खबर

नेपालको आर्थिक वृद्धिदर १.८ प्रतिशत

काठमाडौं ,जेठ २८, २०७७
कोरोना महामारीका कारण सिर्जित परिस्थितिले विश्व अर्थतन्त्र शिथिल बन्दा आर्थिक वृद्धिदरमा ठूलो झट्का लाग्ने विश्व बैङ्कले प्रक्षेपण गरेको छ। विश्व बैङ्कले सोमबार मात्रै सार्वजनिक गरेको ‘ग्लोबल इकोनोमिक प्रस्पेक्ट्स २०२०’ सम्बन्धी प्रतिवेदनले महामारीको प्रभावबाट विश्वका कुनै पनि क्षेत्र अलग नरहने उल्लेख गरेको छ ।

प्रतिवेदनमा दक्षिण एसियाली मुलुकहरूमा कोभिड १९ बाट सङ्क्रमितको सङ्ख्या तुलनात्मक रूपमा कम देखिए पनि छोटो अवधिको आर्थिक गतिविधिमा भने नराम्रो असर परेको उल्लेख छ । यस क्षेत्रको आर्थिक वृद्धिदर औसतमा २.२ प्रतिशत हुने अनुमान गरिएको छ । जसमध्ये नेपालको चालू वर्षको वृद्धिदर १.८ प्रतिशत मात्र हुने प्रक्षेपण विश्व बैङ्कको छ । सरकारले भने चालू आर्थिक वर्षमा नेपालले २.३ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान गरेको छ । अर्को वर्ष (सन् २०२१) मा २.१ प्रतिशत पुग्ने अनुमान विश्व बैङ्कले गरेको छ । नेपालको चालू आर्थिक वर्षको प्रक्षेपण कम भए पनि दक्षिण एसियाली देशमा भने दोस्रो ठूलो हो । नेपालभन्दा अगाडि भारत छ, जसले ४.२ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने अनुमान छ । यद्यपि सन् २०२१ मा भने भारतको वृद्धिदर ३.२ प्रतिशतले ऋणात्मक हुनेछ ।

वृद्धिदरका हिसाबले नेपालपछि बङ्गलादेशको १.६ प्रतिशत र भुटानको १.५ प्रतिशत पुग्ने अनुमान छ । बाँकी सबै दक्षिण एसियाली देशको वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण छ ।गोरखापत्र दैनिकमा समाचार छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button