मूल खबर

कोरोना सल्किन्छ भन्दै मिर्गौला रोगीलाई घरबेटीले निकाले, पाँच दिनदेखि अस्पतालको चिसो छिँडीमा बास

काठमाडौं।

कोरोना सल्किन्छ भन्दै काठमाडौं थानकोटका एक घरबेटीले डेरामा बस्दै आएका मिर्गौला रोगीलाई घरबाट निकालेकी छिन् । नियमित डायलाइसिस गर्नुपर्ने तनहुँका ४६ वर्षीय बुद्धिराज गुरुङलाई गत शुक्रबार घरबेटी शशी थमालले कोठाबाट निकालेकी हुन् ।

अस्पताल जाँदा–आउँदा कोरोना सल्किने भन्दै डेरा छाड्न बाध्य पारेको पीडित गुरुङले बताए । ‘सातामा दुईपटक नियमित डायलाइसिस नगरे ज्यानै तलमाथि हुन्छ, तर घरबेटीले अस्पताल नजानू, नत्र घर छाड्नू भनेर मानसिक तनाव दिनुभयो,’ गुरुङले भने, ‘डायलाइसिसका लागि डेरा छाड्नुपर्‍यो ।’

शशीको घरमा गुरुङका सालीका परिवार बस्थे । एक वर्षदेखि उनी सालीकै परिवारसँग बसेर धापाखेलस्थित सुमेरु सिटी अस्पतालमा डायलाइसिस गराउँदै आए । तनहुँमै घरपायक पारेर डायलाइसिस गराउने प्रयास असफल भएपछि बाध्यताले उनी सालीको परिवारको शरणमा आइपुगेका थिए । गाडी बन्द हुँदा गुरुङलाई साढुले नै स्कुटीमा राखेर अस्पताल लैजाने ल्याउने गर्थे । तर, घरबेटीले साली र साढुलाई नै धम्क्याएपछि आफू कोठा छाडेर निस्किन बाध्य भएको गुरुङले बताए ।

‘सुरुमा सालीलाई कराएको सुनेँ, मन कटक्क खायो । जसको शरणमा म बस्दै आएँ, उनीहरूलाई मेरै कारण दुःख दिन हुन्न भन्ने लाग्न थाल्यो । पछि मलाई पनि सीधै कराउन थाले, अनि डेरा छाडेर निस्किएँ,’ उनले भने, ‘लकडाउनअघि श्रीमती पनि आएकी थिइन् । दुई साता बसेपछि तनहुँ पठाइदिएँ । तीनजना बच्चा छन्, उनीहरूको रेखदेख पनि गर्नैपर्‍यो । तर, लगत्तै मैमाथि यत्रो आपत् आइलाग्यो ।’

कोठाभन्दा डायलाइसिस ठूलो ठानेर निस्किएँ : बुद्धिराज गुरुङ, पीडित बिरामी

मिर्गौलाले काम गर्न छाडेपछि एक वर्षदेखि नियमित डायलाइसिसमा छु । तनहुँमा बसेर डायलाइसिस गराउने इच्छा थियो । तर, गरिब भएकाले बेड पाउन सकिनँ । बोलिदिने कोही भएन । बाँच्ने आशा बोकेर थानकोटमा सालीको कोठामा शरण लिन आइपुगेँ । त्यहीँबाट धापाखेलको सुमेरु अस्पतालमा नियमित डायलाइसिसमा थिएँ । बन्द हुँदा साढुको स्कुटरमा अस्पताल आउने जाने गर्थेँ, सजिलै भएको थियो । तर, आज घरबेटीका कारण चिसो छिँडीमा आइपुगेको छु । ‘कि अस्पताल नजानू, कि डेरा छाड्नू’ भनेपछि मैले बाँच्नका लागि डेरा छाडेँ । मेरा कारण घरबेटीले साली र साढुको पनि मन दुखाएका छन् । सालीको डेरामा बस्नु मेरो रहर थिएन, बाध्यता थियो । नियमित डायलाइसिसविना बाँच्न सक्दिनँ । एम्बुलेन्समा आउजाउ गर्न पैसा छैन । मैले के गरुँ ?

गुरुङ अहिले सुमेरु अस्पतालको चिसो छिँडीमा पुगेका छन् । राति वेटिङ रुमको चिसो कुर्सीमा शरीर अड्याउँछन् । कसैले दिए खान पाउँछन्, नत्र भोकै बस्नुपर्छ । ‘म डेराबाट निकालिएर अस्पतालको छिँडीमा आइपुगेको छु । यो बिचल्लीमा पैसा पनि छैन । कसैले दया गरेर दिए खान पाउँछु, नत्र भोकै हुन्छु,’ गुरुङले भने ।

देशभर साढे चार हजार मिर्गौला बिरामी डायलाइसिस गराउँछन्

देशभर चार हजार ६ सय मिर्गौला बिरामी डायलाइसिस गराउँछन् । अधिकांश गरिब र विपन्न छन् । धेरैजसोलाई सहरमा डेरामा बसेर नियमित डायलाइसिस गराउनुपर्ने बाध्यता छ । तर, कोरोनाका कारण जोखिम बढेको भन्दै घरबेटीले छिछि र दूरदूर गर्न थालेका छन् । यस्तो पीडा लिएर धेरै बिरामी आउने गरेको चिकित्सकहरू बताउँछन् ।

भाडामा बसेका चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीसमेत पीडित बनेको डा. ऋषिकुमार काफ्ले बताउँछन् । आफ्नै अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई समेत घरधनीले डेरा छाड्न भनेको उनले बताए । ‘भर्खर यस्तो समस्या देखिन थालेको छ, कोरोनाका केस बढ्दै जाँदा अझ ठूलो रूप लिने देखिन्छ,’ डा. काफ्लेले भने, ‘राज्यले समयमै चासो देखाउनुपर्छ ।’

उपत्यकाका स्वास्थ्य संस्थामा काम गर्ने चिकित्सक, नर्सलगायत स्वास्थ्यकर्मीहरू धेरैजसो भाडा लिएर बस्दै आएका छन् । उनीहरूलाई घरमा पस्नै प्रतिबन्ध लगाउने हो भने यसले भोलि अर्कै रूप लिनेछ । काफ्लेले धेरै पीडितहरू खुल्न नसकेको बताए । नयाँपत्रिका दैनीकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button