विचार

केपी ओली पुस्ताकै विकल्प खोजौँ

मिलन पाण्डे

केपी ओली पुस्ताकै विकल्प खोजौँ
यो लुटतन्त्रले नागरिक विद्रोह मागेको छ, नागरिक अवज्ञा मागेको छ, अब नयाँ पुस्ताले यस्तो सरकारको अवज्ञा गर्नेछ

बागमती प्रदेशसभा सदस्य रमेश पौड्यालले केही दिनअघि ट्विट गरे– ‘०४३ सालमा नेकपा मसालको सेल्टर रहेको हाम्रो घरको बुइँगलमा प्रशिक्षण दिने एक दाह्रीवाल नेताले भनेको सम्झन्छु, ‘कम्युनिस्ट र दहिमोही उस्तै हुन्– पवित्रमा अति पवित्र, ब्राह्मणको भान्सामा पनि चल्ने, बिग्रियो भनेचाहिँ मलमूत्रभन्दा बढी गन्हाउने ।’ रमेशजीको ट्विटले भनेझैँ आजका ‘कम्युनिस्ट’ गन्हाइसकेका छन् । महामारीको महासंकटका वेलामा पनि विषाणु भगाउन छाडेर कुर्सी जोगाउने खेलमा छन् । नागरिकको जीवन बचाउन होइन, सत्ताको खेलमा अध्यादेश ल्याउन अनि सांसद ‘अपहरण’ गर्न व्यस्त छन् । प्रश्न प्रधानमन्त्रीसँग मात्र जोडिएको छैन, नेकपासँग पनि जोडिएको छ । ७० वर्षे इतिहास बोकेको कम्युनिस्ट आन्दोलन नै आज लज्जित छ । गुठी विधेयक, माइतीघर प्रतिबन्ध लगाउने प्रयत्न, मिडिया काउन्सिलदेखि खारेज भएको अध्यादेशसम्मको निर्णयबाट पछि हट्दाहट्दै कम्युनिस्ट आन्दोलन भिरमै पुगिसकेको छ । वाइडबडी विमान खरिद, नेपाल ट्रस्टको जग्गा प्रकरण, बालुवाटार जग्गा बिक्री, सेक्युरिटी प्रेसजस्ता प्रकरणले सरकार मात्र होइन, लामो समयसम्म नेकपालाई नै थला पार्नेछ । घटनाहरू पुस्ताकै नेतृत्वको कलंक हो ।

लकडाउन कसरी खोल्ने, आर्थिक गतिविधि कसरी अगाडि बढाउने, विदेशबाट फर्किने नेपालीका लागि कसरी रोजगारी सिर्जना गर्ने भन्नेबारे योजना बनाउन लाग्नुपर्ने वेलामा पार्टी फुटाउन तम्सिनु नागरिकलाई ठाडै हेप्नु हो । महामारीबाट हामी भाग्यले बाँच्दै छौँ । सरकारको व्यवहारले त ‘मरे मर’ भनिसक्यो । पैदलयात्री घर जान पाउँदैनन् । भोकले छटपटाइरहेका नागरिक खानाको साटो लाठी खान बाध्य छन् । तर, सरकार सांसदको टाउको गन्न व्यस्त छ । ‘ओम्नी’को काखमा लुट्पुटिएर ‘यती’को संरक्षण गर्न व्यस्त छ ।

०३६ सालतिर सुवास नेम्वाङले स्टिलको दराज किन्दा चर्को आलोचना हुने अनि ०४७ सालमा झलनाथ खनाल मन्त्री हुँदा रंगीन टेलिभिजन किन्न खोजेकोमा अनुशासनको कुरा उठ्ने कम्युनिस्ट पार्टी आज कहाँ छ ? जब प्रश्नको मुख छोपिन्छ, तब दल मर्छन् ।

नेकपा प्राइभेट लिमिटेड
हरेक संगठनको एउटा उद्देश्य हुन्छ, उद्देश्य सकिएपछि कि संगठनले नयाँ उद्देश्य लिन्छ या अस्तित्व सकिन्छ । नेपाली कांग्रेसको उद्देश्य प्रजातन्त्र ल्याउनु थियो । कम्युनिस्टको लक्ष्य गणतन्त्र थियो । दुवैको उद्देश्य पूरा भयो । त्यसपछि, यी दलहरू अघि बढ्नै सकेनन् । संगठनको नयाँ उद्देश्य तर्जुमा गर्न सकेनन् । आज नेकपा उद्देश्यविहीनहरूको जमातमा परिणत भएको छ । सचिवालय वा स्थायी समितिका बैठक एउटा नेताले के गर्छ, त्यसकै प्रतिक्रियामा रुमल्लिन्छन् । यत्रो महामारीलाई निर्मूल गर्न नेकपाले दलका रूपमा माखो मारेको छैन । लाखौँ कार्यकर्ता अनि स्रोत–साधन भएको दलको दायित्व के हो ? यो प्रश्न नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डलाई पनि हो, जो आगोमा मासु भुटेर खान व्यस्त छन् । ‘पूर्वक्रान्तिकारी’ नेतालाई त मजदुर अनि पैदलयात्रीको पीडाले दिन–रात पोल्न पर्ने होइन र ? दुईचोटि प्रधानमन्त्री बनाउने र नेकपाको अध्यक्ष बनाउने कार्यकर्ताका लागि कमरेड प्रचण्डले के काम गरे ? आजको नेकपासँग कुनै ठोस उद्देश्य, योजना र ऊर्जा छैन । दल नै ३–४ जनाको वरिपरि फन्फनी घुमेको छ ।

व्यक्तिलाई आफू संस्थाभन्दा ठूलो छु भन्ने लागेपछि संस्था मर्छ । यहाँ केपी ओली यो हदसम्म पुग्नुका पछाडि यही भ्रमले काम गरेको छ । ओली अनि उनका आसेपासेलाई नेकपा पार्टीभन्दा केपी ओली ठूला भन्ने लाग्छ । अन्य धेरै नेता यही भ्रममा बाँचिरहे, तर त्यो सत्य थिएन । ओली काम गरेर होइन, कुरा गरेर ठूला देखिएका थिए । देश यस्तो अवस्थामा छ कि बिहान समाचार पढ्दा नागरिकको रक्तचाप बढ्छ । कांग्रेसलाई प्रश्न गर्नु बेकार छ, त्यससँग गाली खाने जनाधार पनि छैन । लोकतन्त्रको स्वनामधन्य मसिहा लुटतन्त्रको हिमायती बनिसकेको छ ।

नेकपाका नेता करोडौँको गाडी चढ्छन् । उपचार गराउँन विदेश जान्छन्, महलमा बस्छन् । तर, स्रोत के हो ? भन्ने प्रश्न नेकपाभित्र कहिल्यै उठ्दैन । कुन एजेन्टको आशीर्वादमा छोराछोरीलाई महँगो शिक्षा दिलाइरहेका छन् भन्ने बहस नेकपामा हुनुपर्ने हो । तर, प्रश्न गर्ने आवाज छैनन्। ०३६ सालतिर सुवास नेम्वाङले स्टिलको दराज किन्दा चर्को आलोचना हुने अनि ०४७ सालमा झलनाथ खनाल मन्त्री हुँदा रंगीन टेलिभिजन किन्न खोजेकोमा अनुशासनको कुरा उठ्ने कम्युनिस्ट पार्टी आज कहाँ छ ? जब प्रश्नको मुख छोपिन्छ, तब दल मर्छन् ।

आज नेकपा परिवारवाद, दलाल पुँजीवाद अनि मान्यताविहीन मृतसंस्था बनेको छ । मदन भण्डारी भन्थे, ‘सामन्तवादको समूल अन्त्य नभएसम्म राजा रहनु र नरहनुले खासै फरक पार्दैन ।’ आज राजा हुनु र नहुनुले केही फरक परेको छैन । मञ्चमा नेताका लागि फरक सोफा चाहिने नियत त्यही सामन्तवादको नयाँ अवतार हो भने पिर्के सलामी खाने छोटे राजा । तैपनि उनीहरू कम्युनिस्ट हुन् भनेर हामीले पत्याइदिनुपर्ने ? नेकपा अब पुष्पलाल, मनमोहन अधिकारी, मदन भण्डारी अनि अष्टलक्ष्मी शाक्यहरूको पार्टी रहेन । नेकपा अब डनको पार्टी हो । नेकपामा नेता बन्न सिद्धान्त, योजना अनि त्याग चाहिँदैन । एउटा नेताको फेरो समातेर धरहराबाट हाम फाल्न तयार रहे पुग्छ । आमनागरिकको शिक्षा, स्वास्थ्य, सुरक्षाबारे बोल्नुपर्दैन ।

कार्यकर्ता–पंक्तिलाई अनुरोध

एउटा विशिष्ट श्रेणीको कर्मचारीको तलब महिनाको औसत ५० हजार मान्ने हो भने ७० करोड कमाउन एक हजार एक सय ६७ वर्ष लाग्छ । तर, एउटा मन्त्री कति सजिलै अर्बौंको डिल गर्छ । नेकपा कार्यकर्तालाई सिँढी बनाएर केही नेताले कार्यकर्ताकै आगामी १७ पुस्तासम्म घात गर्दै छन्। नेकपा पक्कै पनि केपी ओलीको १४ वर्षको जेलजीवनले मात्र बनेको पार्टी होइन । लाखौँ कार्यकर्ताको रगत, पसिना अनि तपस्याको नतिजा हो । तर, नेकपाको आफ्नै घरमा ‘गद्दार’ घुसेका छन् । तसर्थ, अब नेकपामा कार्यकर्ताले विद्रोह गर्ने वेला आएको छ किनभने नेकपा ओली, माधव वा प्रचण्डको प्राइभेट लिमिटेड होइन । नेकपा ‘ओम्नी’ वा ‘यती होल्डिंग्स’को सेटिङ मिलाउन खोलिएको एजेन्ट कम्पनी पनि होइन । यो त ७० वर्षको जीवन्त इतिहास हो, जुन आज थला परेको छ । अब पार्टी बचाउन कसैले सक्छन् भने त्यो बाँकी रहेका नैतिकवान् कार्यकर्ताले नै हो । राजनीतिक अनि स्वार्थको दलालीमा फसेका नेता–कार्यकर्तामा त्यो तागत छैन । हिजो सुशीला कार्कीलाई महाभियोग लगाउँने, सांसद् किनबेच गर्ने कांग्रेससँग नेकपाका विरुद्ध उभिने नैतिकता छैन । तसर्थ, आज नेकपाको प्रतिपक्ष भनेको पार्टीकै इमानदार कार्यकर्ता हुन् । अब इमानदार कार्यकर्ताले यो नांगो नाच हेरेर रमिते बन्न पाउँदैनन् ।

निकम्मा नेतृत्व

आज राजनीति गिट्टी–बालुवादेखि बालुवाटारसम्म दोहन गरेर चलेको छ । नेता आफ्नो किड्नी सजिलै फेरिरहेका छन्, तर नागरिकको किड्नीको जिम्मा लिने कोही छैन । प्रधानमन्त्री कुन नेता कहाँ कुन कोठामा बैठक बस्यो भनेर चिन्तित छन्, नागरिकको चिन्ता छैन । प्रतिक्रियावादी शक्ति नेकपालाई कमजोर बनाउन लागेका छन् भन्ने अध्यक्षले बुझ्न जरुरी छ, त्यो प्रतिक्रियावादी शक्ति पार्टीभित्रै छ । जो तपाईंको वर्षगाँठमा भोज गरिदिन्छन्, तपाईंकै जन्मदिनमा हेलिकोप्टरमा केक बोकिदिन्छन् । उत्तर कोरियाको प्रतिव्यक्ति आय ८८५ डलर छ, दक्षिण कोरियाको ३१ हजार ४३० डलर छ । हामीलाई उत्तर कोरियाको नेता किम जोङको नाम थाहा छ, दक्षिण कोरियाको नेताको नाम थाहा छैन । शक्तिशाली हुनु नेताको असली शक्ति होइन, नागरिकको शक्ति नेतृत्वको प्रमुख शक्ति हो । आजका नेताका अर्को प्रमुख समस्या भिजनको अभाव हो । कांग्रेस अझै पनि बिपीले चलाउँदै छन् र नेकपा माक्र्स अनि लेनिनले । यदि बिपी अनि लेनिनकै भरमा चल्ने हो भने कसरी ‘लिडर’ भइयो त ? त्यसो हो भने, ‘लिडर’ होइन, ‘फलोवर’ हो । अहिलेका यो पुस्ताका नेताहरू, ‘नेता’ होइनन् । नेता हुन तिनमा नीति नै छैन । कार्यकर्ताले नेतालाई मानेको पनि भ्रम मात्र हो । पहिलोचोटि मोटरसाइकल बनाउने इन्जिनियर हो । दोस्रोचोटि बनाउने मिस्त्री हो । हालका हाम्रा नेताहरू इन्जिनियर होइनन्, मिस्त्री हुन् । तीबाट नयाँपन सम्भवै छैन । जसरी, तेन्दुलकरवादी भएर क्रिकेट खेल्न सकिँदैन, त्यसरी नै माक्र्सवादी वा लेनिनवादी भएर मात्र नेता हुन सकिँदैन ।

अब नेकपामा कार्यकर्ताले विद्रोह गर्ने वेला आएको छ किनभने नेकपा ओली, माधव वा प्रचण्डको प्राइभेट लिमिटेड होइन । नेकपा ‘ओम्नी’ वा ‘यती होल्डिंग्स’को सेटिङ मिलाउन खोलिएको एजेन्ट कम्पनी पनि होइन । यो त ७० वर्षको जीवन्त इतिहास हो, जुन आज थला परेको छ ।

हो, केपी ओलीले भनेझैँ गोकुल बाँस्कोटाहरू ‘निर्दोष’ छन् । दोषी त कुनै योग्यता, क्षमता अनि कुनै भिजन नभएका गोकुलहरूलाई त्यहाँ पु¥याउने हुन् । हाम्रा मन्त्रीहरू के यो देशको शीर्ष हजारमा पर्नुपर्ने व्यक्तिहरू हुन् ? होइनन् । होइनन् भने त्यहाँ कसरी पुगे ? १४ वर्ष जेल बसेको मानिसको योग्यता ‘जेलर’ हुने हो प्रधानमन्त्री हुने होइन । त्याग–तपस्याको अवमूल्यन गरेको होइन, त्यही आडमा मात्र गरिएको राजनीतिमाथि गरिएको प्रश्न हो । प्रश्नको उत्तर खोज्ने वेला आएको छ।

पुस्ता हस्तान्तरण
पार्टीभित्रै केपी ओलीको विकल्प नदेखिनु मुख्य समस्या हो । जब हामी ओलीको विकल्पमा वामदेव वा प्रचण्ड वा माधव नेपाल सम्झन्छौँ, तब आफैँ थच्चिन्छौँ । नेकपाको विकल्पमा कांग्रेस सम्झिँदा शेरबहादुरको चित्र आउँछ, अनि भस्किएर केपी ओली प्रवृत्ति स्विकार्छौं । आज नेकपा यति कमजोर भएछ, उसको चार सय ४१ सदस्यीय केन्द्रीय समितिमा ओलीको विकल्प छैन भन्नुपरेको छ । गत ३० वर्षमा नेकपाले प्रधानमन्त्रीलायक नेता जन्माउन नसक्नु राजनीतिक अवसान हो ।

आजको माग केपी ओलीको मात्र होइन, केपी ओलीको पुस्ताकै विकल्प पनि हो । अब नेकपाको नेतृत्व दोस्रो वा अझ तेस्रो पुस्तामा जान जरुरी छ । नेकपाले केपी ओलीलाई फिर्ता बोलाउने सामथ्र्य राख्छ कि राख्दैन, हेर्न जरुरी छ । फेरि, देशले त्यही स्वार्थ बोकेर तिनै नेताको फेरो समात्ने नयाँ पुस्ता खोजेको होइन । लकडाउनमा सांसद अपहरण गर्न तम्सिने नयाँ पुस्ता समाधान होइन । अब कार्यकर्ता–पंक्तिबाटै सक्षम नेतृत्वको उत्थान हुन जरुरी छ । गुट तोड्ने साहस अनि देश बनाउने आगो बोकेको पुस्ता खोजेको हो । तसर्थ, ओलीको विकल्प छैन भन्नु लाखौँ कार्यकर्ताको अपमान हो । नेकपाभित्र सक्षम नेतृत्व छ, तर ती पन्छाइएका छन् । ती नेतृत्वलाई योग्यता देखाउने माहोल अब संगठनले बनाउन जरुरी छ ।

नेकपामा नयाँ पुस्ता पनि लुटतन्त्रको सिकार भइसकेकाले सक्षम नेतृत्व पाउँन सजिलो छैन । केही समयका लागि विकल्प हुन सक्छ, तर दीर्घकालमा वैकल्पिक सुसंस्कृत संगठन नै निर्माण गर्न जरुरी छ । अहिलेको पुस्ताको नेताको नेतृत्व देखिइसकिएको छ । त्यो सोचबाट २१औँ शताब्दीको नेतृत्व सम्भव छैन । तसर्थ, अहिलेका लागि नेकपाभित्रबाट नेकपाको लाज ढाक्न सक्ने नयाँ पुस्ता अपरिहार्य छ । अनि, अर्को चुनावमा नेकपा र कांग्रेसकै विकल्प खोजौँ, जसले देशको दिशा बदल्न सक्छ ।

नत्र नागरिक अवज्ञा

सन् १८४६ मा हेनरी डेविड थोरोले भनेका थिए, ‘यदि सरकारले गलत गरिरहेको छ भने एउटा सच्चा नागरिकका लागि सबैभन्दा उपयुक्त स्थान जेल हो ।’ आफ्नो राष्ट्रपतिले अमेरिका र मेक्सिकोबीचको लडाइँमा लिएको नीति मन नपरेपछि उनले कर तिर्न मानेनन् । उनको तर्क थियो, ‘सरकारले करबाटै उठाएको रकमले लडाइँ गर्दै छ । म यो लडाइँको समर्थन गर्न सक्दिनँ ।’ उनलाई यही कारणले जेल हालिएको थियो । आज कुनै सच्चा नेपाली यो बेथिति टुलुटुलु हेरेर बस्न सक्दैन । थोरो नै भन्छन्, ‘यदि तिमीलाई कुनै कुरा गलत भइरहेको छ जस्तो लाग्छ भने विवेक प्रयोग गर । नैतिकतासहित कानुन तोड, सजाय भोग, तर चुप नबस ।’ हालको यो लुटतन्त्रले नागरिक विद्रोह मागेको छ । नागरिक अवज्ञा मागेको छ । अब नयाँ पुस्ताले यस्तो सरकार अनि नेतृत्वको अवज्ञा गर्नेछ । कोरोना कहरका वेला पनि किन सरकारको विरोध भन्ने प्रश्नको एउटै उत्तर हो, नागरिक रुवाउने सरकारलाई फूलमाला लिएर अबिरजात्रा गर्न सकिँदैन । केही वर्षअघि भारतमा ‘नट इन माई नेम’ नामक एउटा स्वस्फूर्त आन्दोलन चल्यो । धर्मका नाममा विवेकहीन भिडविरुद्धको सो आन्दोलन ‘जे गर, तर मेरो नाममा हैन’ भन्दै प्रबुद्ध समाज सडकमा उत्रियो । अब नागरिक ‘सरकार जे गर, तर समाजवाद र कम्युनिस्टका नाममा नगर, सरकार जे गर तर जनताको नाममा अझै जनतालाई बेवकुफ नबनाऊ’ भनेर सडकमा आउने वेला भएको छ ।

बयलगाडा चढेर बरु अमेरिका पुगिएला, तर ओली सरकारले समृद्धिको लक्ष्यसम्म पुर्‍याउन सक्दैन । महामारीका वेलासमेत घृणित राजनीति अनि भ्रष्टाचारमा डुब्दै गरेको नेतृत्वलाई स्थिरता भन्दै राख्नु यी सबैमा मौन समर्थन जनाउनु हो । १०४ वर्षको राणाशासन अनि २४० वर्षको राजतन्त्रमा स्थिरता भनेर लागेको भए आज गणतन्त्र आउँदैनथ्यो । अनि महामारीका वेला विकल्प नखोजौँ भन्ने तर्क झन् उदेकलाग्दो छ । सरकारले महामारीसँग भिड्न कौनसा विशेष काम गरेको छ र ? जो ओलीको बहिर्गमनसँगै रोकिनेछ । लोकतन्त्रको मर्मसँग सम्झौता गर्न सकिन्न । अर्को पुस्ताबाट विकल्प खोज्न दबाब दिऔँ ।नयाँ पत्रिका दैनिकबाट लिईएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button