खबर

बिर्तामोडमा पुष्पलालको स्मृतिमा विचार गोष्ठि सम्पन्न

बिर्तामोड । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज (बुधवार)स्मृति दिवस विविध कार्यक्रम गरी मनाइएको छ । उनी नेपाली कम्युनिस्ट आन्दोलनका संस्थापक नेता हुन् ।
बाम–लोकतान्त्रिक संयुक्त जनआन्दोलनका वैचारिक प्रणेता पुष्पलाल श्रेष्ठको ४२ औं स्मृति दिवसमा आज देशभर विभिन्न कार्यक्रम गरी उनीप्रति श्रद्धासुमन अर्पण गरिएको छ । पुष्पलालको ४२औं स्मृति दिवसको अवसरमा नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आज श्रद्धाञ्जली वक्तब्य जारी गर्दै पार्टीलाई सामाजिक न्याय, समानता र देशभक्तिपूर्ण आन्दोलनको पर्यायका रुपमा अघि बढाउनमा पुष्पलालको योगदान रहेको बताएका छन् ।

पुष्पलाल मित्रता केन्द्र झापाले आज ४२औँ पुष्पलाल स्मृति दिवस सम्पन्न गरेको छ । झापाको बिर्तामोडमा विचार गोष्ठीमार्फत् केन्द्रले उनको योगदानको स्मरण गरेको छ ।
केन्द्रका संयोजक मणि भण्डारीको अध्यक्षता तथा नेकपा प्रदेश कमिटी सदस्य पुष्प पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। नेकपा जिल्ला कमिटी सदस्य तथा प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले सञ्चालन गरेको कार्यक्रममा वक्ताहरुले नेकपाको केन्द्रमा देखिएको पदीय लोलुपता र अस्थिरता विरुद्ध खुलेर आलोचना गरेका थिए । प्रत्युस रानाले स्वागत गरेको कार्यक्रममा नेकपा नेताहरु डिल्ली घिमिरे, राजु आचार्य, मोहन टुडु, लोकबहादुर धिमाललगायतले विचार राखेका थिए ।
बिभिन्न समूहमा विभक्त कम्युनिष्ट पार्टीहरुलाई एकताको सूत्रमा बाँध्ने प्रयासलाई सार्थकता दिनुपर्नेमा केन्द्रीय नेतृत्वले आम कार्यकर्ताको भावना विपरित हर्कत गरिरहेको टिप्पणी उनीहरुले गरेका थिए । बल्ल बल्ल एकीकृत हुँदै गरेको पार्टीलाई थप मजबुत बनाउनु र पार्टी जोगाउनुको विकल्प छैन भन्दै वक्ताहरुले गैर राजनीतिक हर्कतका विरुद्ध तमाम पार्टी कार्यकर्ताहरु नेतृत्वका विरुद्ध निर्मम बन्नुपर्ने अवस्था आएको धारणा राखेका थिए ।
पुष्पलाल मित्रता केन्द्रका झापासहित ३५ जिल्लामा शाखा विस्तार गरिएको छ भने पाँचवटा प्रदेश कमिटी बनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button