७ आश्विन २०७७
एजेन्सी ।
चीन र भारत विवादित सीमा क्षेत्रमा थप सैनिक परिचालन नगर्न सहमत भएका छन् ।
पूर्वी लद्दाखको तनाब मत्थर गर्ने विषयमा दुइ मुलुकका सैनिक कमाण्डरबीच भएको छैठौं चरणको वार्तापछि आज जारी संयुक्त वक्तव्यमा थप सैनिक नपठाउने सहमति भएको हो । असमक्षदारी र गलत निर्णय नगर्ने र दुई मुलुकबीच हालको यथास्थितिलाई नबल्ने सहमति भएको संयुक्त वक्तब्यमा उल्लेख छ । सोमबार चीन र भारतबीच सैनिक कमाण्डर तहमा म्याराथन वार्ता भएको थियो ।
वार्तामा एकपक्षीय रुपमा सीमा क्षेत्रमा कदम नबढाउने छलफल समेत भएको अधिकारीले जनाएका छन् । सीमा क्षेत्रमा तनाब मत्थर गर्ने विषयमा यस अघि सहमति बनेपनि तनाब रोकिएको थिएन । सीमा विवाद अन्त्य गर्न दुई मुलुकबीच कुटनीतिक, सैनिक र राजनीतिक रुपमा पहल पनि भएका थिए ।
गत महिना रुसको मस्कोमा भएको विदेशमन्त्री स्तरको भेटवार्तामा सीमामा जारी तनाब कम गर्ने गरी ५ बुँदे सहमति समेत भएको थियो । तर गत साता भारतीय रक्षामन्त्री राजनाथ सिंहले चीनले सीमा सहमति उल्लंघन गरेर सैनिक संख्या बढाएको आरोप लगाएका थिए ।
एशियाका आणविक सम्पन्न मुलुक भारत र चीनबीच ३ हजार ५ सय किलोमिटर सीमा जोडिएको छ । सिमा विवादलाई लिएर सन् १९ सय ६२ मा भीषण युद्ध भएको थियो । पछिल्लो समय एप्रिल यता दुइ मुलुकबीच पुनः सीमा विवाद बढेको हो ।



