काठमाडौ ।
नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्नका लागिनेपालका लागि आफूहरुले प्रार्थना गरिरहेको बताएकी छन्। राजदूतले चीनबाट चिकित्सा सामग्री ल्याउने प्रयास समेत गरिरहेको बताएकी छन्।
सोमबारराजदूत होउले आफ्नो ट्विटरमार्फत चीन नेपालीहरुको साथमा रहेको समेत जनाएकी हुन्।
ुहामी नेपालका लागि प्रार्थना गर्छौं र केही चिकित्सा सामाग्री ल्याउन सक्दो संयोजन र प्रयासरत पनि छौँ । हामी साथमा छौं,ु उनले लेखेकी छन्।
नेपालले यसअघि नै चीन र भारतसँग स्वास्थ्य सामग्री मागिसकेको छ। नेपालले चीनसँग पर्सनल प्रोटेक्सन इक्विपमेन्ट, कोरोना परीक्षण किट, ल्याबसहितको मोबाइल एम्बुलेन्सलगायत उपकरणको माग गरेको छ।
आफ्नो देशमा कोरोना भाइरस संक्रमण नियन्त्रणमा लिन सफल भएको चीन अहिले यूरोप र एशियाका देशहरूमा यो प्रकोप नियन्त्रणमा लिन सहयोग गरिरहेको छ। इटाली, कम्बोडिया लगायतका देशमा चिकित्सकहरू सहितको सहयोग टोली पठाइसकेको चीनले नेपाललाई पनि आवश्यक सहयोग गर्ने बताउँदै आएको छ।
सोमबार नै काठमाडौँमा एक जना कोरोना भाइरस संक्रमित फेला परेपछि सरकारले मंगलबार बिहानबाट देशभर लक डाउन घोषणा गरेको छ।




