सृजनाको चौतारी

उदास सहर र उन्मुक्त सपना

– अम्बिका चन्द

क्षितिजमा उदाएको मिर्मिरेसँगै
धर्तीको वदनभरि पोखिएको
प्रभाती किरण पनि न्यानो लागेन
बगैँचामा फक्रिएको मस्त जवान
गुलाफले पनि सुगन्ध छरेन
अँधेरी रातमा एक्लै छोडेर
निद्रा कता–कता फरार भयो
करोडौँ सपनाहरूको यो सहरमा
न त एक जोडी नयनले
एक थान सपना नै देखे
न त थोत्रो बाकसमा हालिएका
पुराना प्रेमपत्रले नै मोहित बनायो
इन्द्रेणीको रङ पनि मधुरो देखियो
कविता, गीत, गजलमा सरगम सुनिएन
बाजाको सुरमा ताल र झङ्कार भेटिएन
किनकि
अचेल नियतले सपना बदलेको छ ।

सपनाहरूको लय बदलिएर होला
पुराना कपडा कोचेर
टाउकोमा बोकेको रातो–हरियो जेब्राले
घामको न्यायो किरण छेकिदियो
मध्याह्नमा तातो सूर्य टाउकोमाथि आउँदा
सडकबाट अलकत्रा र सिमेन्टको नमिठो गन्ध निस्कियो
हरेक साँझ उज्यालो निभ्दै जाँदा
झ्यालको चेपबाट भित्र पस्ने निद्रादेवीले
ओछ्यानमा होइन, खाली सडककिनारमा
सडकछेउ अथवा पीपलको बोटमुनि बोलाउँछिन्
हिजोआज
जति बलपूर्वक बन्द गर्दा पनि
सपना देख्दैनन् यी आँखा
देख्छन् त केवल
गन्नै नसकिने गरी चाउरी परेका
आमाको अनुहारका रेखाहरू
दृश्यमा सैनिकहरू, अदृश्यमा बारुदी कणहरू
खाडीमा गाडिएका जीवनहरू
बेरीतसँग अलपत्र छोडिएका राता बाकसहरू
अनि म कसरी देखूँ
पुरानो बाकसका मायालु प्रेमपत्र !
पत्र त बाकसमै छ
तर प्रेम त्रास बनेर हावामा उडिरहेको छ
अनि कसरी गुन्जियोस् सुमधुर आवाज !
हलमा थ्रि डी चल्दैन
थिएटरमा नाटक चल्दैन
गीतमा सङ्गीत भरिँदैन, बाजामा सुर हालिँदैन
मानिस बन्द छन् चार पर्खालभित्र
त्यसैले अचेल
दूरदर्शनमा एकोहोरो कासन सुनिन्छ
अलि परबाट चित्कार सुनिन्छ
समुद्री तुफान आउनुअघिको जस्तै
सन्नाटा छाइरहेको यो सहरको सडकभरि
भुस्याहा कुकुर र लाटोकोसेराको
एकोहोरो कर्कस आवाज सुनिन्छ
हिजोआज त्यस्तै कर्कश आवाजमा
मानिसहरू जीवनका नयाँ सपना खोजिरहेका छन् ।

२०७७, १४ बैशाख  ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button