
७असोज २०७७
बिर्तामोड । लगातारको मुसलधारे वर्षाबाट आएको बाढीले झापामा क्षति पु¥याएको छ ।
मुसलधारे वर्षाका कारण झापाको हल्दिबारी गाउँपालिकामा एक घर विस्थापित बनेको छ । हल्दिबारी ३ देवीवस्तीस्थित देउनीया खोलामा आएको बाढीले स्थानीय दिलबहादुर राईको परिवार विस्थापित बनेको हो । राईको घरमा खोलाले कटान गर्न थालेपछि प्रहरी चौकी जलथलका प्रहरी टोली र स्थानीयको सहयोगमा राईको घर र घरभित्र रहेका सरसामान सुरक्षित स्थानमा सारिएको छ ।
यसैगरि झापाकै बाह्रदशी गाउँपालिका वडा न७ तुलसीबारीका ६ परिवार बिस्थापित बनेका छन् । बिरीङ नदीमा आएको बाढीले कटान गरिरहेको र घर भेट्ने संभावना रहेपछि जोखिममा रहेका ६ घरका परिवारलाई सुरक्षित स्थान सारिएको छ । त्यस्तै बिरीङ नदीकै बाढीले कनकाई नगरपालिका वडा नं ८ स्थित त्रिवेणी टोलका ६ घर डुबानमा परेका छन् । त्यस्तै कचनकवल गाउँपालिका ६ स्थित नेपाल भारत सीमामा रहेको ११२ नं पिलर मेची नदीले कटान गरिरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जनाएका छन् ।



