मूल खबर

कोरोना भाइरसको जाँच गर्न उत्तर बङ्गाल मेडिकल कलेजमा प्रयोगशाला शुरू गरिने

सिलगढी : कोरोना भाइरसलाई लिएर हाल विश्वभरिकै देशहरूमा डरको माहौल देखा परेको छ। यसैलाई ध्यानमा राखेर पश्चिम बङ्गाल राज्य सरकारले कोरोना (कोभीड-19)-को परीक्षणको लागि उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा एउटा प्रयोगशाला खोल्ने भएको छ। यसबाहेक, संदिग्ध रोगीहरूको लागि उक्त अस्पतालमा एउटा आइसोलेशन वार्ड पनि स्थापित गरिएको छ। प्राप्त जानकारी अनुसार यदि उत्तर बङ्गालमा कुनै पनि व्यक्तिमा कोरोना भाइरसको लक्षण देखा परेमा तिनको उपचार उत्तर बङगाल मेडिकल कलेज एवम् अस्पतालमा गरिनेछ। उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा आइसोलेशन वार्डमा 6 वटा फिल्टर बेडसहित एउटा एसी रूमको व्यवस्था गरिएको छ। यसको साथै एकजना सहायक अधीक्षक, एकजना डाक्टर र एकजना डीएनएसलाई लिएर तीनजनाको एउटा विशेष नोडल टीम गठन गरिएको छ। यसभन्दा अघि संदिग्ध रोगीको नासोफेरिन्जल स्वाब अनि रगतको जाँचको लागि कोलकाताको प्रयोगशालामा पठाइने गरिन्थ्यो भने अब यसको परीक्षण उत्तर बङ्गाल मेडिकल कलेज एवम् अस्पतालमा नै गरिने बताइएको छ।

डाकघरको पर्चीहरू बङ्ग्ला भाषामा पनि हुनु पर्ने मागमा ज्ञापन

सिलगढी : डाकघरको ब्याङ्क विभागको सर्कल फारम, पर्ची लगायत अन्यमा हिन्दी अङ्ग्रेजीसँगै बङ्ग्ला भाषामा पनि लेखिएको हुनुपर्ने बाङ्ग्ला पक्षले माग गरेको छ। सिलगढी सहरको विभिन्न ठाउँहरूमा विभिन्न समयमा बाङ्ग्ला पक्षले बङ्ग्ला भाषाको माग गर्दै आइरहेको छ। यसै क्रममा आज डाकघरको सबै विभागको पर्चीहरू अङ्ग्रेजी, हिन्दी भाषासँग-सँगै बाङ्ग्ला भाषामा लेखिएको हुनुपर्ने माग बाङ्ग्ला पक्षले गरेको छ। संस्थाका एकजना सदस्य सुभाष साहाले बताए अनुसार केही दिन अघि एकजना बङ्ग्ला भाषीले डाकघरमा बङ्ग्ला भाषामा कुराकानी गर्दा अन्य भाषी कार्यकर्ताले बङ्ग्ला भाषामा कुराकानी नगर्दा उक्त व्यक्ति निक्कै असुविधामा परेको आफूहरूसमक्ष अभियोग गरेको थियो। पश्चिम बंगालको डाकघरमा किन बङ्ग्ला भाषाको प्रयोग गरिँदैन भन्दै बाङ्ग्ला पक्षले आज प्रधान डाकघरको पोस्टमास्टरसँग भेट गरेर एउटा ज्ञापन पत्र चढाए।

लोहागढ चियाकमानका श्रमिकहरू अन्योलमा

लोहागढ : मिरिक ब्लकको च्याङ्गा पानीघट्टा ग्राम पञ्चायत अन्तर्गत पर्ने तराई क्षेत्र लोहागढ चियाकमानमा होलीको छुट्टीको बहाना गरेर मालिक पक्षले कुनै प्रकारको नोटिक नटाँसी कमान छोडेर गएको श्रमिकहरूको भनाइ रहेको छ। यसैले आज बिहान स्थानीय चियाकमानका श्रमिकहरू तथा विभिन्न श्रमिक संगठनका नेताहरूको उपस्थितिमा गेट मिटिङको आयोजना गरियो। उक्त मिटिङ अवधि कमानको मालिक पक्ष अघि आफूहरू नझुक्ने साथै मालिकको दबाउ, अन्याय-अत्याचार विरुद्ध एक भएर लड्ने निधो गरेको बताइएको छ।

श्रमिकहरूले आफ्नो अधिकारको निम्ति आवाज उठाउँदा नै कमानका प्रबन्धकहरूले कमान छोडेर गएको स्थानीय चियाश्रमिकहरूको आरोप रहेको छ। यस विषयमा सम्बन्धित विभाग तथा जीटीए प्रशासनले उचित पहल गरेर चाँडै कमान खुलाउनु पर्ने श्रमिकहरूले माग गरेका छन्।

कोरोना भाइरसबारे जागरूकता गराउनु पर्ने मागमा ज्ञापन

दार्जिलिङ: गोरामुमो जनचेतना संघर्ष समितिले हाल विश्वभरिमैं आतङ्क छाएको कोरोना भाइरस सम्बन्धी आज दार्जिलिङ जिल्ला अस्पताल, दार्जिलिङ जिल्ला अधिकारी, जीटीए सचिव, दार्जिलिङ जिल्ला एसपीलाई ज्ञापनपत्र चड़ाएको छ। उक्त ज्ञापनपत्रमा दार्जिलिङ र कालेबुङ जिल्लामा कोरोना भाइरसको रोकथाम गर्नेबारे प्रशासनिक तर्फबाट चाँड़ै आवश्यक पहल गरिनु पर्नेलगायत मानिसहरूलाई यसबारे जागरूकता गराउनु पर्ने माग गरिएको छ।

यसको साथै गोरामुमो जनचेतना संघर्ष समितिको एउटा प्रतिनिधि टोलीले आज मन्जिला तामाङको नेतृत्वमा दार्जिलिङ जिल्ला अस्पतालमा कोरोना भाइरस सम्बन्धी बनिएको जाँच कक्षाको पनि निरीक्षण गरेको पार्टी सूत्रले जनाएको छ।

दुईवटा मरेको चितुवा उद्धार

मदारीहाट: डुवर्सको मदारीहाट बीरपाड़ा खण्ड अधिनस्थ पर्ने माक्रापाड़ा चियाबारीको 38 नम्बर सेक्सनमा वन विभागले मरेको दुईवटा चितुवा उद्धार गरेको छ। उक्त मरेको चितुवाहरूलाई चिया कमानको काममा निस्किएका श्रमिकहरूले देखेपछि यसबारे वन विभागलाई जानकारी दिए। वन कर्मीहरू घटनास्थलमा पुगेर उक्त मरेको चितुवालाई उद्धार गरेर लगेको बताइएको छ।siliguritimes/india

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button