मूल खबर

लकडाउनमा थप कडाइ : मृत्यु संस्कारमा सहभागी हुन जानेलाई मात्रै सवारी पास

लकडाउनका वेला अत्यावश्यक कामका लागि भनेर लिइएको सवारी पास दुरुपयोग गर्ने एक हजार आठ सय ४६ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ । यस्ता पासको दुरुपयोग बढेको गुनासो आएपछि प्रहरीले कारबाही थालेको हो ।

सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समयावधिका लागि तोकिएको पासलाई अर्कै प्रयोजन र जुनसुकै समयमा समेत प्रयोग गरेको पाइएकाले ट्राफिक प्रहरीले कडाइका साथ चेकजाँच र कारबाही थालेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । ‘अत्यावश्यक कामबाहेक अन्य समयमा समेत घुमफिर गर्न, भेटघाट गर्न, सडकमा रमिता हेर्न, पास छ भनेर सान देखाउँदै हिँडेको भेटिएका छन्,’ ढकालले भने, ‘त्यस्ता सवारीसाधनलाई निगरानी गरी दुरुपयोग गरेको पाइए कारबाही गर्न थालेको हो ।’

पासको दुरुपयोग गर्ने एक हजार आठ सय ४६ वटा सवारीसाधनलाई कारबाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले उपत्यकामा दिनमा एक सय ५५ स्थान र रातमा ४५ स्थानमा चेकप्वाइन्ट राखी चेकजाँच गरिरहेको छ । सवारीसाधन सञ्चालन पासलाई व्यवस्थित गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले थप कडाइ गरेको छ । कार्यालयले बुधबारदेखि मृत्यु संस्कारमा सहभागी हुन जानेबाहेकलाई सवारी पास उपलब्ध नगराउने निर्णय गरेको हो ।नयाँ पत्रिका दैनिकबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button