एजेन्सी – इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका खेलाडीद्वय ड्यानियल रुगानी र ब्लेइस म्याटुइडी कोरोना भाइरस (कोभिड–१९) मुक्त भएका छन् ।
२५ वर्षीय इटालियन डिफेन्डर रुगानी र ३३ वर्षीय फ्रेन्च मिडफिल्डर म्याथुइडीले संक्रमण भएको थाहा पाएलगत्तै आइसोलेसनमा बसेपछि कोरोना भाइरसबाट निको भएको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । क्लबले दुवै खेलाडीमा दोहोरो परिक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएको बताएको छ । अब उनीहरु अझै दुई साता सेल्फ आइसोलेसनमा बस्नुपर्नेछ ।
रुगानी कोरोना संक्रमण देखिने पहिलो इटालियन सिरी ‘ए’ खेलाडी बनेका थिए । त्यसको केही सातापछि फ्रेन्च खेलाडी म्याुथइडीमा पनि कोरोना भाइरस देखिएको थियो । दुवै खेलाडीले कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा उपचारमा पुगेका थिए ।
यस्तै युभेन्टसका अर्का अर्जेन्टिनी फरवार्ड पाउलो डिबालामा पनि कोरोना संक्रमण देखिएको थियो । उनी पनि उपचारबाट स्वस्थ हुने क्रममा रहेको क्लबले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । कोरोना महामारीकै कारण इटाली सरकारले मे ३ सम्म लकडाउन घोषणा गरेको छ । सोही काराण इटालीमा खेलकुद गतिविधि ठप्प छ ।
त्यसपछि सामान्य भएको अवस्थामा इटालियन फुटबल एसोसिएसन (एफआइजिसी) ले स्थगित सिरी ‘ए’ ले पुन सुचारु गर्न सक्ने योजना अघि सारेको छ । त्यसअघि प्रशिक्षण सुरु हुनुअघि एफआइजिसीले सिरी ‘ए’ मा सम्पुर्ण खेलाडीहरुको कोरोना परिक्षण गर्ने बताएको छ । परिस्थिति सहज बनेको अवस्थामा सिरी ‘ए’ जुन पहिलो साता हुन सक्नेछ ।hamrokhelkud/from




