विचार

प्रदेश २ का मुख्यमन्त्रीलाई खुला पत्र : विवश र निराश नबन्नुहोस्

डा अजयकुमार मिश्र

माननीय मुख्यमन्त्री ज्यू,

मैले तपाईंको निर्देशन सामाजिक सञ्जालमा पटकपटक सुनें, पढें। एक चिकित्सकको नाताले तपाईंको निर्देशन सुनेर मेरो मन दुख्यो। तपाईंको निर्देशन पटकपटक सुनें, किनकी प्रदेश दुईको स्वास्थ्य नीति मस्यौदा बनाउने क्रममा तपाईंको दिएको वक्तव्य सुन्दा तपाईंले चिकित्सकको दुःख राम्रोसँग बुझेको जस्तो लागेको थियो। तर आज यो निर्देशन सुन्दा पहिलो पटक मन खिन्न भयो।

यो निर्देशनबाट तपाईं आफैं विवश भएको महसुस भयो। तपाईंको निर्देशनमा समय आगावै ५० लाखका दरले प्रत्येक जिल्लालाई पैसा तथा खर्च गर्ने अधिकार दिएको सुनें। यदि त्यो सत्य हो र प्रदेश सरकार आवश्यक परेमा अझ पैसा पठाउन तयार रहेको सुन्दा कतै न कतै प्रशासनिक कमजोरी भऐकै हो भन्ने महसुस भयो।

चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीले पिपिई त परै जाओस् अति आवश्यक साधारण मास्कसम्म नपाएको कुरो तपाईंलाई यसै पत्रमार्फत जानकारी गराउन चाहन्छु। स्वास्थ्यमा देखिएको यस आपतकालीन परिस्थितिमा कुनै पनि स्वास्थ्यकर्मी आफ्नो पेसाप्रतिको कर्तव्य तथा जिम्मेवारीबाट पन्छिन खोजेको छैन। पन्छिनु हुन्न। र, पन्छिदैनौं पनि। तर आफ्नो सुरक्षा अनुभूति नभएसम्म प्रतिबद्ध भई काम गर्न पनि सहज छैन।

माननीय मुख्यमन्त्री ज्यू, तपार्इं प्रदेश दुईको कर्यकारी प्रमुख मात्रै नभई प्रदेश दुईको आभिभावक पनि हो। प्रदेश दुईका चिकित्सक र स्वास्थकर्मीको सुरक्षाको जिम्मेवारी पनि तपाईंकै हो। यो कोरोना विरुद्धको लडाइँको सिपाही बिनाहातहतियार मैदानमा काम गरे भने प्रदेशको जनताको भलोभन्दा अझ नोक्सान हुनेछ त्यो आत्मघाती हुनेछ।

यस आपतकालीन परिस्थितिमा कुनै पनि चिकित्सक तथा स्वास्थ्यकर्मीले परिस्थिति अनुरुप जनताको काम नगरेको पाइएमा लाइसेन्स नै सस्पेन्ड गरियोस् तर चिकित्सक तथा स्वास्थ्यकर्मीलाई काम गर्ने वातावरण बनाउने जिम्मेवारी पाएका निकाय आस्पताल प्रशासन, जिल्ला प्रशासन वा स्वास्थ्य मन्त्रालय नै किन नहोस, जिम्मेवारी पूरा नभएको अवस्थामा कारबाही गरियोस्।

प्रदेशको कार्यकारी प्रमुख विवश र निराश भयो भने यसले नोक्सान मात्रै हुनेछ। म त भन्छु कारबाही गरियोस् तर केबल एक सामान्य चिकित्साकर्मीलाई बलिको बोका नबनाइयोस्। आफ्नो कर्तव्य पूरा नगर्ने ठूलाठूला ओहोदामा बसेका पदाधिकारीको कामको मूल्याकन पनि होस। आफ्नो जिम्मेवारी पूरा न गर्ने अख्तियारप्राप्त व्यक्तिलाई जिम्मेवारी पूरा नगरेकोमा पनि दण्डित गरियोस्।

चिकित्सकलाई चाहिने सम्पूर्ण सुरक्षा सामग्री चाँडोभन्दा चाँडो उपलब्ध गराइयोस्। यस आपतकालीन परिस्थितिमा हामी सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मी हरसम्भव सरकार, जनता र राष्ट्रप्रति आफ्नो जिम्मेवारी पूरा गर्न प्रतिबद्ध छौं।

डा अजयकुमार मिश्र
मुटु रोग विशेषज्ञ, swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button