कृषि र किसान

फौजी किरा: तीन जिल्लामा झन्डै चार अर्ब क्षति

जेष्ठ ३१, २०७७ शनिबार

नेपालगन्ज, ३१ जेठ । बाँके र बर्दियामा यस वर्ष फौजी किराले १४ हजार २ सय ६४ हेक्टर क्षेत्रफलको धान क्षति भयो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार त्यसबाट १५ हजार ३ सय ६ घरधुरी प्रभावित भए। बाँकेमा मात्र ९० प्रतिशत क्षति भएको छ।

जिल्लाका १३ हजार ३ सय ९१ हेक्टरको धान उत्पादनमा क्षति भयो। जसबाट जिल्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी राप्तीसोनारी गाउँपालिकामा मात्र ७ हजार ७ सय ७४ हेक्टर क्षेत्रफलमा क्षति भएको छ।

डुडुवामा २ हजार १ सय ३२ हेक्टर, जानकीमा १ हजार ८ सय हेक्टर र नरैनापुरमा एक हजार पाँच सय ६९ हेक्टरमा क्षति भयो। बर्दियाको ८ सय ७३ हेक्टरमा धानमा क्षति भएको छ। मधुवन नगरपालिकामा ३ सय ८६ हेक्टर, बाँसगढी नगरपालिकामा २ सय हेक्टर र ठाकुरबाबा नगरपालिकामा १ सय ३९ हेक्टरमा क्षति भएको छ।

गत वर्षको उत्पादनसँग तुलना गर्दा यस वर्ष किसानले बाँकेमा ५६ करोड ९४ लाख रुपैयाँ र बर्दियामा ४४ करोड ५५ लाख रुपैयाँ गरी किसानले एक अर्बभन्दा बढीको क्षति व्यहोर्नुपर्‍यो। यस आर्थिक वर्षमा धान मात्र होइन, बाँके र बर्दियामा खाद्यान्न बाली, दलहन, तेलहन, लहरे बाली र तरकारीमा कम्तीमा पनि ४ प्रतिशतदेखि बढीमा ७६ प्रतिशतसम्म क्षति भएको कृषि ज्ञान केन्द्रको तथ्याङ्कले देखाउँछ।

बमौसमी वर्षाका कारण यो वर्ष दुवै जिल्लामा गहुँको उत्पादन बढेको देखिन्छ। क्षेत्रफल वृद्धि भएकाले उत्पादन बढेको देखिए पनि उत्पादकत्व भने ३ देखि ७ प्रतिशतसम्म घटेको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकाल बताउँछन्।

खजुरा गाउँपालिकाको स्मार्ट कृषि गाउँका धेरै किसानले करेला, टमाटर र काँक्रो उत्पादन नै लिन पाएनन्। लकडाउनका बेला विषादी किन्ने पसल बन्द भएका कारण किसानले क्षति व्यहोर्नुपरेको स्मार्ट कृषि गाउँका संयोजक लालबहादुर खत्री बताउँछन्। स्मार्ट कृषि गाउँकै ५० बिघाको टमाटर र ५ बिघाको काँक्रामा क्षति भयो। यहाँको मकै पनि अमेरिकन फौजी किराले सखाप पार्‍यो

खजुरा–२ सीगाउँका गेनालाल मुराउले १० हेक्टर क्षेत्रफलमा लगाएको टमाटर बेमौसमी वर्षाका कारण एउटा पनि उत्पादन लिन पाएनन्। ‘नौ लाख रुपैयाँ लागेको खर्च नै डुब्यो’, उनले दुःखेसो पोखे, ‘अघिल्लो वर्ष हरेक दिन ४० क्विन्टल टमाटर बेच्थें। यस वर्ष एक दाना पनि बजार गएन। अलि–अलि बचेको टमाटर लकडाउनका बेला चौपायाले खाएर सके।’

बेमौसमी वर्षा, किराको प्रकोप र लकडाउनका कारण एक वर्षमा मात्र दुई जिल्लामा ३ अर्ब ६२ करोड २५ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। बर्दियामा एक अर्ब ८७ करोड ३७ लाख ४१ हजार रुपैयाँ र बर्दियामा एक अर्ब ७४ करोेड ८५ लाख रुपैयाँ बराबरको क्षति भएको छ। औसत बजार मूल्य राखेर निकालिएको यो हिसाब बजारको वास्तविक मूल्यअनुसार गर्दा अझै धेरै क्षति भएको हुन आउने कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख सागर ढकालको भनाइ छ। अन्नपूर्ण पाेस्ट दैनिकले खबर छापेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button