सृजनाको चौतारी

कविता : कोही सक्तैन उम्कन

– मित्रलाल पंज्ञानी

यो अनिश्चयको हावा चलेको रात हो सखा
मान्छेको कल्पनाभन्दा परको बात हो सखा
भावीको गर्भमा के छ ? खन्न सक्तैन क्वै पनि
मान्छेको भविता के हो ? भन्न सक्तैन क्वै पनि

तर यौटा कुरा पक्कै भन्न सक्तछ जो पनि
यो व्यवस्था भयो डुब्ने, पस्यो नूतन रोशनी

यो मेरो देशको मान्छे यो तेरो देशको भनी
गरिबै डसिएका छन्, डसिँदैनन् कतै धनी
न अाफ्नो देशमा न्याय, न अर्को देशमा हित
के विकल्प रह्यो बाँकी श्रम गर्नेहरूसित ?

जनको हित छाडेर मुनाफा हेरिँदै गए
सत्ता हाँक्नेहरू झन्झन् दुष्टमा फेरिँदै गए
मुखले जनता भन्छन् बुझ्दैनन् जनका बह
कहाँ बस्ने र के खाने ? दुख्खै दुख्ख तहैतह

व्यवस्था फेरिने बेला ठूलो सङ्कट अाउँछ
नढल्ला कहिल्यै जस्तो शक्ति नै ढल्पलाउँछ
त्यै बेला जन उर्लन्छन् महासागरझैँ बनी
हुँदैनन् जनका शक्ति रोक्न सक्ने कुनै पनि

अब यौटा महाक्रान्ति, विश्वक्रान्ति नभैकन
सुख्खै छैन, छँदै छैन, कोही सक्तैन उम्कन
इतिहास यसै भन्छ, तथ्य भन्दछ यै कुरो
युगको चेतना नै हो अजेय क्रान्तिको चुरो

पंज्ञानीको फेसबुकबाट

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button