खबर

कोरोना उपचारमा सहयोग गर्दै आविष्कार केन्द्र

यलु जोशी

काठमाडौँ, वैशाख २१ गते । कोरोना भाइरस (कोभिड–१९)को महामारी विश्वभर फैलिइरहँदा नेपालमा भने महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्र प्रविधिलाई प्रयोग गर्दै विभिन्न अत्यावश्यक सामग्री बनाउन जुटिरहेको छ ।
विदेशबाट आयात गर्नुभन्दा आफ्नै देशमा बनाउँदा सस्तो पर्ने भएकाले यस्तो महामारीको अवस्थामा पनि गत डेढ महिनादेखि केन्द्रका इन्जिनियरहरू खटिरहेका छन् । महावीर पुनको संयोजकत्वमा निर्माणमा जुटिरहनुभएका आविष्कार केन्द्रका अभिनव प्रबन्धक (इनोभेसन म्यानेजर) सुनिल बानियाँले भन्नुभयो, “यस्तो महामारीको समयमा नेपाल र जनताको रक्षामा केही सहयोग पु¥याउने सोचाइले यस्ता सरसामन बनाउन जुटेका हौँ । ”
उहाँले थप्नुभयो, “कोरोनाको महामारी भएपछि मास्कको निर्माणमा जुट्यौँ भने त्यसलगत्तै पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई)को माग बढी भएकाले त्यसैमा केन्द्रित भयौँ, अहिले बिरामीको थ्रोट स्वाब लिन कोरोना बुथसँगै अटोमेटिक भेन्टिलेटर तथा रोबोट बनाइसकेका छौँ । ”
वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनले नेपालमै पाइने कच्चा पदार्थले पीपीई बनाएको जानकारी दिँदै भन्नुभयो, “पहिलो पटक तीनवटा निर्माण गरेर त्यसको मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइरालालाई देखाएका थियौँ । उहाँले यतिसम्मको ठीकै हुन्छ भन्नुभएपछि बनाउन थालेको हो । ” उहाँका अनुसार विश्व स्वास्थ्य सङ्गठनले दिएको मापदण्डअनुसार नै पीपीई बनाउन सुरु गरेको हो । हालसम्म ५८ सयभन्दा बढी वितरण गरिसकेको जानकारी उहाँले दिनुभयो । आविष्कार केन्द्रका इन्जिनियरहरूले पीपीईबाहेक श्वास फेर्न मिल्ने ‘अटोमेटिक रेस्क्युरेलेटर’ पनि बनाइसकेका छन् । यो ‘अटोमेटिक रेस्क्युरेलेटर’ले अस्पतालमा बिरामीलाई श्वास फेर्न सजिलो बनाउँछ भने एम्बुलेन्समा पनि बिरामीलाई राखेर लैजान सहज बनाउने पुनले बताउनुभयो ।
कोरोना भाइरस सङ्क्रमितको उपचारका लागि आवश्यक उपकरणहरू एकपछि अर्को बनाउने प्रयास भइरहेको छ । आइसोलेसन सेन्टरमा रहेका मानिसलाई खाना पु¥याउने रक्षा ७७ नामक रोबोटको विकास गरी छाउनी सैनिक अस्पताललाई हस्तान्तरण गरिसकेको जानकारी दिँदै बानियाँले अर्को रोबोट बनाउने तयारीमा रहेको जानकारी दिनुभयो। पुनले बन्दाबन्दी सुरु हुने बित्तिकै कोरोना सङ्क्रमित बिरामीको उपचार गर्दा चिकित्सकले लगाउने पीपीई बनाउने पहल लिएका थिए । उहाँले भन्नुभयो, “मोबाइलबाट सम्पर्क गरी गाडी नै लिएर पीपीई लिन आविष्कार केन्द्रमा आउनेहरूलाई वितरण गरिँदैछ, ठूलो अस्पताललाई १५ देखि २५ वटासम्म, मझौला अस्पताललाई १० देखि १५ वटा र हेल्थपोस्टहरूलाई पाँच वटासम्म पीपीई दिइएको छ । ”
केन्द्रले अहिलेसम्म काठमाडौँ उपत्यकाभित्रका एम्बुलेन्ससहित बाहिरी जिल्लाबाट काठमाडौँ एम्बुलेन्सका ड्राइभरहरूलाई पनि पीपीई वितरण गरेको छ । इमरर्जेन्सी रेस्क्युमा काम गर्ने सुरक्षाकर्मीका लागि पनि अनुरोध आएअनुसार पीपीई बाँडेको जानकारी उहाँले दिनुभयो ।
अब प्रयोग भइसकेका मास्क र पीपीईलाई किटाणुरहित बनाएर फेरि प्रयोग गर्न ‘यूभी उपचार प्रणाली’को काम पनि केन्द्रले सुरु गरेको छ । बानियाँका अनुसार ‘यूभी उपचार प्रणाली’बाट मास्क, पीपीईलगायत मोबाइल, ल्यापटप जस्ता सामान पनि सङ्क्रमणरहित बनाउन सकिने छ ।

बिरामी जाँच्ने बुथ
केन्द्रले हाल १६ जिल्लामा विभिन्न टिम परिचालन गरेर कोरोनाका बिरामी जाँच्ने बुथ पनि निर्माण गरिरहेको छ । सुरुमा काठमाडौँ उपत्यकामा तीनवटा बुथ बनाएर जाँच गरिएअनुसार अरू जिल्लामा पनि बनाउन सुरु गरिएको हो । चिकित्सकहरूको सुरक्षाका लागि बुथ निर्माण गरिएको हो । यो निर्माण भएपछि चिकित्सकहरू बुथभित्रै बसेर सङ्क्रमितको उपचार गर्न सक्छन् ।
बानियाँका अनुसार शिक्षण अस्पताल, वीर अस्पताल, छाउनी सैनिक अस्पताल, भक्तपुर अस्पताल, बागलुङ अस्पताल, महेन्द्रनगर अस्पताल, इटहरी अस्पतालमा राखेर काम सुरु गरिसकिएको छ ।

भेन्टिलेटरहरूको मर्मत
राष्ट्रिय आविष्कार केन्द्रको आह्वानमा बायोमेडिकल एसोसिएसन र विभिन्न बायोमेडिकल इन्जिनियरहरूको समूहको सहयोगमा काठमाडौँको ट्रमा अस्पतालका आठ र वीर अस्पतालका तीनवटा भेन्टिलेटर मर्मत भएका छन् । शिक्षण अस्पताल, गङ्गालाल अस्पताल र कान्ति बाल अस्पतालका भेन्टिलेटरको मर्मत गर्ने काम जारी रहेको बानियाँले जानकारी दिनुभयो ।

रक्षा ७७ रोबोट
आविष्कार केन्द्रका अनुसन्धानकर्ताले ११ दिन लगाएर खाना र औषधि बोक्ने रोबोटको निर्माण गर्नुभएको हो । बानियाँले भन्नुभयो, “विश्वभर कोरोनाको महामारी फैलिँदो छ । नेपालमा पनि कोरोनाका बिरामी बढेको बढ्यै छन् । सैनिक अस्पताल छाउनीले एउटा ट्रली दिएर बिरामीका लागि खाना पु¥याउने मेसिन बनाइदिन आग्रह गरेपछि हामीले रोबोटको निर्माण गरेका हौँ । ”
काम नलाग्ने ट्रलीबाट रोबोट निर्माण गरिएको छ । उक्त रोबोट (७५ देखि ८०) हजार रुपियाँको लागतमा बनेको छ । त्यसमा रिमोट कन्ट्रोल, भिडियो डिभाइस (भीजीए) र सेन्सर रहेको छ । सुरज कार्की नेतृत्वको चार जना मेकानिकल इन्जिनियरले उक्त रोबोट बनाउनुभएको हो । बानियाँ थप्नुहुन्छ, “हामीले मास्क, पीपीई र श्वास लिने अटोमेटिक भेन्टिलेटरसँगै यसको पनि माग आएकाले बनाएका हौँ तर यो रोबोटले भने बिरामीलाई आवश्यकताअनुसार खाना दिन्छ, पानी दिन्छ र औषधि पनि सँगै पु¥याइदिन्छ । ”
आविष्कार केन्द्रले आफ्नो ल्याबमा परीक्षण गरिसकेपछि छाउनीस्थित सैनिक अस्पतालले पनि यसको प्रयोग गरिसकेको जानकारी बानियाँले दिनुभयो । उहाँले कोरोनाको बिरामी आएमा सोही रक्षा ७७ रोबोटले काम गर्न सकिने प्रस्ट पार्नुभयो । उहाँका अनुसार यस्तै प्रकारको खाना र औषधि पु¥याउने रोबोटको माग धरान र सशस्त्र प्रहरीको कोरोना विशेष अस्पतालबाट पनि आएको छ । पुनले राष्ट्रिय आविष्कार केन्द्र जनताको भएका कारण जनताको सहयोगले यो सबै काम भएको बताउनुभयो । पीपीई र बुथहरू पनि पैसा नलिईकन वितरण गरिएको बताउँदै बानियाँले भन्नुभयो, “जनताको मायाले दिनुभएको रकमले नै सबै सामान बनाएका हौँ । यस क्रममा २० लाख रुपियाँ ऋण लिइएको छ । ”gorkhapatraonline/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button