खबर

‘कालापानीमा भारतीय पक्षबाट पनि कमजोरी भएको छ’

३० जेष्ठ २०७७, शुक्रबार
काठमाडौँ । भारतका एक कूटनीतिज्ञले नेपाल–भारत सीमा विवादको समाधान अब कर्मचारीको तहबाट नभएर राजनीतिक तहबाट खोजिनुपर्ने बताएका छन्।

नेपालमा भारतीय राजदूतको भूमिका निर्वाह गरिसकेका राकेश सूदले अब विदेश सचिवको स्तरमा हुने वार्ता फलदायी हुन नसक्ने आशय व्यक्त गर्दै उनले भने, ‘मलाई लाग्छ अधिकारीस्तरको वार्ताको सम्भावना कम छ र यसलाई राजनीतिक स्तरमा हामीले लैजानुपर्छ।’

नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र स्पष्ट रूपमा देखिनेगरी आफ्नो राजनीतिक र प्रशासनिक नक्सा अद्यावधिक गरेपछि भारतले ‘सीमाको कृत्रिम विस्तार’ गरेको आरोप लगाउँदै नेपालको कदम अस्वीकार्य भएको प्रतिक्रिया दिएको थियो।

नक्सा जारी गर्दा नेपालले र त्यसप्रति प्रतिक्रिया व्यक्त गर्दा भारत दुवैले सीमासम्बन्धी विद्यमान विषय कूटनीतिक वार्ताबाट समाधान गर्नुपर्नेमा बताएका थिए।

भारतका रक्षामन्त्री राजनाथ सिंहले लिपुलेक हुँदै तिब्बत जोड्ने सडक उद्घाटन गरेपछि नेपालले आफ्नो भूमिमा भारतले अनधिकृत रूपमा निर्माण गरेको भन्दै आपत्ति प्रकट गरेको थियो।

त्यसको केही सातापछि नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्र समावेश गरी नयाँ नक्सा जारी गर्‍यो।बीबीसी हिन्दीको टेलिभिजन कार्यक्रमका लागि दिएको अन्तर्वार्तामा राकेश सूदले सीमासम्बन्धी विषयमा केही कमजोरी भारतीय पक्षबाट पनि भएको बताएका छन्।

उनका अनुसार नेपालका लागि भारतीय राजदूत तथा भारतीय विदेश सचिवको पदावधि सकिने बेलामा घटनाक्रम विकसित भएकाले स्थिति नियन्त्रणबाहिर गएको हुन सक्छ।

भारतीय सेनाका प्रमुख मनोज मुकुन्द नरवणेले मे १५ मा विगतमा कुनै समस्या नभएको तर अहिले अरू कसैको निर्देशनमा यो विषय उठाइएको हुन सक्ने सम्भावना भएको बताएका थिए। उनले चीनलाई इङ्गित गरेको धेरैको बुझाइ छ।

पदासीन सेनाप्रमुखले गरेको टिप्पणीको भारतभित्र आलोचना भएको थियो। –बिबिसी,newsofnepal

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button