
कविता
राम कट्टेल
म , छोरी तिमीले हावाईजहाज उडाएको कुरा गर्दिन
न डाक्टर र न ईन्जीनियर भएको
न हिमाल चढेको न अन्तरिक्षमा घुमेको
म त कुरा गर्छु , छोरी तिम्रो त्यागको
तिम्रो अपार माँयाको
तिमीले मरणासन्न अवस्थामा पुग्दै गरेका
आफ्नो बुवाको आँसुलाई टुलु टुलु हेरिरहन सकिनौ
आमाले दुखाई सहन नसकेर मुर्छा पर्दै
ओठ टोकेको हेर्न सकिनौ
पीडाले चिच्याउदै गरेका दाजुको छटपटाहटको
रमिते मात्र बन्न सकिनौ
तिमीले सहजै आफ्नो किडनी दियौ
तिमीले सहजै आफ्नो कलेजो दियौ
आफ्नो स्वास्थ्य तिम्रोलागि नगण्य भयो
न रूपिया पैसाको मोलमोलाई गर्यौ न घर घडेरीको नै
ती भौतिक सुखसुबिधा तिम्रोलागि नगण्य भयो
बर्तमान र भविष्य पनि तिम्रोलागि नगण्य भयो
तिमीले प्राण भरिदिनु थियो
त्यो बिना स्वार्थ भरिदियौ छोरी
बुवा आमा दाजुको अनुहारमा फर्केर आएको मुस्कान देखेर
छोरी तिमी जति खुसी अरू कोही भएनन
छोरीको कोमल ,सरल अनि बिशाल मनलाई न चिन्दा
कैयौं छोरीहरू अझै पनि आमाको गर्भमा नै मारिदैछन
समयले पाठ सिकाउदैछ
छोरी तिम्रो प्रेमको पवित्र नरम र न्यानो स्पर्सले
तिमीलाई अटाउन न सक्ने ती अति साना मनहरूको
बिस्तारै भए पनि बीवेक खुल्दैछ
धुलाबारी


