ललितपुर–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९)का कारण विश्वका २०२ देशमा यसले आफ्नो प्रभाव पारेको छ भने अहिले सम्म विश्वमा यसको कारण मृत्यु हुनेको संख्या ४२ हजार पुगेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोनाको संक्रमणबाट बुधबार बिहानसम्म ४२ हजार १ सय ७ जनाले ज्यान गुमाउन पुगेकाछन् ।
अहिलेसम्म कोरोना संक्रमितको संख्यालाइ हेर्ने हो भने ८ लाख ५६ हजार ९ सय १७ पुगेको छ । संक्रमितमध्ये १ लाख ७७ हजार १ सय ४१ जना उपचारपछि निको भएका छन् ।
गएको २४ घण्टाको अवधिमा ७२ हजार १ सय ७९ नयाँ संक्रमित देखिएका छन् । सोहि अवधिमा ४ हजार ३ सय ३४ जनाले ज्यान गुमाएका छन्।
संक्रमित भएका मध्ये अहिले सम्म ६ लाख ३७ हजार ६९ जनाको विभिन्न अस्पताल, आइशोलेसन तथा क्वारेन्टाइनमा राखेर उपचार गरिरहिएको छ ।

उपचारमा रहेका मध्ये ३२ हजार २ सय ९७ को अवस्था गम्भीर अवस्थामा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।
सबैभन्दा बढी संक्रमणको प्रभाव रहेको अमेरिकामा गएको २४ घण्टामा मात्र थप २३ हजार ५ सय ५९ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै अमेरिकामा कोरोना भाइरस संक्रमित हुनेको संख्या १ लाख ८७ हजार ३ सय ४७ पुगेको छ । ३ हजार ८ सय ६० जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाउने मध्ये ७ सय १९ जना नयाँ हुन् ।
यसै गरिइटालीमा ४ हजार ५३ जना नयाँ संक्रमितसहित कोरोना संक्रमितको संख्या १ लाख ५ हजार ७ सय ९२ पुगेको छ । अहिलेसम्म सबैभन्दा बढी १२ हजार ४ सय २८ ले ज्यान गुमाएका छन् ।
त्यस्तै स्पेनमा ९५ हजार ९ सय २३ जना संक्रमित हुँदा ८ हजार ४ सय ६४ जनाले ज्यान गुमाएका छन् ।
चीनमा बितेको २४ घण्टामा नयाँ संक्रमित अहिले सम्म फेला परेको छैन भने मृत्यु पनि भएको छैन् । (एजेन्सीको सहयोगमा)




