खबरमूल खबर

कोरोनाविरुद्धका सामग्री तत्काल व्यवस्था गर्न सरकारलाई निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले आवश्यक स्वास्थ्य सामग्रीको यथाशीघ्र व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समिति बैठकले कोरोना रोकथामका लागि आवश्यक स्वास्थ्य सामग्रीको व्यवस्था गर्दै कन्ट्रयाक्ट ट्रेसिङलाई जोड दिन निर्देशन दिएको हो । पीसीआर पीपीई, मास्क, थर्मल गनलगायत उपकरण, औषधि र दक्ष जनशक्तिको व्यवस्थापन व्यापक र यथाशीघ्र गर्न समितिले सरकारलाई सुझाव दिएको हो ।

समितिले आइसोलेसन बेड, भेन्टिलेटरहरूको थप व्यवस्था गर्नुपर्ने र अन्य बिरामीहरूले खानुपर्ने औषधिमा कुनै अभाव हुन नदिने कुरामा जोड दिन पनि निर्देशन दिएको सभापति जयपुरी घर्तीले बताइन् । सर्वसाधारणलाई सर्वसुलभ रूपमा मास्क र स्यानिटाइजरको व्यवस्था मिलाउने पनि समितिले निर्देशन दिएको छ ।

परीक्षणको दायरा तीव्र पार्दै प्रदेश र स्थानीय सरकारलाई तत्काल स्वास्थ्य सामग्रीको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । समितिले विदेशमा रहेका नागरिकलाई नेपाल ल्याउन क्वारेन्टाइन र आइसोलेसनसहित आवश्यक सुरक्षा प्रवन्ध मिलाउन र विदेशमै बस्न चाहनेलाई सम्बन्धित देशसँग समन्वय गरी उचित व्यवस्थापन र तयारी गर्न पनि निर्देशन दिएको छ ।

यस्तै लकडाउनका कारण अलपत्र मजदुर, विद्यार्थी र नागरिकको सही तथ्याङ्क संकलन गरी राहतको व्यवस्था गर्न पनि समितिले निर्देशन दिएको छ । क्वारेन्टाइनमा सामान्य उपचार, स्वास्थ्यकर्मी, बास, कपास र एम्बुलेन्सको व्यवस्था गर्न तथा सीमा क्षेत्रमा अलपत्र नागरिकलाई तीनवटै तहका सरकारसँग समन्वय गरी सुरक्षित रूपमा आफ्नो घर फर्किने व्यवस्था मिलाउन पनि निर्देशन दिएको छ ।

कोरोनाको असरलाई मध्यनजर गर्दै आगामी आवको बजेट स्वास्थ्य क्षेत्रमा केन्द्रित गर्न पनि समितिले निर्देशन दिएको सभापति घर्तीले बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button