मूल खबर

बाख्रा चराउन गएका अबोध चार बालबालिकाको बम विस्फोटमा मृत्यु, बालबालिका विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

रोल्पाको त्रिवेणी गाउँपालिका गैरीगाउँका बालबालिका जंगलबाट फर्किँदै थिए, एकैघरका दिदीभाइसहित चारजना घर पुग्न पाएनन्

रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँनजिक बम विस्फोटमा परी एकैघरका दिदीभाइसहित चार बालबालिकाको मृत्यु भएको छ । गैरीगाउँका ११ वर्षीया विमला खत्री, उनका पाँच वर्षीय भाइ विजय खत्री, छिमेकी १४ वर्षीय नोखिराम डाँगी र १३ वर्षीय गौरव नेपालीको मृत्यु भएको हो ।

जंगलमा बाख्रा चराएर घर फर्किँदै गर्दा बिहीबार साँझ उनीहरू बाटोमा विस्फोटमा परेका हुन् । बम घटनास्थलमै थियो अथवा उनीहरूले जंगलमा भेटेर ल्याएका थिए भन्ने पुष्टि हुन नसकेको गाउँपालिका अध्यक्ष शान्तकुमार ओलीले बताए । तर, घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।

‘बाख्रा चराउन गएको जंगलबाट घटनास्थल एक किलोमिटर दूरीमा छ, देख्ने कोही नभएको र सबै बालबालिकाको ज्यान गएकाले बम जंगलबाटै ल्याएका थिए वा घटनास्थलमै थियो भन्ने स्पष्ट छैन,’ अध्यक्ष ओलीले भने, ‘घटनास्थलमा अर्को बम पनि भेटिएको छ ।

उनका अनुसार घटनास्थल वरपर बस्ती नभए पनि मान्छेहरू भने हिँडिरहने ठाउँ हो । विगतमा त्यहाँ शंकास्पद वस्तु नदेखिएकाले बालबालिकाले जंगलबाटै ल्याएको हुन सक्ने उनको आशंका छ । साँझ ६ बजेतिर विस्फोटको ठूलो आवाज आएपछि गाउँले घटनास्थल पुगेका थिए ।

प्रदेश ५ प्रहरी कार्यालयका डिएसपी नवराज पोख्रेलले साँझ अबेरसम्म विस्फोटको पूर्ण विवरण आउन नसकेको बताए । ‘हामीले घटनाको जानकारी पाउनेबित्तिकै नुवागाउँ र जुँगारबाट इन्स्पेक्टरको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाएका छौँ, तर पानी परेका कारण बाटो चिप्लो भएर पुग्न ढिला भएको छ,’ उनले भने । डिएसपी पोख्रेलले विस्फोट भएको बम टुइन्च मोर्टारजस्तो भएको बताए । तर, हालको हो वा युद्धकालीन भन्ने पुष्टि अनुसन्धानपछि मात्रै हुन सक्ने उनको भनाइ छ ।

बालबालिका विस्फोटमा परेकै ठाउँमा भएको थियो ०६२ मा भिडन्त

बालबालिका विस्फोटमा परेकै ठाउँ गैरीगाउँको दुम्लाखोलामा ०६२ मा तत्कालीन नेकपा माओवादी र शाही सेनाबीच भिडन्त भएको थियो । सो भिडन्तलाई ‘दुम्ला भिडन्त’ भनेर चिनिन्छ । भिडन्तमा घाइते भएका माओवादी सेनाका कम्पनी कमिसार तथा पूर्वराष्ट्रिय सभा सदस्य राजकुमार कुँवरका अनुसार ०६२ को ११ पुसमा बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म भिडन्त भएको थियो ।

‘बिहीबार टुइन्च मोर्टार बम विस्फोट भएको भनिएको छ । तत्कालीन युद्धमा यस्तो बम पनि प्रयोग भएका थिए, शाही सेनाले धेरै प्रयोग गरेको थियो । तर, यो बम यति लामो अवधिसम्म टिक्न सक्दैन,’ कुँवरले भने, ‘चार्जका आधारमा चल्ने बम यत्रो अवधिसम्म घाम र पानीमा परेर पनि चल्नु नपर्ने । मलाई त उहिलेको हो जस्तो लाग्दैन । तर, अनुसन्धानपछि स्पष्ट होला ।’नविन लोचनमगर र भूपेन्द्र वलीले नयाँ पत्रिका दैनिकमा लेखेकाछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button