स्वास्थ्य

आँखाबाट पनि सर्नसक्छ कोरोना भाइरस

जुनु श्रेष्ठ, दीपककुमार साह

विश्वभरि नै महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) सम्बन्धी वैज्ञानिक अध्ययन र अनुसन्धान भइरहेको अवस्थामा नयाँनयाँ तथ्यहरु आइरहेका छन्।

कोरोना संक्रमित व्यक्तिले खोक्दा, हाच्छिउँ गर्दा मुख र नाकबाट निस्किएको पानी (थुकका छिटा) स्वस्थ व्यक्तिको आँखा, नाक र मुखमा पुगेपछि भाइरस फैलिन्छ। ‘आई’ भन्ने आँखा स्वास्थ्यसम्बन्धी अनुसन्धान पत्रिकाको प्रकाशकीयमा कोभिड-१९ संक्रमित व्यक्तिको आँसुमा पनि कोरोना भाइरसको वंशाणुगत तत्व पिसिआर परीक्षणमा देखिएको कुरा उल्लेख गरिएको छ।

तसर्थ, कोरोना संक्रमित व्यक्तिको आँसुबाट पनि संक्रमण हुनसक्ने देखिएको छ। सोही तथ्यलाई उल्लेख गर्दै ‘जर्नल अफ मेडिकल भाइरोलोजी’ले कोभिड-१९ का बिरामीमध्ये आँखा पाक्ने समस्या देखिएका बिरामीको आँसुमा मात्रै उक्त भाइरस देखिएको पुष्टि गरेको छ। यही तथ्यहरुलाई मनन गर्दा संक्रमित व्यक्तिको आँसुबाट पनि कोरोनाको संक्रमण हुने जोखिम देखिन्छ।

कोभिड-१९ रोगका बिरामीमा श्वास फेर्न अफ्ठ्यारो हुने, ज्वरो आउने, खोकी लाग्ने, पखाला लाग्ने तथा आँखा पाक्ने जस्ता प्रमुख लक्षणहरु देखा पर्छन्। आँखामा भने आँसु बगिरहने, रातो हुने तथा सुन्निने, आँखा भारी हुने र थाक्ने लगायत टाउको दुख्ने जस्ता समस्या ०.८ प्रतिशतदेखि ३ प्रतिशतसम्म हुनसक्ने विभिन्न अध्ययनले प्रस्तुत गरेका छन्।

यसै सन्दर्भमा यस कोरोना भाइरसको संक्रमणबारे सर्वप्रथम सु-सूचित गराएका चीनका डा ली वेनलियाङ पनि एक नेत्र रोग विशेषज्ञ थिए। उनले जलविन्दुका बिरामी जाँच्ने क्रममा अनौठो किसिमको रुघाखोकी फैलिरहेको आशंका गरेका थिए। पछि यसलाई नोबेल कोरोना भाइरस-२ को संज्ञा दिइयो र यसैबाट उनी पनि संक्रमित भई मृत्यु हुन पुग्यो।

आँखाको आकस्मिक स्वास्थ्य सेवा प्रदान गरिरहेका नेत्र विशेषज्ञ, दृष्टि विशेषज्ञ तथा नेत्र सहायकहरुले पनि उपयुक्त रुपमा व्यक्तिगत सुरक्षा सामग्री (पिपिई) को प्रयोग गरेर मात्रै बिरामीको जाँच गर्नुपर्छ। त्यसैगरी सर्वसाधारणले पनि अत्यावश्यक सामग्री खरिद गर्न घरबाट बाहिर निस्किँदा अनिवार्य रुपमा मास्क लगाए जस्तै आँखा ढाक्न चस्माको प्रयोग गर्दा कोरोना भाइरसको संक्रमणबाट केही सुरक्षित रहन सकिन्छ।

अस्पतालमा बिरामीसँग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्पर्कमा आउने सम्पूर्णले अनुहार ढाक्ने सिल्डको समेत प्रयोग गर्नुपर्छ। साथै सुरक्षाकर्मीले पनि अनिवार्य मास्क र आँखा ढाक्न चस्माको प्रयोग तथा अनुहार ढाक्ने सिल्डको प्रयोग गर्न जरुरी देखिन्छ।

(श्रेष्ठ र साह दृष्टि विशेषज्ञ हुन्)swsthyakhabarpatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button