खबर

एक वर्षपछि बजार अनुगमन

१६ भाद्र २०७७, मंगलवार
newsofnepal

विमल विष्ट, डोटी
डोटी जिल्लाका प्रमुख व्यापारी केन्द्र तथा बजारको एक वर्षपछि अनुगमन गरिएको छ । गएको वर्ष भदौपछि बल्ल अहिले यहाँका प्रमुख व्यापारिक केन्द्रमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय डोटीको संयोजकत्वमा अनुगमन गरिएको हो ।
उक्त अनुगमन समितिले जिल्लाको दिपायल सिलगढी नगरपालिका–४ को पिपल्ला र राजपुर बजारमा रहेका सप्लायर्स पसल, किराना, तरकारी तथा मिठाइ पसलमा अनुगमन गरेको छ । जम्मा १७ वटा पसलमा गरिएको अनुगमनका क्रममा थोरै मात्रामा म्याद नाघेका खाद्य सामान फेला परेको र ती सामान बरामद गरी ल्याइएको दिपायल सिलगढी नगरपालिकाका उपप्रमुख एवं अनुगमन समितिका संयोजक शिवराज खड्काले जानकारी दिनुभयो ।
नागरिकको जनगुनासोअनुसार जिल्लामा केही महिना यतादेखि कालोबजारी र मूल्यवृद्धि गरेको भन्ने सूचनाका आधारमा अनुगमन गरिएको र उक्त कार्यलाई निरन्तरता दिइने संयोजक खड्काले बताउनुभयो । जिल्लामा सञ्चालन भइरहेका प्रमुख बजारमा अखाद्य वस्तु बिक्री–वितरण हुने गरेको पटक–पटक पाइएकाले सम्बन्धित निकायले नियमित अनुगमन गर्न आवश्यक रहेको दिपायल पिपल्लाका स्थानीयबासी मोहनबहादुर पातलीको कथन छ ।
जिल्लामा वर्षको एकपटक दशैं–तिहारको समयमा मात्रै अनुगमन हुने भएकाले त्यसो नगर्न पनि यहाँका स्थानीयबासीले अनुगमन समितिलाई सुझाव दिएका छन् । नागरिकको स्वास्थ्य सुरक्षामा व्यापारीहरू सचेत भएकाले अहिले यहाँका बजारमा खासै अखाद्य वस्तु बिक्री–वितरण नभएको आफूले अनुगमनका क्रममा पाएको दिपायल सिलगढी नगरपालिकाका निमित्त कार्यकारी प्रमुख खेमराज गुरुङको भनाइ छ । गएको वर्ष भदौ महिनामा गरिएको अनुगमनमा जिल्लाको पिपल्ला बजारबाट मात्रै रु. २५ लाख बराबरको अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको थियो
सबैभन्दा बढी चाउचाउ, बिस्कुट, सुजी, पेय पर्दाथमा जुस, नमकिन, दालमोटलगायतका खाद्य वस्तुमा बढीजसो म्याद गुज्रेको अवस्थामा भेटिएको अनुगमन समितिका सदस्य तथा डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहनबहादुर कलेलले बताउनुभयो । ‘साना तिना परिमाणका खाद्य वस्तुमा छिटो म्याद जाने र त्यही वस्तु विक्री–वितरण हुने गरेको छ, अन्य कुराभन्दा पनि साना परिमाणका खाद्य वस्तुमा चेक जाँच बढी गर्नु जरुरी भएको देखिन्छ ।’ –उहाँले भन्नुभयो ।
जिल्लामा अखाद्य वस्तु बिक्री–वितरण गर्ने कुनै पनि व्यापारीलाई हालसम्म कारबाही नभएका कारण पनि अखाद्य वस्तु बिक्री–वितरणले प्रश्रय पाउँदै आएको स्थानीयबासीको आरोप छ । उक्त अनुगमनमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, दिपायल सिलगढी नगरपालिका, नापतौल कार्यालय, डोटी उद्योग वाणिज्य संघका प्रमुख, प्रतिनिधिलगायत पत्रकारको पनि सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button