कृषि र किसान

किसानलाई गहुँ भित्र्याउने चिन्ता

कैलाली। कोरोना भाइरसका कारण विश्व त्रस्त र देश लकडाउनमा रहँदा कैलालीको दक्षिण पूर्वी क्षेत्रका किसानलाई खेतमा लगाइएको गहुँ बाली भित्र्याउने चिन्ता बढ्न थालेको छ ।

यो समय किसानलाई खेतमा व्यतीत गर्ने भए पनि लकडाउनका कारण तीन खेतसम्म पुग्न सक्ने अवस्था छैन । खेतमा गहुँ पाकेर झर्ने अवस्थामा पुगिसकेको किसानको भनाइ छ ।

कैलालीको दक्षिणपूर्वी क्षेत्र खेतीका लागि महत्वपूर्ण रहँदै आएको छ । त्यहाँका सबैजसो मानिस कृषि पेशाबाटै गुजारा गर्दै आएका छन् ।

देशमा नोबेल कोरोना भाइरसको संक्रमण फैलिन नदिन लकडाउन हुँदा मानिस घर बाहिर निस्कन नपाएपछि किसान खेतमा पाकेको गहुँबाली कसरी भित्र्याउने भन्ने चिन्तामा छन् ।

“खेतमा लगाइएको गहुँ र मसुरो पाकेर झर्ने अवस्थामा पुगिसक्यो कसरी भित्र्याउने भन्ने चिन्ता लाग्न थालेको छ”, भजनी नगरपालिकाका किसान अर्जुन खत्री बताउनुहुन्छ ।

उहाँले हिउँदमा भएको वर्षाले केही गहुँ नष्ट गरिसकेको भए पनि बचेको बाली भित्र्याउने समयमा देशमा भएको लकडाउनले झनै भोकमरी ल्याउने बताउनुभयो । “अघिल्ला वर्षमा अहिलेसम्म गहुँ घरमा भित्र्याउन सकिन्थ्यो ।

“अहिले खेतसम्म पनि जान सक्ने अवस्था पनि छैन”, खत्रीले भन्नुभयो, “विश्व नै विपत्तिमा छ । बाहिर निस्कन मिल्दैन ।

प्रशासनले कडाइ गरेको छ । घरमा खाना छैन, खेतको बाली भित्र्याउन पाइने हो कि होइन, कुनै ठेगान छैन । ”

हिउँदमा बढी वर्षा भएको कारण किसानले लगाएको अन्न बालीमा पहिले नै ठूलो क्षति पुगेको छ । बाँकी रहेको गहुँ पनि पाकेर खेतमै झर्ने अवस्थामा पुगेको किसानको गुनासो छ । “अझै पनि मौसमको कुनै भर छैन ।

अहिले बेला मौसम खराब भइदिने हो भने हामी त भोकै मर्छौँ ”, अर्का किसान अम्मर साउदले भन्नुभयो, कसै गरी गहुँ बाली भित्र्याउने व्यवस्था सरकारले गरिदिएको भए आभारी हुने थियौँ ।”

यन्त्रले गहुँ काट्ने गरेको भए पनि किसानले डिजेल नपाएको गुनासो गरेका छन् । सरकारले नै डिजेलको बिक्रीवितरणमा रोक लगाएको भन्दै आयल स्टोरहरुले डिजेल दिन नमानेको किसान बताउँछन् ।

मेशिनले गहुँ काट्दा मानिस जमघट पनि नहुने र गहुँ पनि भित्र्याउन सकिने भएकाले सरकारसँग किसानलाई डिजेलको व्यवस्था गरी गहुँ भित्र्याउनका लागि सहज बनाइदिन आग्रह गरेका छन् ।krishipatrika

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button