कोरोनाबारे सचेतन गराउन तृणमूलद्वारा बाइक र्यालीको आयोजना
अगस्ट 23, 2020
सिलगढी : कोरोना महामारीबारे साधारण मानिसहरूलाई सचेतन गर्ने उद्देश्य लिएर आज सिलगढी नगरनिगमको 29 नम्बर वार्ड तृणमूल कांग्रेसले बाइक र्यालीको आयोजना गर्यो। उक्त बाइक र्याली 29 नम्बर वार्डको तृणमूल कांग्रेस पार्टी कार्यालय अघिबाट शुरू गरेर वार्डभरि माइकिङको माध्यमद्वारा कोरोना भाइरसको संक्रमणबाट कसरी बाँच्न सकिन्छ, यसबाट बाँच्न के-के उपाय अप्नाउनुपर्ने आदि जस्ता उपायहरूबारे साधारण मानिसहरूलाई जागरूक गराइयो। उक्त बाइक र्यालीमा 29 नम्बर वार्ड तृणमूल कांग्रेस कमिटीका सभापति मृणालकान्ति चौधरी लगायत दलका नेता तथा कार्यकर्ताहरू उपस्थित थिए।
गोजमुमो-ले केन्द्र, राज्य र चुनाउ आयोग समक्ष पहाडको विभिन्न मुद्दाबारे माग गर्ने
अगस्ट 23, 2020
दार्जिलिङ : गोजमुमो अध्यक्ष विनय तामाङले आज दार्जिलिङमा पत्रकार सम्मेलनको आयोजना गरेर पहाडको विभिन्न मुद्दाहरूलाई लिएर विभिन्न उठानहरू गरेका छन्। तिनले बंगाल सरकार, केन्द्र सरकार र चुनाउ आयोग समक्ष विभिन्न माग राख्ने बताएका छन्। ती मागहरूमध्ये गोर्खा जनमुक्ति मोर्चाको तर्फबाट विशेष गरेर राज्य सरकारलाई पर्जा पट्टा, पहाडमा वर्तमान आठ खण्ड विकास क्षेत्रलाई बढोत्तरी गरी पन्ध्र खण्ड विकास हुनुपर्ने औ वर्तमान 112 ग्राम पञ्चायतहरूलाई बढाएर कम्तीमा 173 ग्राम पञ्चायतहरू बनाइनुपर्ने, कालेबुङ जिल्लामा तीन महकुमा बनाइनुपर्ने, दार्जिलिङमा अझ एउटा महकुमा अनि मिरिकलाई पूर्ण महकुमाको दर्जा प्रदान गरिनुपर्ने, दार्जिलिङ नगरपालिकालाई कर्पोरेशनको दर्जा दिनुपर्ने अनि मिरिक नगरपालिका पूर्ण नगरपालिकाको दर्जा प्रदान गर्नुपर्ने। यसैगरी, केन्द्र सरकारसँग गोजमुमोतर्फबाट यस प्रकारको मागहरू राख्ने भएका छन्। जसमा :- गोर्खाहरूको चिन्हारी, अस्तित्व र सुरक्षाको माग, सन् 1950-को भारत-नेपाल मैत्री सन्धिको संशोधन अनि धारा (7)-लाई खारेज गरिनुपर्ने, यथाशीघ्र एघारवटा जातिलाई जनजातिको दर्जा प्रदान गरिनुपर्ने, जीटीए क्षेत्रलाई TAX HOLIDAY ZONE घोषणा गरिनुपर्ने, जीटीएलाई DONER-को सदस्यता दिनुपर्ने, न्यूनतम हाजिरा ऐन लागु गर्नको निम्ति उद्योग अनि वाणिज्य मन्त्रालय, टी बोर्ड अफ् इन्डिया अनि टी एडभाइजरी बोर्ड-माथि चाप सृष्टि गर्ने। यसैगरी, गोजमुमोको तर्फबाट चुनाउ आयोगसँग विभिन्न मागहरू राख्ने भएका छन्। जसमा – तीनवटा नयाँ विधानसभा समष्टि बनाएर मोठ पहाडमा 6 वटा विधानसभा समष्टि हुनुपर्ने, पहाडको निम्ति छुट्टै लोकसभा सीट हुनुपर्ने।
धुपगुढीमा सड़क दुर्घटनामा युवक घाइते

अगस्ट 23, 2020
धुपगुढी : धुपगुढीमा सड़क दुर्घटनामा एकजना युवक घाइते भएका छन्। घाइते युवक अभिषेक सेनको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारीअनुसार आज बिहान अभिषेक सेन गिलान्डी ब्रिज संलग्न बजारबाट मासु किनेर घर फर्किरहेको समय धुपगुढी मिलपाड़ा इलाकामा एउटा वाहनले धक्का दिँदा तिनी गम्भीर रूपमा घाइते भएको बताइएको छ। घाइते अवस्थामा तिनलाई स्थानीय मानिसहरूलगायत दमकल विभागका कर्मीहरूले धुपगुढी ग्रामीण अस्पताल लगे तापनि तिनको अवस्था गम्भीर भएकोले त्यहाँका चिकित्सकहरूले जलपाईगढी सदर अस्पतालमा रेफर गरिदिए।
31 अगस्तसम्म सुकेपोखरी बजार 1 बजीसम्म खोलिने

अगस्ट 23, 2020
सुकेपोखरी : सुकेपोखरी व्यापारी सङ्गठनको पहलमा सुके पोखरीको 16 वटा संघ-संस्थालाई लिएर एउटा सभा सम्पन्न भयो। रंगशाला भवनमा सम्पन्न सभामा सामाजिक दूरी पालन गरिएको थियो। सभामा हाल सुके बजारमा फास्ट रेपिड टेस्टमा कोरोना संक्रमित भेटाइएको घटनालाई लिएर के कस्तो कदम चाल्न पर्ने हो भन्नेबारे चर्चा गर्नको साथै संक्रमित व्यक्तिहरूको अविलम्ब स्वाब टेस्ट गराउनु पर्नेबारे पनि छलफल भयो। यसबारे खण्ड विकास अधिकारीलाई अवगत गराएपछि तिनले उचित पहल गरिदिने आश्वासन दिएका छन्। सभामा सबैको सहमतिमा सुकेपोखरी बजारलाई 1 बजीसम्म खोलिने क्रमलाई आगामी 31 अगस्तसम्म यथावत् राख्ने निर्णय लिएको छ। यसको साथै सबै व्यापारीहरूले आफ्नो दोकान अघि सामाजिक दूरी पालन गर्ने, माक्स, सेनिटाइजर प्रयोग गर्ने सबैसित अपील गरेको खड़की डाँड़ा एकता समाजका सभापति लाक्पा शेर्पाले जानकारी दिएका छन्।siliguritimes/from,india



