कृषि र किसान

पकेट क्षेत्र घोषणासँगै कृषि उत्पादनमा वृद्धि

हेमन्त केसी

जाजरकोट। भेरी नगरपालिकाको सहयोगमा कालेगाउँका कृषकले गहुँको बीउ उत्पादन गरेका छन् ।

करिब पाँच हेक्टर जमिनमा गहुँ लगाएर उनीहरुले १०० क्विन्टल बीउ उत्पादन गरेको भेरी नगरपालिका कृषि शाखाका भोला खत्रीले जानकारी दिनुभयो ।

भेरी नगरपालिका–१ कालेगाउँका कृषकले अब आफैँ गहुँको बीउ उत्पादन गरेर बाहिर निर्यात गर्ने अवस्थामा पुगेको स्थानीयवासी सहदेव बस्नेतले जानकारी दिनुभयो ।

गहुँको बीउमा आत्मनिर्भर भई अन्य जिल्लालाई समेत निर्यात गर्ने उद्घोषका साथ नगरको सहयोगमा बीउ उत्पादन गरी अहिले सुरक्षितरुपमा व्यवस्थापमा लागेको कालेगाउँका ५४ वर्षीय कृषक मनबहादुर बस्नेतले बताउनुभयो ।

गहुँको बीउ उत्पादन भएसँगै जिल्लाका अन्य ठाउँमा बीउ बिक्रीका लागि बाटो खुल्ला भएको यहाँको भनाइ छ ।

सिँचाइको राम्रो सुविधा भएको कालेगाउँमा बीउको उत्पादनसँगै बजारीकरणका लागि पहल शुरु भएको कृषि शाखाका भोला खत्रीले जानकारी दिनुभयो ।

मूल बीउको राम्रो उत्पादनसँगै अन्य खाद्यान्न बाली लगाउन यहाँका कृषक जुटेका छन् । कालेगाउँका अधिकांश कृषकको खेतबारीमा गहुँको मूल बीउ उत्पादनसँगै अहिले अर्को बालीको उत्पादनका लागि कृषक दैनिक खेतबारीमा व्यस्त भएका छन् ।

भेरी नगरपालिकाले उपलब्ध गराएको मूल बीउ यहाँका कृषकको खेतबारीमा लगाएर बीउ उत्पादन गरेका हुन् । वर्षेनी तरकारी र खानाका लागि ठिमाह गहुँ लगाउने यहाँका कृषक यो वर्ष नगरपालिकाले मूल बीउ उत्पादन गर्न अनुरोध गरेपछि आफैँ बीउ उत्पादन गरेको बताएका छन् ।

नगरपालिकाले कालेगाउँलाई पकेट क्षेत्र घोषण गरी गहुँको बीउ उत्पादन गरिरहेको प्रमुख प्रशासकीय अधिकृत दलबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार बीउ उत्पादनका लागि सुहाउँदो माटो कालेगाउँमा भएकाले कृषकलाई अनुदानमा बीउ वितरण गरी मूल बीउ उत्पादन गर्न आकर्षित गराएको हो ।

नगरपालिकाले नगरभरिको माटो जाँच गरी कुन ठाउँमा कुन बाली उत्पादनका हिसाबले राम्रो हुन्छ भन्ने तथ्याङ्कका आधारमा कालेगाउँलाई गहुँको मूल बीउ उत्पादनका लागि पकेट क्षेत्र घोषणा गरी काम थालिएको थियो ।

कालेगाउँमा उत्पादन गरिएको बीउ जिल्लाका अन्य ठाउँमा निर्यात गर्ने लक्ष्य राखिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “कृषकको जीवनस्तर माथि नउठी, समृद्ध समाज र सुखी नेपालीको नारा सफल हुँदैन, त्यसैले हामी कृषकको जीवनस्तर उकास्न चाहान्छौँ”, उहाँले भन्नुभयो, “बीउमा आत्मनिर्भर हुनका लागि यो अभियान सञ्चालन गरिएको छ, पाँच हेक्टर क्षेत्रफलमा बीउ उत्पादनका लागि पहिलो चरणमा काम भएको छ ।” एक सय क्विन्टल बीउ उत्पादन भएको छ ।

गाउँ गाउँमा पकेट क्षेत्र :

धान र गहुँको उत्पादनका लागि भेरी नगरपालिका–१ को पिपे, होलुखोला वडा नं ११ को सानीचौर र फेराखोलाई पकेट क्षेत्र घोषणा गरी उत्पादन गरिएको छ ।

भेरी नगरपालिका–७ रुपाकोटमा मकैको बीउ उत्पादन गरी नगरपालिकाभरिका कृषकलाई वितरण गरिएको छ । त्यस्तै मकैका लागि वडा नं २ को पोख्रा, तिमीले, तिलिङ्गे, ९ को कालाभुर, १० को भुरचौर र १३ को कुदुलाई उत्पादनका हिसाबले पकेट क्षेत्र घोषणा गरिएको छ ।

आँप, अनार, अङ्गुर, लिचीको उत्पादनका लागि वडा नं ३, ४ सदरमुकाम, १० को भुरचौर, फेरा, १३ को कुदुलाई पकट क्षेत्र मानेर उत्पादनका काम भइरहेको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले जानकारी दिनुभयो । त्यस्तै कागती, सुन्तलाका लागि वडा नं २ को पोख्रा, रिसाङ, ३ र ४ को सदरमुकाम, ५ को पुम्ना, ६ को भ्यारे, १० को नुवागाउँ रहेको उहाँको भनाइ छ ।

तरकारीका लागि वडा नं १ को पिपे, कालेगाउँ, २ को रिसाङ, तिलिगे, बाहुन, ६ को भ्यार्रे, ५ को इवर, ६ को मटेला, कास्तरा, १० को रावतगाउँ, आली, बाल्देतरालाई पकेट क्षेत्र घोषणा गरी काम भइरहेको छ ।

त्यस्तै मह उत्पादनका लागि वडा नं १ को मैदे, पिपे, कालेगाउँ, २ को रिसाग, पिलिङ्गे, पुरानो रिसाग, पोखारा र बाहुनथानालाई विशेष क्षेत्र मानिएको छ । मसुरोका लागि वडा नं १० को भुरचौर र १३ को कुदुलाई पकेट क्षेत्र मानिएको छ ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button