कृषि र किसान

बाँझो जमीन खनजोत गर्नेलाई अनुदान दिदैं गाउँपालिका

हेटौंडा। पाँच वर्षभन्दा बढी अवधिदेखि बाँझो रहेको खेतीयोग्य जमीनको पुन : प्रयोग गर्न मकवानपुरगढी गाउँपालिकाले भू–उपयोग कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।

विभिन्न कारणले बाँझिएका खेतबारीलाई खनजोत गरी प्रयोगमा ल्याउन खेतीको प्रकृति हेरेर अनुदान रकम उपलब्ध गराइने गरी कार्यविधि पास भएको गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले जानकारी दिए । कोरोनाको जोखिमले गाउँ फर्किएका एवं फर्कन चाहने नागरिकलाई लक्षित गर्दै यसअघि नै निर्माण गरिएको कार्यविधिलाई संशोधन गरेको उनले बताए ।

उनका अनुसार गाउँपालिकाले युवालाई कृषिमा आकर्षित गर्न तालिमसहित कृषि उद्यम गर्न लाग्ने बीउपूँजीसमेत उपलब्ध गराउने नीति लिएको छ । आर्थिकरुपमा विपन्न परिवारका १०० जना युवालाई पहिलो चरणमा तालिमसहित खेतीपाती तथा पशुपालनमध्येको कृषि उद्यमका लागि प्रोत्साहन बीउपूँजी सहयोग उपलब्ध गराइने उनले जानकारी दिए ।

कार्यविधिअनुसार विगतदेखि बाँझो रहेको जग्गामा फलफूल खेती गर्ने किसानलाई प्रतिरोपनी रु दुई हजार, अन्नबाली, तरकारी तथा थोरै संख्यामा पशुपालन गर्नेलाई प्रतिरोपनी रू.३ हजार तथा कम्तीमा ३० भन्दा बढी बाख्रा, पाँचभन्दा बढी गाई, १० ओटाभन्दा बढी बंगुर पालन गर्ने किसानलाई रू. १ लाखसम्म अनुदान उपलब्ध गराइने छ ।

त्यस्तै माछा पालन गर्नेलाई पोखरी निर्माणका लागि प्रतिरोपनी रू.१५ हजार, मौरी पालन गर्नेलाई प्रतिघार रू.५ हजार, जडीबुटी खेती गर्नेलाई प्रतिरोपनी रू.३ हजार अनुदान रकम उपलब्ध गराइने छ ।

कार्यविधिअनुसार खेतीयोग्य जमीन बाँझो राख्नेहरुलाई भने भूमिकर वृद्धि, पालिकामार्फत उपलब्ध हुने सेवा रोक्का, बाँझो जग्गा अधिग्रहण गरी भूमि बैंकमा दाखिला तथा मोहीलाई हस्तान्तरण गरी दण्डितसमेत गरिनेछ ।

गाउँपालिकाका अध्यक्ष हुमागाईंले स्थानीय नागरिकलाई अनुदान प्राप्त गर्न वडा कार्यालय हुँदै गाउँपालिकामा सम्पर्क गर्न अनुरोध गरे ।

‘गाउँमा फर्कौं गाउँमा नै उद्यमी बनौं, शहरमा बसाइँ जाने हैन शहरका सुविधा क्रमैसँग गाउँमा ल्याऔं, जग्गा बाँझो नराखौं र स्थानीय सरकारले उपलब्ध गराउने प्रोत्साहन प्राप्त गरौं’, उनले गाउँवासीलाई आग्रह गरे । समृद्धि कृषि पेशा र गाउँबाट मात्र सम्भव हुने उनको भनाइ छ ।krishipatrika/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button