
बिहीबार, जेष्ठ २९, २०७७
एजेन्सी – बुन्डेस लिगा प्रतिद्धन्द्धी आइनट्राख्ट फ्रान्कफर्टलाई हराउदै बायर्न म्युनिख जर्मन कप (डिएफवी पोकल) को फाइनलमा प्रवेश गरेको छ ।
एलियन्ज एरिनामा भएको खेलमा बायर्नले फ्रान्कफर्टमाथि २–१ को जित निकाल्दै फाइनलमा बायर लिभरकुसनसँगको भेट पक्का गरेको हो ।
बायर्नको फाइनलमा यात्रामा स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की र इभान पेरिसिसले गोल गरे । फ्रान्कफर्टका ड्यानी डि कोस्टाले सान्त्वना गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको १४औं मिनेटमा पेरिसिसको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता बनाएको थियो ।
उनले थोमस मुलरको पासमा गोल गरेका थिए । ६९औं मिनेटमा फ्रान्कफर्टका ड्यानी डि कोस्टाले बराबरी गोल फर्कापनि ७४औं मिनेटमा रोवर्ट लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई खेलमा पुनः २–१ को अग्रता दिलाए । लेवान्डोस्कीले जोसुवा किम्मिचको पासमा गोल गरेका थिए ।
त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न २–१ ले विजयी हुदै फाइनलमा पुग्न सफल भयो । अब बायर्नले उपाधिका लागि ४ जुलाईमा बुन्डेस लिगा प्रतिद्धन्द्धी बायर लिभरकुसनको सामना गर्नेछ । लिभरकुसनले मंगलबार राति साब्रुकेनमाथि ३–० को जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।
बुन्डेस लिगाको पनि उपाधि नजिक रहेको बायर्न टोली हो । बायर्नले यसअघि विभिन्न संस्करणमा १९ पटक उपाधि जितिसकेका छन् । लिभरकुसन भने १९९३ पछि पहिलो उपाधि जित्ने दाउँमा हुनेछ । लिभरकुसन २००२ मा फाइनलमा प्रवेश गरेयता पहिलोपटक फाइनलमा पुग्न सफल भएको हो ।hamrokhelkud/from



