
काठमाडौँ / नेपाली काँग्रेसले पार्टीको १४औँ शनकोमहाधिवे तयारीका लागि नयाँ क्रियाशील सदस्यता वितरण र नवीकरणको कामलाई तीव्र बनाएको छ ।
पार्टी विधानले तोकेको कार्यविधिबमोजिम प्रतिनिधिसभा क्षेत्रीय कार्यसमितिले नयाँ क्रियाशील सदस्यता वितरण र जिल्ला कार्यसमितिले क्रियाशील सदस्यता नवीकरण गर्न शुरु गरेको काँग्रेसले जनाएको छ ।
पार्टीको अन्तरिम संरचना समायोजनको कार्य सम्पन्न गरेका काँग्रेसका ३५ जिल्ला कार्यसमितिले हालसम्म नयाँ सदस्यता र नवीकरणका लागि केन्द्रीय कार्यालयबाट फारम लगिसकेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
जिल्ला कार्यसमितिले विद्यमान सङ्ख्या बराबर नवीकरणका लागि र त्यसको ५० प्रतिशत नयाँका लागि क्रियाशील सदस्यता फाराम लगेको उनले बताए । क्रियाशील सदस्यता वितरण र नवीकरणका लागि गत फागुन १६ गतेदेखि फारम वितरण शुरु गरी यही चैतसम्म सम्पन्न गर्नुपर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
सङ्गठनमा महत्वपूर्ण मानिने काँग्रेसका क्रियाशील सदस्य सङ्ख्या हाल स्वदेश र विदेश (काँग्रेसका जनसम्पर्क समिति) गरी करिब पाँच लाख रहेको पार्टी कार्यालयले जनाएको छ । केन्द्रीय कार्यसमितिको गत माघ २९ गतेको बैठकले विद्यमान क्रियाशील सदस्य सङ्ख्याको बढीमा ५० प्रतिशत नयाँ क्रियाशील सदस्यता प्रदान गर्ने निर्णय गरेको थियो ।
यसैगरी काँग्रेसमा समायोज भएका नेपाल लोकतान्त्रिक फोरम, अखण्ड नेपाल, नेपाल समता पार्टीलगायत दल र पार्टीको जागरण अभियानका क्रममा देशभर विभिन्न राजनीतिक दलबाट काँग्रेसमा प्रवेश गरेका नेता कार्यकर्तालाई पनि छानबिन गरी आवश्यकताअनुसार क्रियाशील सदस्यता प्रदान गरिने उनले बताए।



