सृजनाको चौतारी

क्रान्ति

– बन्धु चन्द

 

बाल्यकालमा सुनेकी थिएँ–
क्रान्ति डरलाग्दो हुन्छ
हावाहुरी, आँधी र मेघ गर्जनजस्तै
अलि ठूली भएपछि सुनेँ
क्रान्ति त सुन्दर र रमाइलो हुन्छ
बिहानीको झुल्के घामजस्तै
त्यसले त जीवन र जगत्मा परिवर्तन ल्याउँछ
स्कुलका गुरुहरूले भनेको सुन्थेँ
क्रान्ति जनताका लागि हो
क्रान्ति दीन–दुःखीका लागि हो
त्यसैले क्रान्ति गर्नुपर्छ ।

हो,
त्यही क्रान्ति सुन्दै, बुझ्दै र खोज्दै
क्रान्ति गर्न हिँडेको यात्री म,
गोपालप्रसाद रिमालको कवितामा पढेको
‘हो बा ! त्यो आउँछ
अवश्य आउँछ’
त्यही अवश्य आउने आशामा
भौँतारिँदै हिँडेकी यात्री म ।

क्रान्ति खोज्दै ००७ सालको इतिहास पढेँ
मुक्तिसेना, टिमुरबोट, छिन्ताङ, पिस्कर र सुखानीका
योद्वाहरूको कथा पढेँ
माक्र्स, लेनिन, माओ त प्रतिबन्धित थिए
तिनलाई त अलिपछि पढेँ
क्रान्ति खोज्दै क्रान्ति गर्न हिँडेकी यात्री म ।

आन्दोलनले क्रान्ति आउँछ भनी
०३६ सालमा कक्षाकोठामा हडताल गरेँ
०४६ सालमा वालपेन्टिङ र नाराजुलुस गरेँ
०५२ सालपछि त
क्रान्ति गर्न मसाल बोकेर पुग्दैन
बन्दुक बोक्नुपर्छ भनी
बन्दुक बोकेर हिँडेकी यात्री म
हिमाल पुगेँ, पहाड हिँडेँ, तराई छिचोलेँ
क्रान्ति गर्ने उत्कट चाहनामा
अविरल बगेको जिन्दगी ।

किसानको झुपडीमा पुगी
शोषणको कथा सुनाएँ
मजदुरको दैलोमा पुगी
पसिनाको महत्व बुझाएँ
उत्पीडितहरूको बस्तीमा पुगी
अधिकारको अर्थ बुझाएँ
दिदीबहिनीहरूको घरदैलोमा
मुक्ति र स्वतन्त्रताको गीत गाएँ
आफ्नो अस्मिताको रक्षा गर्न
वास्तविक मुक्तिको मार्ग हिँड्न
क्रान्ति गर्ने उत्साह जगाएँ
विद्रोह क्रान्ति हो भनी विद्रोह पढाएँ
जनयुद्ध आवश्यक छ भनी बन्दुक बोक्न सिकाएँ ।

यही क्रान्तिको यात्रामा
भूपी शेरचनले झकझक्याइरहे
‘हुँदैन बिहान मिर्मिरे तारा झरेर नगए
बन्दैन देश दुईचार सपूत मरेर नगए ।’

हो,
त्यही क्रान्तिको उज्यालो छर्ने आशामा
सहिद अभियानमा लामबद्ध बनौँ भनी नारा लगाउँदै
त्यही लामबन्दीमा ढलेका वीरहरूको रगतको टीका लगाउँदै
मुठी कसेर कसम खाँदै हिँडेकी यात्री म ।

यात्राकै क्रममा
शान्तिले पो क्रान्ति ल्याउँछ भन्दै
संवादमा गएको देखेँ
संविधानले पो क्रान्ति दिन्छ भन्दै
संविधानसभामा बसेको देखेँ
विकास निर्माण पो क्रान्ति हो भन्दै
डाँडापाखामा भ्याकु डोजर दौडाएको देखेँ
क्रान्तिको कलेबरमा विलासी जीवन देखेँ
शान्तिको बगैँचामा भोकानाङ्गाको हुल भेटेँ ।

यो निरन्तर क्रान्तिको यात्रामा
क्रान्ति खोज्ने यात्रु हुनुको नाताले
जेजे देखेँ, जेजे गरेँ, जेजे भोगेँ
समयको अविश्राम गतिभित्र
सबैको एकमुष्ठ संश्लेषण गर्दै
मेरो अन्तरहृदय बोल्यो–
जोखिम उठाउने साहस गर्दा
आफैँ जोखिममा पर्ने यात्रा रहेछ क्रान्ति
अर्कोतिर औँला सोझ्याइरहँदा
आफैँतिर प्रतिप्रश्न गर्दोरहेछ क्रान्ति
बाहिरी आवरणको रङ्गीन चित्रजस्तो
सुन्दर हुँदो रहेनछ क्रान्ति
अरूलाई मात्र बाँड्दै हिँड्ने
उपदेश होइन रहेछ क्रान्ति
जेलनेल, त्याग र बलिदानले मात्र पनि
कहाँ पूरा हुँदोरहेछ र क्रान्ति !

विद्रोह, बन्दुक, शान्ति, संविधान र विकास
जेलनेल, त्याग र बलिदान
सत्ता, कुर्ची, पद र प्रतिष्ठा
धन, दौलत, शस्त्र र शक्ति
यी सब त केवल साधन रहेछन्
यी सब त केवल आकाङ्क्षा रहेछन् ।

स्वतन्त्रता, स्वाभिमान र मुक्तिको
उत्कट चाहनाभित्र
नैतिकता र कर्तव्यबोधमा दह्रोसँग उभिएर
सत्य, न्याय र समानताको कसीमा
घोटिँदै–पिसिँदै, पग्लिँदै र निखारिँदै
आफूले आफैँलाई बदल्ने
महान् आत्मबोध पो रहेछ क्रान्ति ।

२०७७, १६ भाद्र मंगलवार १२:४० ई-रातो खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button