
एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभनीले फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मै बस्ने चाहना राखेका छन् । पछिल्लो समय इटालियन क्लब इन्टर मिलान र स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा जाने चर्चा चलेपनि काभनीले पीएजसीमै बसाई लम्ब्याउन चाहेका हुन् ।
काभनी गत जनवरीमा इंग्लिस क्लब चेल्सीमा जाने चर्चा चलेपनि उनी अन्ततः पीएसजीमा रहेका थिए । काभनीको सम्झौता यसै समरसँगै सकिदैछ । तर, एल इक्विपका अनुसार जनवरीमा टोलीसँगै समावेश भएपछि काभनीको मन परिवर्तन भएको र पीएसजीमै सम्झौता लम्ब्याएर बस्ने मनासय बनाएको देखिन्छ ।
पीएसजीका निर्देशक लियोनार्दाेले कोरोना महामारीको कारण आर्थिक मन्दीलाई ध्यानमा राखेर काभनीलाई टोलीमै राख्ने योजना बनाइरहेको छ । क्लबले आर्थिक संकटलाई ध्यानमा राखेर आउदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्चने योजना बनाएको छैन । इन्टर मिलानबाट लोनमा खेलिरहेका अर्जेन्टिनी फरवार्ड माउरो इकार्डीलाई स्थायी रुपमा अनुबन्ध गनुभन्दा पीएजसीले काभनीको सम्झौता लम्ब्याउदै ६० मिलियन पाउन्ड बचाउन सक्नेछ ।
काभनीले यो सिजन पीएसजीका लागि २२ खेलमा ७ गोल गर्नुका साथै तीन असिस्ट दिएका छन् । २०१३ को सिजन देखि पीएजसीमा रहेका ३३ वर्षे काभनीले पीएसजीका लागि ३०० खेलमा २०० गोल गरेका छन् ।
कोरोना महामारीको कारण फ्रेन्च लिग वान रद्ध भइसकेको छ । फ्रान्स सरकारले नै आगमी सेप्टेम्वरसम्म खेलकुदका कुनै गतिविधि नगर्न निर्देशन दिएपछि फ्रेन्च लिग आयोजकले दुई साताअघि शीर्षस्थानमा रहेको पीएसजीलाई लिग वानको च्याम्पियन घोषणा गरिसकेको छ ।hamrokhelkud/from



