स्वास्थ्य

आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा

साउन २९, २०७७
हेटौंडा – बागमती प्रदेशको राजधानी हेटौंडामा व्यवस्थित आइसोलेसनको अभाव भएपछि कोरोना संक्रमण पुष्टि भएकाहरू घरैमा छन्। संक्रमण परीक्षणको सिफारिस गर्ने हेटौंडा अस्पतालका चिकित्सकलाई नै संक्रमण पुष्टि भएको छ।

उनीसँगै अन्य आठ जना स्वास्थ्यकर्मी क्वारेन्टाइनमा छन्। ‘उहाँहरू स्वइच्छाले घरमा बस्नुभएको हो’, हेटौंडा–४ कर्रास्थित आइसोलेसन वार्ड प्रमुख भोलाप्रसाद चौलागाईंले भने, ‘घरमै रहे पनि उहाँहरू नियमित स्वास्थ्यकर्मीको सम्पर्कमा हुनुहुन्छ।’ हेटौंडा उपमहानर–१० का तीन जना, वडा नं ४ का एक जना र वडा नं ५ का चार जना घरमै छन्। मंगलबार पुष्टि भएका अन्य पाँच जना भने आइसोलेसनमा आएका छन्।

७० बेड क्षमताको आइसालेसन भनिएकोमा हाल ४४ जना बसेका छन्। ‘साँघुरो भवन, अव्यवस्थित शौचालय, बसाइ र कम्पाउन्ड पनि साँघुरो छ’, आइसोलेसनमा रहेका हेटौंडा– ४ का एक युवाले भने, ‘यहाँ भएकै मान्छेको व्यवस्थापन गर्न सकेको छैन, थप मान्छे ल्याएर जोखिम मात्र बढाउने काम हुन्छ।’

स्वास्थ्यकर्मीको अभावमा अस्पतालको आकस्मिक कक्षमै अन्य बिरामीसँगै कोरोनाको आशंका गरिएकाको पनि चेकजाँच गर्नुपरेको अस्पताल व्यवस्थापनले जनाएको छ। यसअघि आइतबार हेटौंडामा २३ जनामा कोरोना संक्रमण देखिएपछि समस्या समुदायस्तरमा फैलिएको पुष्टि भएको हो। मकवानपुरमा संक्रमितको संख्या ९७ पुगेको छ। विद्यालयमा आइसोलेसन वार्ड नराख्न शिक्षा मन्त्रालयले निर्देशन दिए पनि अन्यत्र व्यवस्थापन हुन सकेको छैन।  अन्नपूर्ण पोस्ट् दैनिकमा कृष्ण सारु मगरले लेखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button