगढी : गोर्खा जनमुक्ति मोर्चा(विनय खेमा)को एउटा प्रतिनिधि टोली फेरि एनआरसी बिषय लिएर असम गएको छ। उक्त टोलीमा केन्द्रीय सह-सचिव केशवराज पोखरेल,केन्द्रीय समिति सदस्य साकाल देवान अनि मोर्चा रिसर्च एवं स्टडी विङका सदस्य पंकज छेत्री सामेल रहेका छन्। हाल तिनीहरु असमको जमिनी तथ्य बुझ्न त्यहाँ विभिन्न संघ-संस्थाहरु अनि व्यक्ति बिशेषहरूलाई लगातार भेट गरिरहेको जारी विज्ञप्तिमा जनाइएको छ। यसै क्रममा हिजो गोजमुमो प्रतिनिधि टोलीले असमका पूर्व मुख्यमन्त्री तथा वरिष्ठ नेता तरुण गोगोइलाई तिनकै वासस्थानमा भेट गरेर एक औपचारिक बैठक गरे। भेट अवधि गोगोइले आफु पन्ध्र बर्ष सरकारमा बस्दा गोर्खाहरुलाई सम्मानको साथ राखेको बताउँदै त्यसताक बिधान सभाको अध्यक्ष समेत असममा पहिलो पल्ट एकजना गोर्खा सदस्य वरिष्ठ अधिवक्ता एवं प्राध्यापक टङ्कबहादुर राईलाई राखिएको जानकारी गराए। यसको साथै आफ्नो समयमा क्याबिनेट मन्त्री जस्तो जिम्मेवारी पदमा पनि गोर्खा सदस्यहरुलाई बराबर मौका दिएको तिनले बताए। हालैमा बोडोल्यान्डलाई लिएर केन्द्र सरकारसँग भएको सम्झौता बिषयमा पनि तिनले सविस्तार जानकारी गराएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
स्वास्नीको हत्या गरेको आरोपमा लोग्ने पक्राउ

सिलगढी: आफ्नै स्वास्नीको हत्या गरेको आरोपमा पुलिसले लोग्ने मोहम्मद अनिसलाई पक्राउ गरेको छ। मृतक खुशबु छेत्रीको शव घाँटीमा फाँसी लगाएर झुण्डिएको अवस्थामा मङ्गलबार अपरान्हको समय फेला पारिएको थियो। प्राप्त जानकारी अनुसार, सिलगढी नजिक फुलबारीको मर्डर मोड़ निवासी मोहम्मद अनिससित खुशबु छेत्रीले सात वर्ष अघि विवाह गरेका थिए। विवाह भएपछि दुवै परिवारमाझ एकार्कासित राम्रो मेल-मिलाप नरहेको बताइएको छ। उक्त दुर्घटना हुनुमा ससुराली पक्षमाथि अभियोग लगाइएको छ। घटनाको खबर पाएर पुलिसले घटनास्थलमा पुगेर शवलाई उद्धार गरेपछि पोस्टमर्डमको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवं अस्पतालमा पठाई दिएको छ। अर्कोतिर, मृतकको परिवार पक्षले गरेको अभियोगको आधारमा पुलिसले खुसबुको लोग्ने मोहम्मद अनिसलाई पक्राउ गरेर घटनाबारे सोध खोज गरिरहेको बताइएको छ।
सड़क अवरोध गरेर विरोध प्रदर्शनी

कुचबिहार : कुचबिहार नगरपालिकाको 12 नम्बर वार्ड नगर परिसेवाको अवस्था बेहाल रहेको आरोप लगाउँदै स्थानीय मानिसहरूले सड़क अवरोध गरेर विरोध प्रदर्शनी गरे। बुधबार बिहान कुचबिहार शहरको चाकिर मोड़ इलाकामा भेला भएर स्थानीय मानिसहरूद्वारा विरोध प्रदर्शनी गरियो। इलाकाको बाटोको अवस्था राम्रो नभएको साथै पिउने पानीको समस्या लगायत नालीमा फोहोर, मैला फ्याँक्ने गरेको स्थानीय मानिसहरूको आरोप रहेको छ। यसबारे पार्षदलाई धेरैपल्ट अवगत गराए तापनि कुनै कदम नउठाएको प्रदर्शनकारीहरूको आरोप रहेको छ। यसैले गर्दा इलाकाका मानिसहरूले विरोध प्रदर्शनी गरेर पथ अवरोध गरेको बताइएको छ। यस घटनाको खबर पाएर पुलिस घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रणमा लिएको बताइएको छ।siliguritimes/from



